धनगढी । नेकपा एमालेले आसन्न १०औँ महाधिबेशनका लागि सुदूरपश्चिमबाट १ सय ६४ जना महाधिबेशन प्रतिनिधि छनोट गरेको छ । बुधबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले सुदूरपश्चिमका नौ वटा जिल्लाका १६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनोट गरिएको जानकारी दिए । कैलालीबाट ४४ जना, दार्चुलाबाट १२ जना, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धराबाट ११ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको उनले बताए ।
त्यसैगरी बाजुराबाट २१, कञ्चनपुरबाट १६, डोटीबाट १६ र अछामबाट १४ जना प्रतिनिधि छनौट गरिएको जनाइएको छ । १६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको र २ वटा निर्वाचन क्षेत्र कञ्चनपुर–१ र कैलाली–४ मा भने निर्वाचन प्रकृयाबाट प्रतिनिधि छनोट गरिएको अध्यक्ष थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेकपा एमाले विचार कामले एकताबद्ध पार्टी भएको प्रतिनिधि छनोटले पुष्टि गरेको बताए । एमालेमा संस्थागत हिसाबले कहीँ पनि विवाद नभएको बताउँदै उनले सहमतिको लोकतन्त्रको अभ्यास एमालेले गरिरहेको बताए ।
प्रतिक्रिया