बढ्यो निगमको घाटा

काठमाडौं । नेपाल आयल निगमको घाटा बढ्दो क्रममा रहेको छ । निरन्तर ६ वर्ष देखी नाफामा रहेको निगम पछिल्लो समय मासिक ४ अर्ब भन्दा बढि घाटामा जान थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बृद्धि हुदै गएपछि निगमको घाटा बढेको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि भएपछि भारतीय आयल कर्पाेरेर्सन (आइओसी) पठाएको मूल्यका आधारमा मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा बढेको हो । पछिल्लो समय आइओसीले पठाएको मूल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा मासिक ४ अर्ब ४४ करोड रुपैयाँ घाटा व्यहोरी रहेको निगमको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बृद्धि हुँदा निगमले साउन यता मात्र ७ अर्ब भन्दा बढी घाटा व्यहोर्नु परेकोे बताएको छ ।

आइओसीले पठाएको मूल्यका आधारमा निगमले साउन यता एक पटक मात्र मुल्य समायोजन गरेको बताएको छ । स्वचालित मुल्य अनुसार ७ पटक भन्दा बढि मुल्य समायोजन गर्नुपर्ने निगमले जनाएको छ । अब पनि निगमले मूल्य समायोजन नगरे निगमले तेल खरिद समेत गर्न नसक्ने अवस्था आउने उस्ले बताएको छ । यस्तो अवस्थामा निगमले मुल्य समयोजना संगै तेलमा हुने चुहावट नियन्त्रण गर्नुपर्ने देखिएको छ ।

निगमले भारतबाट तेल ल्याएर नेपालमा विक्री गर्ने भएपनि भारत भन्दा धेरै सस्तोमा विक्री गर्छ । भारत भन्दा नेपालमा डिजेलमा ५२ रुपैयाँ र पेट्रोलमा ४८ रुपैयाँ सस्तो छ भने खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ सय ५० रुपैया सस्तो रहेको छ । निगमका प्रवक्ता बिनित मणी उपध्यायका अनुसार निगमले प्रतिलिटर पेट्रोल विक्री गर्दा १५ रुपैयाँ घाटा व्यहोरी रहेको छ भने डिजेलमा प्रतिलिटर १४ रुपैयाँ घाटा व्यहोरी रहेको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५ सय ११ रुपैयाँ ८८ पैसा घाटा व्यहोर्दै आएको छ ।

आइओसीले निगमलाई पछिल्लो पटक पठाएको मूल्य अनुसार पेट्रोलमा ४० करोड ५३ लाख रुपैयाँ, डिजेल १ अर्ब ९ करोड रुपैयाँ, खाना पकाउने ग्यसामा ७५ करोड रुपैयाँ र आन्तरीक हवाई १ अर्ब रुपैयाँ घाटा व्यहोरी रहेको जिकिर पनि आयल निगमले गरेको छ । अहिले निगमको अन्तर्राष्ट्रिय हवाई इन्धन र मट्टितेलमा मात्र केही नाफा रहेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन विक्रीमा निगमलाई मासिक ९५ लाख नाफा रहेको छ । जसको कारोबार १५ दिनमा जम्मा ९ सय २० किलोलिटर छ । यसैगरी मट्टितेलमा २ करोड ३३ लाख नाफा छ अहिले जम्मा ११ सय किलोलिटर मात्र छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य स्थिर नहुँदा अझै मूल्य बृद्धि भएर आउने संभावना निगमले औल्याएको छ ।

प्रतिक्रिया