पहिरोले गोठ पुरिँदा चित्रपानीमा राँगोको मृत्यु, घरमा पनि क्षति

तस्विर गौतम दराईको फेसबुकबाट

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) को बुलिङटार गाउँपालिका– ४ चित्रपानीमा पहिरोले गोठ पुरिँदा ठूलो क्षति भएको छ ।

अविरल वर्षाको कारण यही कार्तिक २ गते राति स्थानीय चोकबहादुर सारु मगरको घरको आँगनको डिल पहिरो जाँदा त्यस मुनी रहेको केशरबहादुर सारु मगरको गोठ पुरिँदा त्यहाँ बाँधेर राखिएको राँगो मरेको उक्त गाउँपालिका– ४ का जनप्रतिनिधि गौतम दराईले जानकारी दिए ।

साथै, पहिरोले कुखुराको खोर पनि पुरिँदा केही कुखुरा, थन्क्याएर राखिएको धान, मकै र कोदोसमेत नष्ट भएको जनप्रतिनिधि दराईले बताए ।

‘लगातारको वर्षाले जमिन गलेर आँगनको डिल पहिरो गयो,’ उनले भने ‘गरिबको घर त्यसमाथि खाने अन्न र बेच्नको लागि तयारी हुँदै गरेको राँगो पनि मर्यो ।’

उनका अनुसार दुवै घरमा क्षति भएको र उक्त घरमा बस्न पनि खतरा बढेकोले पीडित परिवारहरुले बस्ने बास र आर्थिक सहयोगको पनि अपिल गरेका छन् । साथै, दराईले आफूले सकेको सहयोग गर्न तयार रहेको र अरुलाई पनि आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरे ।

बुलिङटार गाउँपालिका प्रहरी चौकीबाट प्रहरी, त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले घटनाको उद्धार गरेका थिए । बुलिङटार गाउँपालिका– ४ का वडाध्यक्ष चेतबहादुर गोदामीले स्थानीय सरकार, प्रदेश सरकार र आफूलगायतले पीडित परिवारहरुलाई आर्थिक सहयोगको पहल भइरहेको जानकारी दिए ।

‘हामी सबै मिलेर पीडित परिवारहरुलाई सहयोगको पहल गरिरहेका छौँ,’ वडाध्यक्ष गोदामीले भने । त्यस्तै, त्यहीँका स्थानीय गोरखकाली मावीका शिक्षक भेटबहादुर राना मगरले बाढी र पहिरोले उक्त घरगोठसँगै त्यहाँका कच्ची सडकलगायत खेतबारीमा समेत क्षति भएको बताए ।

गोठमा पुरिएर मरेको राँगो बेच्ने तयारीमा रहेको र करिब ५० हजारभन्दा बढी मूल्यको रहेको शिक्षक रानाले बताए । बुलिङटार प्रहरी चौकीले उक्त घटनाको मुचुल्का बनाउने तयारी भइरहेकाले कुल कती मूल्य बराबरको क्षति भाएको विवरण आउनै बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया