हिमपहिरो जानसक्ने क्षेत्रमा नजान जिल्ला प्रशासन मुस्ताङको आग्रह

मुस्ताङ । हिमपहिरो जानसक्ने सम्भावित क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ । मानापाथी हिमालबाट आइतबार खसेको हिमपहिरोको जोखिम कायमै रहेकाले उक्त क्षेत्र नजिकै नजान प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद शर्माले आग्रह गरे ।

यद्यपि, मानवीय बस्ती भने पहिरोको जोखिममा नरहेको उनले बताए । ‘हिम पहिरो गएको ठाउँबाट मानवीय बस्ती निकै टाढा रहेकाले जोखिम छैन । तर, गोठमा जाने वा उक्त क्षेत्रको ठिक तल भएर यात्रा गर्दा जोखिम हुने भएकाले उक्त क्षेत्रको बाटो प्रयोग नगर्न भनेका छौं,’ प्रजिअ शर्माले भने ।

तत्कालका लागि पहिरोको त्रासकै कारण स्थानीय बस्ती स्थानन्तरण गर्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘दीर्घकालीन रुपमा बस्ती स्थानान्तरणको कुरा अलग रह्यो तर अहिले यही हिमपहिरोको जोखिम भने छैन,’ उनले भने ।

हमपहिरो गएको क्षेत्रमा तीन चौरी पालकका गोठ रहेको भन्दै उनले त्यसबारे आज साँझसम्म पूर्ण जानकारी आउने बताए । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर गोठका चौँरीगाई बेपत्ता भएका आशंका गरिएको छ ।

प्रतिक्रिया