वैदेशिक रोजगारीमा ठगिएकाको विषयमा सरकारले चासो दिनुपछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको १२औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारीस्तरबाट ठोस प्रयास हुनुपर्ने बताए ।

‘वैदेशिक रोजगारीमा गएका श्रमिकले पाइरहेका दुःखका बारेमा म जानकार छु, श्रमिकमाथि भइरहेको शोषण रोक्न सरकारलाई आग्रह गर्दछु’, सभापति देउवाले भने । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

पार्टी नेता डा शेखर कोइरालाले सरकार परिवर्तन हुने बित्तिकै नीतिनियम परिवर्तन भइरहने समस्याका कारण व्यवसायी मारमा परेका बताए । उनले भिजिट भिसामा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न सरकार लाग्नुपर्ने बताए ।

उनले राजनीतिक स्थायित्व नभएसम्म सुशासन कायम हुन नसक्ने भएकाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताए । उनले जनताले सडकमा उठाएका सहकारीका समस्यालाई कांग्रेसले सदनमा पुर्याएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइलीले कानुन अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई सरकारी निकायका केही पदाधिकारीले दुःख दिएको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य सीता देवकोटाले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी नीति बनाउनुपर्ने बताइन् ।सोही दलका केन्द्रीय सदस्य अब्दुल सतारले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक भएको बताए ।

नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमोद खनाललगायत वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायीले श्रमिकको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्दै आएको बताए ।

प्रतिक्रिया