के हो शास्त्र ?

मोहनप्रसाद सापकोटा

‘फलानाले सप्ताह लगायो, हामीले पनि लगाउनु पर्ने’, ‘फलानो ठाउँमा फलानालाई सप्ताह भन्न लगाएर यति रकम उठाए, हामीले पनि फलानालाई बोलाएर सप्ताह भन्न लगाउँ’, ‘यति चन्दा दिए भित्तामा नाम लेखिन्छ’, त्यसले त्यहाँ त्यत्रो गुम्बा बनायो, अब हामीले यहाँ त्यत्रै मन्दिर, मस्जिद वा चर्च बनाउनु पर्दछ…’ आदि आदि । धर्म र शास्त्रको अर्थ अब यसरी नै रूपान्तरण भइरहेका छन् ।

धर्म र शास्त्र कसैलाई धन लुकाउने, कसैलाई धन कमाउने, कसैलाई पेसा लुकाउने त कसैलाई समृद्धि गर्ने माध्यम बनिरहेको छ । अनि कोही कोही यसैका निहुँमा मगन्ते पनि बनेका छन् । यस्ता धर्मकर्ममार्फत गृहस्थीबाट आफ्नो गृहस्थ जीवनमा जे कुरा ग्रहण गर्नुपर्ने हो त्यो ग्रहण गरिन्न र जे कुरा ग्रहण गरिनु नपर्ने हो त्यो कुरा ग्रहण गरिन्छ । सप्ताह सुनेर सुध्रने व्यक्ति सयमा पाँच जना पनि हुँदैनन् । कुनै सम्प्रदाय वा गुरु विशेषको अनुयायी हुनु नै धर्म गर्नु वा शास्त्र मान्नु होइन । म गलत हुन पनि सक्दछु तर सप्ताह सुन्ने, भन्ने आदिजस्ता कर्म इन्द्रिय सुखका लागि नै बढी हुन थालेका छन् । यदि यसो नहुँदो हो त यस्ता धर्मकर्मको सकारात्मक असर परिवार र समाजमा देखिनु पर्दथ्यो, जुन अत्यन्त कम देखिएको छ ।

‘शास्त्र’ का अनेकौँ अर्थ दिइएका छन् । व्याख्या र मन्थन भएका छन् । आखिर के हो त शास्त्र ? सबै धर्ममा शास्त्र हुन्छन् र ती सबै शास्त्रको प्रमुख उद्देश्य शान्त समाजलाई निरन्तरता दिनु हो । मृत्युपछिका कुरा कुनै धर्मले मान्दछ त कुनै धर्मले मान्दैन । समाज अशान्त कसरी बन्दछ त ? मानिसमा आँखा, कान, जिभ्रो, जनेन्द्रिय आदि आफ्ना इन्द्रियले भोग गर्ने लालसा नियन्त्रण गर्ने क्षमता भएन भने मानिस अशान्त हुन्छ । यही लालसा पूरा गर्न ऊ अरूको शान्त जीवनलाई आक्रमण गर्न थाल्दछ । इन्द्रिय भोगको कुनै सीमा हुँदैन, कुनै पनि इन्द्रियले पृथ्वीभरीका कुरा उपभोग गरे पनि ‘भो अब मलाई पुग्यो’ भन्दैन । व्यक्ति अशान्त भएपछि परिवार अशान्त हुन्छ र परिवार अशान्त भएपछि समाज अशान्त हुन्छ ।

यसै भएर शास्त्रको अर्थ दिँदै लेखियो ‘इन्द्रियाणां प्रशमं शास्त्रम्’ अर्थात् आफ्ना इन्द्रियलाई शान्त पार्ने वा चित्त बुझाउने वा नियन्त्रण गर्ने जुन शक्ति हो त्यो भनेकै शास्त्र हो । सन्यासीजस्तो गृहस्थ बनाउनु वा गृहस्थजस्तो सन्यासी बनाउनु शास्त्रको उद्देश्य होइन । इन्द्रियलाई शान्त पार्न नसकिए के हुन्छ त ? यसबारेमा आयुर्वेदमा दुई वटा कुरा उल्लेख भएका पाइन्छन् । पहिलो कुरा इन्द्रियले जे जे भन्दछ त्यही त्यही पूरा गर्दै गए मानिस रोगी हुन्छ । अर्को इन्द्रिय–सुख असीमित हुने हुँदा सीमित कुराले मागअनुसार आपूर्ति गर्न सक्दैन र अपराध बढ्दछ ।

सबै धर्ममा शास्त्रको मूल मर्मलाई ओझेलमा पार्दै कमाइ खाने भाँडो बनाउने जुन चलन चलेको छ, यसले यसलोक र परलोक दुबैमा कुनै लाभ हुँदैन, इन्द्रिय सुखजन्य शान्तिको भ्रम मात्र बढ्दछ । इन्द्रिय सुख मात्र मानव समाजको शान्ति र स्वस्थताको मापदण्ड कहिल्यै हुन सक्दैन । कहिल्यै हुन सक्दैन ।

प्रतिक्रिया