‘जय नेपाल’ को ठाउँ ‘दर्शन हजुर’ले लिँदाको परिणाम भोग्दै कांग्रेस

राजेन्द्र आचार्य

नेता र कार्यकर्ता एकआपसमा भेट हुँदा ‘जय नेपाल’ भन्दै कसिलो अंकमाल गर्ने संस्कार कांग्रेसमा बसालेर छाड्नुभएको थियो बिपी कोइरालाले । तर, आजको मितिसम्म आइपुग्दा कार्यकर्ताले ‘जय नेपाल’ भन्यो भने नेताले टाउको बटार्ने संस्कार बसिसकेको छ । दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने बाहेकलाई नेताको घरमा करिबकरिब प्रवेश निशेध छ । समाजवादी आदर्श बोकेको पार्टीमा ‘जय नेपाल दाई’ को ठाउँ ‘दर्शन हजुर’ ले विस्थापित गरेको छ ।

पुराना नेता दामोदर गौतमले आफ्नो फेसबुक स्टाटसमा नेपाली कांग्रेसमा यतिबेला कलियुग व्याप्त रहेको उल्लेख गर्दै भन्नुभएको छ । बिपी कोइरालाको पालाभरी अर्थात २००३ देखि ०३९ सम्म सत्यको युग थियो, त्यहाँ नातावाद थिएन, मात्र राष्ट्रवाद र आदर्शवाद थियो । ०४० देखि ०५१ सम्म गणेशमान र किसुनजीको त्रेता युग थियो । जहा बेमेल थियो । ०५२ देखि ०७२ सम्म गिरीजा र सुशील कोइरालाको एक क्षत्र नेतृत्वमा द्वापर युग चल्यो । पार्टीभित्र ठूला ठूला महाभारतहरू भए । ०७२ देखि हाल ०७८ यता कलि युग, जुन पाप युग हो, जहाँ झेल, कपट, अन्याय, भ्रष्टाचार, दुराचार मात्र हुन्छ ।

हुन पनि २००७ सालमा समयभन्दा धेरै अगाडि र क्रान्तिकारी थियो कांग्रेस । ०४६ देखि ०६२/६३ सम्म कांग्रेस र समय सँगसँगै रह्यो । तर, ०७४ मा पुग्दा नपुग्दै उदेकलाग्दो तरिकाले कांग्रेस पछाडि परेको छ । यसैबाट थाहा हुन्छ, कांग्रेसको गति । आजका मितिमा मुलुकलाई सही बाटोमा डो¥याउन सक्षम हुनुपर्ने कांग्रेस नै हो । कांग्रेस सक्षम हुँदा मात्र मुलुकले सही बाटो लिनेछ ।

नेता र कार्यकर्ता एकआपसमा भेट हुँदा ‘जय नेपाल’ भन्दै कसिलो अंकमाल गर्ने संस्कार कांग्रेसमा बसालेर छाड्नुभएको थियो बिपी कोइरालाले तर आजको मितिसम्म आइपुग्दा कार्यकर्ताले ‘जय नेपाल’ भन्यो भने नेताले टाउको बटार्ने संस्कार बसिसकेको छ । दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने बाहेकलाई नेताको घरमा करिब करिब प्रवेश निशेध छ । समाजवादी आदर्श बोकेको पार्टीमा ‘जय नेपाल दाई’ को ठाउँ ‘दर्शन हजुर’ ले विस्थापित गरेको छ । यही प्रवृत्ति जारी रह्यो भने पार्टीभित्र ठूलै आँधीबेहेरी निश्चित छ । नेपाली जनताले परिवर्तन चाहेका हुन् । उनीहरूले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् । ०४६ सालमा परिवर्तन आयो । ०६३ सालमा थप परिवर्तन आयो । तर, व्यवहारमा मूर्त रूपमा परिवर्तन रूपान्तरण भएको नेपाली जनताले महसुस गरेका छैनन् । जसरी शिक्षा स्वास्थ्यमा परिवर्तन आएन, न्यायमा परिवर्तन आएको छैन । रोजगारी, जनजीविकासँग जोडिएका विषय, महँगीका विषयहरू सहज रूपमा हल भएका छैनन् । गाँसवाससँग जोडिएका विषयहरू कांग्रेसले सम्बोधन गर्नसक्नुपर्छ ।

आशन्न १४औँ महाधिवेशनमा नेपाली कांग्रेसले सोच्नुपर्ने पाटाहरू धेरै छन् । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा देखापरेका मुख्य समस्याहरू हुन् संस्थागत जिम्मेवारी लिन मरिहत्ते गर्ने तर संस्थागत ढंगले काम नगर्ने, सामूहिक नेतृत्वको मर्म नबुभ्mने व्यक्तिगत हैकम चलाउने, मनोमानी गर्ने, संस्थागत छलफल र निर्णयमा विश्वास नगर्ने प्रवृत्ति । भएका निर्णय पनि कार्यन्वयन नगर्ने, लत्याउने, नियमित बैठक र छलफल नचलाउने, विधि र विधानभन्दा बाहिर गएर संगठन निर्माण गर्ने, वैधानिक ढंगले पार्टी संरचना निर्माण नगर्ने, भएका स्थापित संरचना पनि खलबल्याउने र भत्काउने, नेतृत्वलाई खुइल्याउने, लाञ्छना मात्र लगाउने समस्याले नेपाली कांग्रेस गाँजिएको छ । आप्mनो स्वार्थमा मात्र संगठन चलाउन खोज्ने, सामुहिक र संस्थागत मूल्य मान्यताको न्यूनतम मर्म समेतको पालना नगर्नेजस्ता अनेकौँ प्रवृत्तिले नेपाली कांग्रेसका सबै तहका संगठनमा अराजकता उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको आशन्न महाधिवेशनको अर्को कार्यभार हो अवसरवाद विरुद्घको लडाइँ । आज पार्टीभित्र अवसरवादी चरित्र झांगिँदै गएको छ । पार्टीभित्र कामभन्दा अवसरलाई मात्र प्राथमिकता दिने, यो पार्टीमा लागेर मैले के पाएँ र के पाउँछु मात्र भन्ने मनोरोग पाल्ने प्रवृत्ति बढेको छ । बिपी को आदर्श बोक्नुपर्ने कांग्रेस पार्टीमा जोगी हुनलाई राजनीति गरेको होइन भन्ने मान्यता राख्ने नेता तथा कार्यकर्ता हाबी भएका छन् । लाभका पदहरू मात्र चहार्दै हिँडने, संगठन विस्तार भन्दा नेताहरूको घरदैलो चहार्ने, घर आँगन मात्र ढुकेर बस्ने, घिउ तेल र सेकुवा सुकुटी ओसार्ने कार्यकर्ताहरू प्रोत्साहित भएका छन् । कमिशन र च्याँखे दाउमा लिप्त हुने, व्यक्तिगत स्वार्थको लागि जति नांगो हुन पनि तैयार हुने, आफ्नो घर वरिपरि छरछिमेकी र आफ्ना प्रतिष्पर्धीलाई तमासा देखाउ, नेताको देवत्वकरण गर्न खोज्ने, आफ्नो व्यक्तिगत सम्बन्ध फलानो नेतासँग छ भन्दै आफ्ना सहकर्मी धम्क्याउने, गुट समूह निर्माण गरी दबाब दिने, निर्णय प्रक्रियामा अस्वभाविक प्रभाव पार्नेहरू जबसम्म प्रोत्साहित भइरहन्छन् तबसम्म नेपाली कांग्रेसले गति लिन्छ भन्ने आशा गर्नु कोदो रोपेर धान फल्ने कल्पना गरेजस्तै हो ।

पार्टीले मलाई के दिएको छ र ? मैले पो पार्टीलाई चन्दा दिएको छु भन्दै भन्दै हुँकार गर्ने अवसरवादीहरूलाई खोजी खोजी मन्त्री बनाउन थालिएको छ । आन्तरिक प्रतिस्पर्धाका क्रममा आफ्नै सहकर्मी–सहयोद्घामाथि आरोप प्रत्यारोप लगाउँदै अरू पार्टीका मान्छेसँग साँठगाँठ गर्ने खतरनाक प्रवृत्तिलाई अन्त्य गर्न कांग्रेसका सच्चा कार्यकर्ताहरू एक ढिक्का हुनु जरुरी छ ।

