काठमाडौं । शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक सहरमा बनाउने समझदारी हुने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका बेला उक्त सम्झौता भएको हो । फ्रान्सका मेयर आल्ञा इस्कुदेलारोको निमन्त्रणामा उनी गत बुधबार फ्रान्स पुगेका हुन् । फ्रान्समा मेयर महर्जनले शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक सहरमा बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘फ्रान्सका प्रख्यात कविको सालिक ललितपुर महानगरपालिकाभित्रको कुनै स्थानमा र एक सय दुई वर्षका शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् जोशीको प्रतिमा फ्रान्सको एक सहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।’
साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वको सालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पु¥याउने विश्वास महानगरको रहेको जनाइएको छ । फ्रान्सका विभिन्न प्रान्तका मेयरहरुको सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मेयर महर्जन फ्रान्स गएका हुन । मेयरको यो भ्रमण ललितपुर महानगरपालिकाको लागि मात्र नभएर देशभरका स्थानीय तहको विकासका लागि पनि महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मेयर महर्जनले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहबीच भागिनी सम्बन्ध स्थापनाका लागि समन्वयन गर्नेछन् । साथै, भागिनी सम्बन्धले नेपाल र फ्रान्सका स्थानीय निकायबीचको सम्बन्धलाई मजबुत बनाउँदै विकास निर्माणमा सहयोग पु¥याउने र अनुभवको आदानप्रदानले नेपालका स्थानीय तह तथा सहरको विकासमा मद्दत पु¥याउने विश्वास ललितपुर महानगरको रहेको छ ।
प्रतिक्रिया