कालिकोट । जिल्लाको पलाँता गाउँपालिका– ८ का कटक रोकायाको कुटपिटबाट मुत्यु भएको थियो । यही कार्तिक १२ गते दिउँसो ४ बजेतिर उनको शव फेला परेको हो ।
पलाँता गाउँपालिका– ८ बस्ने रवि रोकाया, महाविर रोकाया र रवि रोकायाकी श्रीमती जुवारा रोकाया मिलेर ढुंगामुडा, धान कुट्ने मुसल प्रयोग गरी कटक रोकायाको हत्या गरेको आफन्तले आरोप लगाका छन् ।
१२ गतेदेखि हालसम्म पीडित आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उनिहरुविरुद्ध उजुरी दिए पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै आफन्तहरुले पत्रकार सम्मेलन गरेका छन् ।
घटनाक्रम बुझ्दा मृतक रोकाया पहिले पलाँता गाउँपालिकाको दाम्डीखोला लघु जलविद्युत आयोजनामा काम गर्थे । राजनैतिक खिचातानीका कारण उनलाई वडा नं. ७ मा रहेको दुर्सी खोला लघु जलविद्युत आयोजनामा सरुवा गराइएको थियो ।
हत्याको आरोप लागेका रवि रोकायालाई दाम्डीखोला लघु जलविद्युत आयोजनामा र मृतक रोकायालाई दुर्सिखोला लघु जलविद्युतमा सरुवा गराउनु नै उनको मुत्युको कारण रहेको र केही व्यक्तिहरुको मिलोमत्तोमा कटकको मृत्यु भएको आफन्तको आरोप छ ।
मृतककी श्रीमती नैसोभा रोकायाले मुसल प्रहार गरी कुटपिट गर्ने रवि रोकायाकी श्रीमती जुवारा रोकायालाई प्रहरी प्रशासनले हालसम्म पक्राउ नगरेका कारण पत्रकार सम्मेलन गरेको बताईन् ।
न्याय माग्न बारम्बार कानूनको ढोकासम्म आइपुग्दा कानूनी निकायले कुनै किसीमको प्रवाह नराखेकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको उनको भनाई छ । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको लापरबाहीका कारण आफ्नो ज्वाइँले ज्यान गुमाउन परेको नैसोभा रोकायाका दाई नरेन्द्र अधिकारीले बताए ।
हत्याको आरोप लागेका रवि रोकाया, उनकी श्रीमती जुवारा रोकाया र महाविर रोकाया मध्ये २ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । आफ्नो श्रीमानको हत्या गर्ने ३ जना मध्ये एक जनालाई पक्राउ गर्न नसक्नु लेनदेनको खेल भइरहेको आरोप आफन्तले लगाएका छन् ।
रवि रोकाया र महाविर रोकाया हिरासतमा छन् । महाविर रोकायाले कुटपिट गरेर हत्या गरेको स्वीकार गरिसकेको पीडितका आफन्तले बताएका छन् । यता रवि रोकाया र उनकी श्रीमती जुवारा रोकायाले भने स्वीकार गरेका छैनन् ।
यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) भुपेन्द्र शाहीले अनुसार प्रारम्भीक अनुसन्धानमा महिलाले हत्या नगरेको भन्ने आएकाले थप अनुसन्धानका लागि जुवारा रोकायालाई कार्तिक २९ गते जिल्ला प्रहरी कार्यालयमा बोलाएको बताए् ।
इलाका प्रहरी कार्यालय थिर्पुले जुवारा रोकायालाई सोमवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने र थप अनुसन्धान गरी कानूनी कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कालिकाेट
प्रतिक्रिया