माओवादी बैठकमा आगामी सम्मेलनबारे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा नपुगेको जानकारी दिए । उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्ष आउने बताए ।

पार्टीको अर्को बैठक मंगलबार बिहान ८ बजे बस्नेछ । मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरूको निर्णय गरिने प्रवक्ता महराले बताए । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले विभिन्न पार्टीबाट पार्टी एकतामा आएका नेताहरूको जिम्मेवारी र संगठनका आन्तरिक विषयमा पेस भएका प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले बोल्ने क्रम जारी रहेकाले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

प्रतिक्रिया