टिकट काउन्टरबाटै ठगिए यात्रु

रुपन्देही । दशैंको चहलपहल बढेसँगै यात्रामा सकस हुन थालेको छ । ‘यात्रुलाई भरपर्दो सेवा र सुविधा, दूर्घटना न्युनीकरण गर्ने हाम्रो प्रतिबद्धता’ नारा राखेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले तोकेको टिकट काउन्टरबाटै यात्री ठगिएका छन् । बुटवल बसपार्कभित्र रहेको उक्त प्रालिको टिकट काउन्टरले एउटै सिटमा दुई दुईवटा टिकट काटेर यात्रालाई सकसपूर्ण बनाएको छ । गएको शुक्रबार बुटवल बसपार्कबाट लम्कीका लागि लु २ ख १०३० को बसको टिकट काटेका लक्ष्मण चौधरीले डब्बल टिकटका कारण हैरानी व्योहोर्न पुगे । बसका कन्डक्टर शंकर शर्माले काउन्टरका कारण आफूले हैरानी पाएको सुनाउँदै यसमा ध्यान दिनुपर्ने बताए । उनले लामो यात्रामा यात्रीलाई गाह्रो हुने भएकाले विचार पुर्याउनुपर्ने जिकिर गरे ।

महेन्द्रनगरका लागि छुटेको उक्त बसको सिट क्षमता ४२ रहेको तर ४७ जनाको टिकट काटेर काउन्टरले यात्रुलाई सास्तीसँगै ठगेको छ । कोरोना महामारीका बेला सतर्कता अपनाउनुपर्नेमा ठेलमठेल यात्री राखेर व्यवसायी स्वास्थ्य सुरक्षा मापदण्डमा समेत खेलाचीँ गरिरहेका छन् । यस्तै, बुटवलबाट बर्दिया बासगढी जानुपर्ने यात्री देवेन्द्र शर्माले लम्कीसम्मकै टिकट काट्नुपरेको सुनाए । काउन्टरमा बसेका स्टाफले बसले मान्दैन जहाँ गए पनि लम्कीसम्मको टिकट दर लाग्ने नत्र काउन्टरबाट टिकट दिन नमिल्ने बताएको सुनाए । उनले भने, ‘एकातिर एउटै सिटको डब्बल टिकटको सास्ती, अर्कोतिर सिधासिधी ठगी । जहाँ जसरी पनि यात्री नै ठगिरहेका छन् । सरकार के हेरेर बसिरहेको छ ?’

‘यात्रुलाई भरपर्दो सेवा र सुविधा, दूर्घटना न्युनीकरण गर्ने हाम्रो प्रतिबद्धता’ नारा राखेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले तोकेको टिकट काउन्टरबाटै यात्री ठगिएका छन्

नेपालकै राम्रो र व्यवस्थित यातायात प्रालिका रुपमा परिचित पश्चिम नेपाल बस व्यवसायी प्रालिले काउन्टरबाटै दशैंको बेलामा डब्बल टिकट काटेर यात्रुलाई सास्तीसँगै ठगेको लम्की जान लागेका विनोद कुँवरले बताए । उनले लामो यात्रामा उभिएर जान नसकिने तर बसवालाले यात्रीलाई निकै दुःख दिएको गुनासो गरे । कुँवरले भने, ‘सरकारले पनि यात्राको चाप बढ्ने बेला चासो दिनुपर्नेमा यतातर्फ ध्यानै दिएको छैन । खासमा भन्ने हो भने जनतालाई सरकार भएको महशुस नै छैन ।’ उनले यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउनुपर्ने व्यवसायीले चाडवाडका नाममा यात्रुलाई ठग्ने मनसाय राख्नु अपराध भएको बताए । कुँवरले खाना खाने होटल पनि गतिलो नभएको गुनासो गरे । उनले यात्रुलाई ठग्न बस व्यवसायीसँगै राजमार्गका कतिपय होटल व्यवसायी मिलेको जिकिर गरे ।

प्रतिक्रिया