माधव नेपाललाई फाइदै फाइदा

 

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ । एमालेबाट फुटेर नयाँ पार्टी बनेको दुई महिना नपुग्दै नेपाल नेतृत्वको पार्टीले सबैभन्दा ठूलो लाभ बागमतीबाट लिएको हो । संघीय सरकारमा चार मन्त्री र एक मन्त्रीसहित सहभागी भइसकेको नेपाल नेतृत्वको पार्टी बागमतीबाट मुख्यमन्त्री यात्रा थालेको हो । बागमतीबाट मुख्यमन्त्रीको ढोका खोलेको समाजवादीले प्रदेश १ मा पनि नेतृत्व लिने सम्भावना छ । गठबन्धन दलबीच सहमति भएमा आगामी कात्तिक १५ गते प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् ।

नेकपा विभाजनपछि राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हार चखाएर अघि बढेका नेपालले समाजवादी गठनपछि प्रदेश सरकारको पहिलो नेतृत्व बागमतीबाट लिएका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन नसक्ने भएपछि बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यको राजीनामासँगै १ सय ५ सदस्यीय प्रदेश सभाको बहुमत अर्थात् ५९ जनाको समर्थन पाएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उक्त पद बिहीबारदेखि सम्हालेका छन् ।

अंक गणित अनुसार एकीकृत समाजवादी बागमती प्रदेश सभाको चौथो ठूलो दल हो । सरकार गुमाएपछि प्रदेश सभामा एमाले अझै ठूलो दलका रुपमा उपस्थित छ । एमालेका ४३ सदस्य छन् । दोस्रो ठूलो दल माओवादी केन्द्रका २३ सदस्य छन् भने नेपाली कांग्रेसका २२ सदस्यसहित तेस्रो स्थानमा छ । बागमती प्रदेश सभामा एकीकृत समाजवादीका १३ जना मात्रै सांसद छन् । तर, प्रदेश सरकारबाट एमालेलाई हटाएपछि दुई–दुई प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको आन्तरिक सहमति अनुसार बागमतीको नेतृत्व पाएको हो ।

माओवादी केन्द्रबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी तीन प्रदेशमा मुख्यमन्त्री छन् । तर, आन्तरिक सहमति कार्यान्वयन भए कर्णाली सरकारको नेतृत्व यही कात्तिक १५ गते माओवादीले कांग्रेसलाई हस्तान्तरण गर्नेछ । गण्डकी र कर्णाली गरी दुईवटामा कांग्रेसले सरकारको नेतृत्वमा हुनेछ । एकीकृत समाजवादीको भागमा भने बागमतीका अलावा प्रदेश १ परेको छ । तर, त्यहाँ पनि सत्तारुढ गठबन्धनकै बहुमत भएकाले आन्तरिक सहमति कार्यान्वयन भए समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुनेछन् ।

तर, कांग्रेसभित्रको आन्तरिक किचलोका कारण एमालेका मुख्यमन्त्री भीम आचार्यलाई आफ्नो कार्यकाल लम्ब्याउन सहज भएको छ । कांग्रेसभित्र आन्तरिक किचलो नभएको भए बागमतीभन्दा पहिले प्रदेश–१ मा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व लिने थियो ।
प्रदेश–१ मा सरकारको नेतृत्वका लागि एकीकृत समाजवादीले अझै केही दिन प्रतीक्षा गर्नुपर्ने अवस्था भएकाले पाण्डे पार्टी गठनको दुई महिना नपुग्दै पहिलो मुख्यमन्त्री बन्न पाउने ‘भाग्यमानी’ बनेका छन् ।

एमालेबाट औपचारिक विभाजनअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपालनिकट उम्मेदवारले राष्ट्रिय सभाको उपनिर्वाचनमा यही प्रदेशबाट एमाले उम्मेदवारलाई हराएका थिए । ६ जेठ (२०७८) मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ नेपाल पक्षीय उम्मेदवार डा. खिमलाल देवकोटाबाट पराजित भएका थिए । नेकपा विभाजनपछि माओवादीले एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य थापालाई पदमुक्त गरेको थियो । थापाका साथ एमालेमै रहेका अर्का राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका थिए । त्यसपछि बागमती र लुम्बिनी प्रदेशका रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।

लुम्बिनीको रिक्त सदस्यमा तत्कालीन विपक्षी गठबन्धनबाट कांग्रेसका हृदनारायण पाण्डे र एमालेबाट खड्का नै उम्मेदवार बने । निर्वाचनमा गठबन्धनका पाण्डे विजयी भए । जो एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य पद छाडेर कांग्रेस प्रवेश गरेका थिए । बागमती विपक्षी गठबन्धनले डा. देवकोटालाई उम्मेदवार बनायो । डा. देवकोटालाई उम्मेदवारका रुपमा एकीकृत समाजवादीका नेता नेपालले प्रस्ताव गरेका थिए । भलै, त्यो बेला एमाले औपचारिक रुपमा विभाजित भएको थिएन । निर्वाचनमा डा. देवकोटाले चुनाव चिन्ह ‘कलम’ लिए, जुन चिन्ह आगामी निर्वाचनमा एकीकृत समाजवादीले प्रयोग गर्नेछ ।

यो प्रदेशमा कांग्रेस, माओवादी र जसपाको मत मात्रैले विपक्षी गठबन्धनका उम्मेदवार विजयी हुन नसक्ने भएकाले एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका डा. देवकोटालाई उम्मेदवार बनाइएको थियो । आशा गरे बमोजिम नै डा. देवकोटाले एमालेका मतदाताबाट समर्थन प्राप्त गरे र एमालेका थापालाई पराजित गर्दै राष्ट्रिय सभामा निर्वाचित भए । राष्ट्रिय सभामा निर्वाचित भएपछि थापाले आफू स्वतन्त्र हैसियतमै रहने बताएका थिए । तर, एमाले विभाजित भएपछि उनको निकटता एकीकृत समाजवादीमै रहेको मानिन्छ । यद्यपि, औपचारिक रुपमा भने उनी अझै पार्टीमा खुलिसकेका छैनन् । एमाले विभाजनयता एकपछि अर्काे गर्दै एकीकृत समाजवादीलाई ‘लाभको परिणाम’ दिने प्रदेश भने बागमती बनेको छ ।

प्रतिक्रिया