थापाको शब्दमा ‘तिमीलाई नै’

काठमाडौं । गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल आवाजमा रहेको नयाँ गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । इनाक्षी इन्टरटेनमेन्ट अस्ट्रेलियाको युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतको भिडियोमा प्राकृतिक सौन्दर्यलाई कैद गरिएको छ । गीतको भिडियोमा गायक गायिकाद्वयकै अभिनय छ । रियालिटी सो ‘नेपाल आइडल’ बाट गायक किरण चर्चामा आएका थिए भने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ बाट गायिका मेलिना चर्चामा आएकी थिइन् । भिडियोमा दुवैलाई आ–आफ्नो प्रेम दीगो बनाउने रहर जागेको देख्न सकिन्छ, जुन हरेक नागरिकको चाहना पनि हो । कठिन यात्रा तय गरी स्थापित सम्बन्धलाई दीगो बनाउने कामना गीतमा गरिएको छ ।

आफ्ना अन्य म्युजिक भिडियोझैँ यसबाट पनि ठुलो सफलताको आशा राखेको गायक किरणले बताए । आफ्ना अन्य गीतले झैँ यस गीतले पनि चर्चा र माया पाउने विश्वास गायिका मेलिनाले व्यक्त गरिन् । ‘म्युजिक भिडियोमा पनि मैले निकै मिहिनेत गरेको छु । आउटपुट अवश्य राम्रो आउँला,’ उनले भनिन् । साहित्यकार समेत रहेका घन थापाको शब्द रचना रहेको गीतको भिडियोमा दिपकराज विश्वकर्माको संगीत तथा निर्देशन रहेको छ । केशवराज भट्टको कोरोयोग्राफी, अनिता ग्वाछाको शृंगार र अमन बडुको छायांकन रहेको भिडियोको सम्पादन डिन्सन शाहले गरेका छन् ।

गीत सार्वजनिक भएपछि गीतकार थापा उत्साहित देखिएका छन् । ‘देश विदेशबाट पनि राम्रो प्रतिक्रिया आएको छ । बेलायत, अबुधावी र स्वदेशबाट समेत आफ्ना लागि गीत रचना गरिदिन अनुरोध आएको छ,’ थापाले भने, ‘फुर्सद भएसम्म साथीभाइ, शुभचिन्तकको आग्रहलाई नकार्ने छैन ।’ मन छुने शब्द भएको कारण यस गीतलाई उच्च प्राथमिकतामा राखेर विशेष मिहिनेत गरी काम गरेकाले गीत निकै कर्णप्रिय र भिडियो सुन्दर बनेको निर्देशक दीपकराजले बताए । शब्द, कर्णप्रिय संगीत र सुन्दर भिडियोलाई दर्शकले पक्कै पनि माया गर्ने आशा उनले व्यक्त गरे । भिडियोले हालसम्म सवा लाख बढी भ्युज पाइसकेको छ ।

प्रतिक्रिया