यो भन्दाअगाडि जे जस्तो भए पनि अब देश र जनताले चाहेको के हो ? कस्तो कांग्रेस चाहेका छन् जनताले ? यो बुझ्नुप¥यो । अरू पार्टीसँगको प्रतिस्पर्धामा मात्रै जित र हार हुन्छ । आफ्नै पार्टीभित्रको प्रतिस्पर्धामा सबैको जित हुन्छ । तर आफ्नै पार्टी भित्रको जिम्मेवारी बाँडफाँड प्रक्रियामा समेत जित हासिल गरेको भन्दै दीपावली मनाउनेहरूले कांग्रेसको हित गर्नेवाला छैनन् । साथीसाथी बिचको जिम्मेवारी बाँडफाँडलाई जित हारको विषय बनाएर खादा माला, अबिर जात्रा र जय–जयकार गर्नु पटक्कै उचित होइन । यसले पार्टी संगठनभित्र तिक्तता मात्रै बढाउनेछ । र, अन्ततोगत्वा पार्टीले क्षति बेहोर्नुपर्ने हुन्छ ।

बिपीले एकपटक जम्मा १८ महिना सरकारको नेतृत्व गर्नुभयो । कृष्णप्रसाद भट्टराईले दुईपटक गरेर १८ महिना सरकारको नेतृत्व गर्नुभयो । गिरिजाप्रसाद कोइरालाले चारपटक गरेर करिब ६ वर्ष सरकारको नेतृत्व गर्नुभयो । सुशील कोइरालाले एकपटक करिब दुई वर्ष सरकारको नेतृत्व गर्नुभयो । वर्तमान सभापति शेरबहादुर देउवाले गत असारदेखि पाँचौँ कार्यकालका लागि प्रधानमन्त्री हुनुहुन्छ । यसअघि चारपटक गरेर करिब चार वर्ष सरकारको नेतृत्व गरिसक्नुभएको छ । तर, अहिले जनतामा जाँदा पनि ६२ वर्ष अघि बिपीले नै गरेका काम भजाउनुपर्ने अवस्थामा नेपाली कांग्रेस छ । अबको दिनमा पनि कांग्रेसले बिपीको नाम जपेर मात्रै जनता कहाँ भोट माग्न जानुप¥यो भने सम्झनुहोस् कांग्रेसको अस्तित्व खोज्नुपर्ने हुन्छ । त्यसै ले अब भाषणभन्दा देश र जनताको लागि सोच्नुपर्ने हुन्छ ।

देशमा आजको आवश्यकता बलियो र सुधारिएको कांग्रेस हो । हामी कार्यकर्ता र जनताको चाहाना कांग्रेस पार्टीको काँध युवाहरूले थामून् भन्ने छ । पार्टीभित्रको स्वार्थी समूहलाई विस्थापित नगरी नेपाली कांग्रेसमा सुधार सम्भव देखिँदैन । कांग्रेसका कतिपय पुराना इमानदार नेताहरू लाखापाखा लागेका छन् । बलदेव शर्मा मजगैंयाभन्दा लोकमान सिंहकार्कीको स्वार्थ रक्षाका लागि बलदेव मजगैंया जस्ता होनाहार नेतालाई बलि दिइएका तीता नजीर हाम्रासामु छन् । कोही मधेस आन्दोलनका नाममा त कोही पार्टी भित्रको विकृतिको नाममा पाखा लागेका छन् । तिनीहरूलाई फर्काउनु प¥यो । स्थानीय तहमा नेता जन्माउनु पर्यो ।

पार्टीका सबै संगठनका समस्या नयाँ ढंगले समाधान गरी अघि बढ्नुपर्छ, नयाँ सुरुआत गरेर पार्टीलाई सबल बनाएर कांग्रेसले विकल्प दिनुपर्छ । अबको केही महिनाभित्र स्थानीय चुनाव हुँदैछ । त्यसपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुन्छ । त्यसको सामना गर्न अहिलेदेखि नै तयारी गर्नुपर्छ । त्यसका लागि कार्यकर्तालाई प्रशिक्षण गरी मूल्यांकन गर्नुपर्ने र उचित व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिएर काम गर्नुपर्नेछ । अब समय धेरै छैन । संविधानको पूर्ण कार्यान्वयन एवं राजनीतिक प्रणालीको पूर्णताका लागि कांग्रेसले जिम्मेवारीपूर्वक अगुवाइ गर्नुपर्ने र त्यसका लागि पार्टीको आन्तरिक एकता बलियो बनाउन आवश्यक छ ।

