कार्यवाहक प्रधानमन्त्री खाँणद्वारा पशुपतिमा पूजा

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर जानु भई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ ।

उहाँले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गर्नुभएको हो । सो अवसरमा उहाँले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उहाँले दर्शन गर्नुभयो ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताउनुभएको थियो ।

दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया