युवा पुस्तामा ‘एल क्लासिको’

लण्डन । आइतबार हुने यो सिजनको पहिलो ‘एल क्लासिको’ १५ वर्षपछि लियोनेल मेस्सी र सर्जियो रामोसविना नै हुदैछ । बार्सिलोनाका मेस्सी र रियल म्याड्रिडका रामोसले फ्रान्सेली क्लब पीएसजीमा ड्रेसिङ रुम शेयर गरिरहेका छन् । यसले एल क्लासिकोमा नयाँ पुस्ताका लागि ढोका खोलिदिएको छ । स्टार र चर्चित खेलाडीको बर्हिगमनले समर्थकहरु निराश छन् । यद्दपि हालको टोलीबाट बार्सिलोनाका सर्जियो बुस्क्वेट्स (४०) सबैभन्दा बढी क्लासिको खेल्ने खेलाडीको रुपमा रहेका छन् । उनीभन्दा पछि जेरार्ड पिके (३७) र करिम बेन्जेमा (३६) रहेका छन् । बेन्जेमा १० गोलसहित सर्वाधिक गोलकर्ता छन् ।

दुई टोलीबीच तुलना गर्दा बार्सिलोना रियलभन्दा युवा टोली रहेको छ । रियलको टोली औसतमा २८ वर्ष २० दिनको टोली रहँदा बार्सिलोना २६ वर्ष १७४ दिनको औसतको टोली हुनेछन् । ओप्डाको तथ्यांकअनुसार क्लासिकोमा यो बार्सिलोनाको तेस्रो कान्छो टोली तथा रियलको पाँचौ सिनियर टोली बन्नेछ । बार्सिलोनाको टोलीमा ८ खेलाडी तथा रियलमा ६ खेलाडी सन् २००० पछि जन्मिएका छन् ।

एल क्लासिकोमा रियल म्याड्रिडको नाममा औसतमा सबैभन्दा कम उमेरको टोलीको कीर्तिमान छ । सन् २००५–६ को सिजनपछि सन् २०१० मा म्यानुयल पेलिग्रेनीको नेतृत्वमा रियलको टोली औसतमा २५ वर्ष ७२ दिनको बनेको थियो । यद्दपि यो क्लासिकोमा बार्सिलोनाको यो टोलीमा सबैभन्दा कम उमेरका ५ युवा खेलाडी रहेका छन् । अन्सु फाती, ब्रोजन क्रिक र गाभीले सिनियर टोलीबाट खेलिसकेका छन् ।

अन्सु फाती एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । उनले गत अक्टोवरमा १७ वर्ष ३५९ दिनको उमेरमा क्लासिकोमा गोल गरेका थिए । उक्त खेलमा बार्सिलोनाले ३–१ को हार बेहोरेको थियो । रियल म्याड्रिडका भिनिसियस जुनियरले १९ वर्ष २३३ दिनमा गोल गरेका छन् । लियोनेल मेस्सीले सन् २००७ मा कम उमेरमै क्लासिकोमा ३ गोल गरिसकेका छन् ।

एक पटकको बालोन डि ओर विजेता रियल म्याड्रिडका ३६ वर्षीय मिडफिल्डर लुका मोड्रिच यो सिजनको एल क्लासिको खेल्ने भेट्रान खेलाडी हुनेछन् । रियल म्याड्रिडका ३३ वर्षीय करिम बेन्जेमा र मार्सेलो पनि अर्का भेट्रान सदस्य हुन् । उच्च लयमा रहेको बेन्जेमा यो सिजनको बालोन डि ओरको दावेदारको रुपमा रहेको छ ।

अबको एल क्लासिको युवा पुस्तामा हस्तान्तरण भइसकेको छ । मुख्य गरी बार्सिलोनाका अन्सु फाती र रियलका भिनिसियस जुनियर क्लासिकोको केन्द्रमा रहनेछन् । दुवै टोलीले क्लासिकोमा गोल गरिसकेका छन् । उनीहरुकै प्रदर्शनमा जित हारको नतिजा निस्कन सक्नेछ ।

प्रतिक्रिया