तर, अहिले पनि पार्टीका भ्रातृ तथा सुभेच्छुक संगठनहरू पुरै तदर्थवादमा छन् । कांग्रेसका मेरुदण्डका रूपमा रहेका नेविसंघ, तरुणदल अस्तित्वमा छन् कि छैनन् ? कार्यकर्ताहरूलाई नै थाह छैन । प्रतिबन्धित समयमा पनि चलायमान बन्न सक्षम कांग्रेसको संगठन अहिले निस्प्रभावी छ । प्रश्न उठेको छ– किन आज कांग्रेस निरीह छ ? कांग्रेसले मुलुक र पार्टीका लागि तय गर्नुपर्ने एजेन्डा सकिएकै हुन् त ? यी र यस्ता प्रश्नको गम्भीर समीक्षा आशन्न १४औँ महाधिवेशनमा हुनु जरुरी छ ।

कांग्रेसको इतिहास निकै गर्विलो छ । तर, आगामी २५÷५० वा सय वर्षमा नेपाललाई कहाँ पुयाउने ? कस्तो बनाउने ? जनताले कांग्रेससँग यो मार्गचित्र चाहेका छन्, न कि इतिहास । राजनीतिक परिवर्तनका नाममा दर्जनौँपटक परिवर्तनको झण्डा उचाल्न र सफलतामा पु¥याउन सफल कांग्रेसले अब आर्थिक माध्यमबाट मुलुकको मुहार फेर्ने मार्गचित्र प्रस्तुत गर्न सक्दा मात्रै कांग्रेसको इतिहास जीवन्त रहन सक्ला । अन्यथा, मोर्चा मोर्चामा विभाजित कांग्रेसको रूपान्तरण पनि मोर्चामै सीमित हुनेछ ।

पार्टीको कुनै पनि कार्यकारिणी प्रमुखले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाउँदा पहिलो कार्यकालभन्दा दोस्रो अनि तेस्रो क्रमशः गिर्दोस्तरको भयो भने के गर्ने ? भन्ने हेक्का राख्न नसक्ने पार्टीको हालत हेर्न टाढा जानु पर्दैन । भारतकै कांग्रेस आईको हेर्दा हुन्छ । यस्तो पार्टीले राष्ट्रलाई संस्थागत विकास गर्न दिँदैन र त्यस्तो कार्यकारी प्रमुखको व्यक्तित्व पनि तल झर्छ । यो कुरा यस पंक्तिकारको होइन । विश्वप्रसिद्ध पुस्तक ‘ह्वाई नेशन्स् फेल’ ( राष्ट्र किन बर्वाद हुन्छ ?) पुस्तकमा सविस्तार लेखिएको छ । कुनै देश किन समृद्ध बन्छ ? कुन समय, किन कुनै नेता प्रभावकारी हुन्छ र त्यही नेता पछि किन जनताको नजरमा झर्छ ? भन्ने हेक्का नेपाली कांग्रेसको नेतृत्व पंक्तिले राख्नु जरुरी छ ।

भारतमा भारतीय राष्ट्रिय कंग्रेस र दक्षिण अफ्रिकामा अफ्रिकन नेसनल कंग्रेसले त्यहाँको मुक्ति आन्दोलन गरेपछि दशकौँसम्म देशको नेतृत्व गर्ने अवसर पाए, यस्ता उदाहरण प्रशस्त छन् । तर, नेपालमा किन उल्टो भयो भन्ने समीक्षा पनि आशन्न १४औँ महाधिवेशनले गर्नुपर्ने थियो । तर निर्वाचनबाहेक अरू कार्यक्रम नहुने दुर्भाग्यपूर्ण निर्णय वर्तमान केन्द्रीय समितिले गरेको छ । डेढ दशक अगाडिको गणतान्त्रिक आन्दोलन र पाँच वर्षअगाडि जारी संविधान निर्माणको नेतृत्व कांग्रेसले साँच्चिकै गरेको थियो कि यी दुवै कार्यको लागि निमित्त नायक मात्र थियो, सोच्ने बेला आएको छ ।

प्रतिक्रिया