‘मिनी संसद्’मा बालेनको प्रशंसा, रविलाई प्रश्न

काठमाडौँ । सांसदहरूले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले गरेका कामको प्रशंसा गर्दै संघीय सरकारले काम गर्न नसकेको बताएका छन् । उनीहरूले स्थानीय सरकारको कामको प्रशंसा गर्दै संघीय सरकारले किन नगरेको भनेर प्रश्न उठाएका हुन् ।

कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबार केही नेपाल ऐन संशोधन विधेयकमा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल थियो । छलफलमा सम्बन्धित मन्त्रालयका तर्फबाट मन्त्री र सचिव सहभागी थिए । स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले उक्त मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जबाफ दिन उपस्थित थिए ।

छलफलको विषय थियो– न्याम्स र वीर अस्पताललाई अलग गरेर छुट्टै संरचना बनाउने । दुवैलाई अलग गरेर स्वायत्त बनाउने प्रस्तावसहित सरकारले संशोधन गर्न खोजेको छ । संशोधनमा भाग लिँदै कांग्रेस सांसद जीवन परियारले न्याम्सबाट वीर अलग गर्न उपयुक्त हुने तर त्यसका लागि केही सर्तहरू निर्धारण गर्नुपर्ने बताए । त्यसपछि उनले संघीय सरकार मातहत रहेका सरकारी अस्पताल किन प्रभावकारी बन्न सकेनन् भनी प्रश्न उठाए ।

‘काठमाडौँका मेयर बालेन शाहले गरिब निमुखालाई निःशुल्क उपचार दिन्छु, पालिकाबाट सिफारिस गरेर ल्याउनु भन्छन्, यति बेड खाली छ भन्छन् । केन्द्रीय सरकार के हेरेर बसेको छ ? यत्रो राज्य सञ्चालनकर्ता भएर किन सक्दैन ?,’ कार्यवाहक स्वास्थ्यमन्त्री लामिछानेलाई उनले सोधे ।

उनले यसका लागि छुट्टै नीति बनाएर गरिब निमुखालाई सर्वसुलभ उपचार दिनुपर्नेमा जोड दिए । सरकारी अस्पतालमा कालोबजारी मौलाएको, गरिबले उपचार नपाएर आत्महत्या गरेको, खर्च नतिरी भाग्नुपरेको अवस्था सुनाउँदै रिजल्ट देखिने गरी अनुगमन गर्न माग गरे ।

सरकारले निजी अस्पताललाई त नीतिअनुसार सीमित प्रतिशत निःशुल्क उपचारका लागि बाध्य बनाउनुपर्नेमा सरकारी नै भद्रगोल भएको उनले बताए । ‘अस्पतालले टाँस्नुप¥यो यति निःशुल्क, यति पैसा लाग्ने भनेर,’ उनले भने, ‘संविधानमा निःशुल्क स्वास्थ्य लेख्यौँ, तर कार्यान्वयन भएन ।’ सरकारी अस्पताललाई राज्यको नियमनमा राख्नुपर्ने उनको भनाइ थियो । सांसद परियारले अन्तिममा भने, ‘न्याम्स र वीर अलग राखौँ । न्याम्सलाई ५ वर्ष तोकेर अर्काे अस्पताल नबन्दासम्म जोडेर जानुपर्छ ।’

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारी अस्पतालको सेवा सुधार गर्न, गरिब निमुखाको आशाको केन्द्र बनाउन अनुरोध गरे । कार्यवाहक स्वास्थ्यमन्त्री लामिछानेले वीर अस्पताल मुलुकको केन्द्रीय स्वास्थ्य प्रणालीमा महत्वपूर्ण अस्पताल भएकाले सेवा अब्बल बनाउन छुट्टै निकायमा रूपमा सञ्चालन गर्न खोजिएको बताए । स्वास्थ्य प्रणाली जनमुखी बनाउने सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया