विदेशमा पनि दसैँ आउँछ !

शान्ति ढकाल अधिकारी

यति बेला काठमाडौंको असन–इन्द्रचोकमा कति भिडभाड होला ? कालिमाटीमै तिलको दाना अट्ने ठाउँ हुँदैनथ्यो । अलि टाढा गाउँघरमा दसैँ मनाउन जानेहरू त एक महिना अघिदेखि नै किनमेलमा व्यस्त हुन्छन् । दसैँदेखि तिहारसम्म मसलाका पोकादेखि लिएर सबै किनमेल बेलैमा गरिन्थ्यो । कपडा पसल, खाद्यान्न र मिठाइ पसल जताततै खचाखच !

वर्ष याम सकिएलगत्तै एउटा चिसो, पारिलो, न्यानो र मीठो आभास बोकेर शरद् ऋतुको आगमन हुन्छ । कति मीठो स्पर्श ! बिहानको त्यो पारिलो र स्वादिलो घाम ! धुम्म परेको त्यो कालो बादललाई पन्छाएर तँछाड–मछाड गर्दै उदाएजस्तो लाग्ने अति नै लोभलाग्दो मौसम ! एकैपल्ट शीतलता र तापले जम्काभेट गरेर बाहाँ जोडी मितेरी लगाएजस्तो लाग्ने । प्रीतिको यो मौसम मलाई अति नै प्रिय लाग्छ । केही नयाँ, केही नौलो, केही राम्रो र केही अचम्म हुँदै छ, जस्तो । मनै फुरुंग पार्ने हर्ष र उमंगले गदगद बनाएको जस्तो छुट्टै अनुभव हुन्छ । दसैँ आउन अझै दुई हप्ता बाँकी नै थियो । ‘तै पनि बिदा मिलिहाल्छ कि ? एकचोटि कुरा गरिहेर्छु ।’ काममा जाँदै गर्दा मनस्थिति बनाएँ । ‘दसैँमा बिदा मिल्ला त सर ?’ मुख फोर्न हिचकिचाउँदै सोचेकी मात्रै थिएँ । म्यानेजरले कति छिटो मन पढिसक्नुभएछ । फ्याट्ट भनिहाल्नुभयो, ‘मेरो आफ्नै पनि ‘सिफ्ट’ छ । ‘सिफ्ट’ हुनेले त आउनै पर्छ । जसको ‘सिफ्ट’ छैन, ‘लक्की’ भए । जसको छ अन–लक्की !’ ७० प्रतिशत नेपाली कामदार भएको ठाउँमा बिदा मिल्ने अवसर सम्भावनामा मात्र सीमित थियो । हाकिमको लाचारीले मलाई निकै बेर मौन बनायो ।

म्यानेजर सरका कुरा सुन्दा नसुन्दै अनुहारको भावबाट मैले पनि स्पष्टीकरण पाइसकेकी थिएँ । उहाँको विवशताले मलाई पनि चित्त बुझाउन कर लगायो । आफूलाई आफैँले सम्झाउन थालेँ । यो निधारमा जसको आशीर्वादको टीका भरिनुपर्ने थियो, उहाँहरूको आशीर्वाद त सधैँ शिरोपर छ । मासु र भात पनि कहिले पो नखाएको हो र ? के भयो त होस् ! उही टीकाटालाको फोटो फेसबुकको भित्तामा टाँस्न अलिक ढिला होला । माया, सम्बन्ध र नाताले जोडिएका आफन्त र परिवारका सदस्यहरू हुनुहुन्छ । समय मिलाएर उहाँहरूसँग आशीर्वाद आदान–प्रदान गर्दै गरुँला ।

हुन त आजभोलि चाडबाडले मनलाई खासै छुन सक्तैनन् । बानी परेछ क्यारे ! जति बेला रहर थियो त्यति बेला यस पर्वको रहस्य नै थाहा भएन । जब रहस्य बुझियो तब जिम्मेवारीको गरुंगो भारीले यो काँध लच्किसकेको थियो । ट्रेन स्टेसनको छेवैमा नेपालीका पसल लहरै छन् । निवासतिर फर्कंदै गर्दा बजारको वरिपरि घुइँचो देखिन्थ्यो । दसैँकै किनमेलको घुइँचो । ओहो ! मलाई पनि जमराको लागि जौ किन्नु थियो । पसलतिर लम्किएँ । वरिपरिको भिड छिचोल्दै म एउटा पसलभित्र छिरेँ । जौ किनेर बाहिरिँदै गर्दा पसले भाइले भन्दै थिए, ‘दिदी, दसैँको लागि मासुको अर्डर गर्दै गर्नुहोला; नत्र भाग नआउला नि ! हजुरलाई छालासहितको हो कि काढिएको चाहिँ हो ? भनिहाल्नुहोला है ? अँ, अनि अरू सरसामान केही लानुहुन्थ्यो कि ?’

‘हस्, हस् ! अहिले हतारमा छु । दसैँको किनमेल गर्न आउनै छ । मासु पनि त्यही बेला अर्डर गरुँला । दसैँको मासु छालासहितकै खाने नि ! सर आउनुहुन्छ, भोलितिर सल्लाह गर्न ।’ हिँड्दा–हिँड्दै यत्ति वmुरा बोलेर म पसलबाट बाहिरिएँ । पसल वरिपरिको होहल्ला, भिडभाड र किनमेलको प्रसंगले मनलाई झन् भुरुंग बनायो । ओहो ! दसैँ आई पो सक्यो त ! यति बेला काठमाडौंको असन–इन्द्रचोकमा कति भिडभाड होला ? कालिमाटीमै तिलको दाना अट्ने ठाउँ हुँदैनथ्यो । अलि टाढा गाउँघरमा दसैँ मनाउन जानेहरू त एक महिना अघिदेखि नै किनमेलमा व्यस्त हुन्छन् । दसैँदेखि तिहारसम्म मसलाका पोकादेखि लिएर सबै किनमेल बेलैमा गरिन्थ्यो । कपडा पसल, खाद्यान्न र मिठाई पसल जताततै खचाखच !

सवारी साधनको जाम त्यत्तिकै ! रत्नपार्कबाट साँझ पाँच बजे बस चढेर सात किलोमिटर परको नैकाप पुग्दा कहिलेकहीँ त नौ बजिसकेको हुन्थ्यो ! अझ शनिबार अथवा वmुनै सार्वजनिक बिदाको दिन पर्नुपर्छ; साँझपखका व्यस्त सडकका पेटीमै पाइला अड्याउने ठाउँ पाइँदैन । एक साल दसैँको किनमेल गर्न जाँदा पैसाको पर्स नै भिडभाडमा बिलाइसकेछ ! केको किनमेल गर्नु ? बाटाखर्चीसमेत अर्कैसँग माग्नुप¥यो ! लगभग आधा दसैँ खर्च हराउँदा निम्न–मध्यम वर्गीय परिवारको सदस्यलाई करेन्टको झट्का त लाग्ने नै भयो । कसरी बिर्सनु त्यस दिनको दुर्घटना ! त्यो महँगी ! त्यो दौडधूप र त्यस्तो व्यस्ततामा पनि छुट्टै रमाइलो हुन्थ्यो । सब वmुरा आँखामा झलझली आइरहे । विदेश भन्नु मात्रै हो । यतातिर पनि आजभोलि त दसैँ–तिहारजस्ता चाडपर्वमा निकै तामझाम देखिन्छ । संख्यामा गन्न नमिल्ने थुप्रै किराना पसल र कपडा पसललाई नेपाली समाजले ढपक्कै ढाकेको हुन्छ; मानौँ सिड्नी सहर नै असन–इन्द्रचोक हो ।

अस्ट्रेलियाको सिड्नी महानगरीभित्रका अबर्न, रगडेल र कोगरा नगरक्षेत्रमा नेपालीपना झल्किने परिवेश साँच्चै मनमोहक छ । अबर्नमा त असन बजार भन्ने प्रसिद्ध नामै छ । हिँड्दा पनि काठमाडौं सहरकै गल्लीतिर हिँडिरहेको आभास हुन्छ; कहिलेकाहीँ त ! नेपालीपनले भरिएका नेपालीमनहरू पनि थुप्रै भेटिन्छन् । ढाकाटोपी र सारीचोलीमा सजिएर आफ्ना छोराछोरी भेट्न आउनुहुने आमाबुबाहरूलाई देख्दा त हात जोडेर आशीर्वाद मागिहालूँजस्तो लाग्छ । मानौँ आफ्नै कोही भेटिएजस्तो ।

हुन त परदेशमा के दसैँ ? के तिहार ? को आफ्नू ? को बिरानू ? के घर ? के समाज ? जहाँ बस्यो, त्यहीँ घर ! जहाँ गयो, त्यहीँ समाज ! धन्न परिवारका सदस्य, आफन्त र साथीभाइहरूसँग भेटेर चाडबाड मनाउँदै छौँ । सहज वा असहज परिस्थितिमा एक्लोपनाले खासै सताउन पाएको छैन । नत्र परदेशको दसैँ कति खल्लो हुँदो हो ? भर्खरै विदेश आएर एक्लै बसेका भाइबहिनीहरूलाई कस्तो हुँदो होला ? परिवार र आफन्त एकातिर, आफू एक्लै अर्कोतिर ! कोरोनाको कारण देखाएर आवागमनमा रोक नलगाइएको भए घर पो जान पाइन्थ्यो कि ? मनका वmुरा खेलाउँदा–खेलाउँदै डेरामा पुगिसकेछु ।

चाडपर्व र उत्सवको विविधताले भरिएको हाम्रो सनातन संस्कृति ! प्रत्येक पर्वले आआफ्नै विशिष्टता र महिमा बोकेका छन् । त्यसमा पनि हामी पर्वते हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व दसैँ नै हो । देवी दुर्गा भवानीले महिषासुर दानवको वध गरेपछि हर्षोल्लास मनाउँदा–मनाउँदै परम्परा बनेको पावन पर्व हो, दसैँ । मिलन पर्व हो, दसैँ । भोजन र वस्त्र–अलकांरले छुट्ट्याउने सधन–निर्धनको भेदरेखा मेट्ने पर्व पनि हो, दसैँ । वसन्त र शरद् ऋतु शान्त ऋतु हुन्; फूल फुलाउने ऋतु हुन् । वसन्त ऋतुमा पर्ने चैते दसैँ अनि शरद् ऋतुमा पर्ने बडा दसैँ !

बडा दसैँलाई विजयादशमी, दशहरा आदि नामले पनि चिनाइएको छ । घटस्थापनाको दिन जमरा राखिसकेपछि दुर्गा भवानीको पूजा–आराधना गर्दैै १० दिनलाई भव्य बनाइन्छ । फूलपाती, महा–अष्टमी, महानवमी र विजयादशमीका चार दिन विशेष रूपमा मनाउने प्रचलन छ । १०औँ दिनमा टीका र जमरासहित आशीर्वाद थापिसकेपछि परिवारका सबै सदस्यसँग बसेर खाने, पिउने, रमाउने गरिन्छ । पिङ खेलेर धर्ती छोड्ने परम्परा आजसम्म प्रचलित छ । जाँते पिङभन्दा पनि रोटे पिङमा बसेर रिङ्नु अनि लिंगे पिङ मच्चाउनुको मजा अविस्मरणीय छ । पिङ सम्झिँदा मात्रै पनि बाल्यकालमा फर्किएको अनुभव हुन्छ । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म माइत–मावल गर्नेको लर्को झ–झल्कोमा आइरहन्छ । पहाडमा मोटर बाटो नखुल्दै दिनभरि लगाएर मामाघर जाँदाको थकाइलाई दक्षिणाको आशले मेटाइदिन्थ्यो । चिउरा र बोडीको बिरौँला मुछेर खाँदाको मीठो जिब्रैमा झुन्डिरहेको छ । ‘बच्चालाई दसैँ आएजस्तो’ भन्ने त उखानै छ ।

बाल्यकालमा परिवार र वmुटुम्बबाट पाइएको आत्मीयता तथा न्यानो स्नेह अचेलको सम्मानभन्दा सयौँ गुनामाथि छ । असत्यमाथि सत्यको सधैँ विजय हुन्छ भन्ने सन्देश पाएर होला; गलत बाटो हिँड्न र गलत कार्य गर्न हातहरू सधैँ लरबराउँछन् । ‘देवी भवानीको कृपाले दिन पुगोस्; खान पुगोस् । चिरञ्जीवी भएस् । फलोस्, फुलोस् ।’ जस्ता आशीर्वादहरू व्यावहारिकता र सामाजिक आदर्शसँग जोडिएका रहेछन् ! यी र यस्ता धेरै आशीर्वादहरूमध्ये एउटा आशीर्वादले मलाई आश्चर्यचकित बनाएको थियो, ‘सन्तानले डाँडाकाँडा ढाकून् !’ परिवार–नियोजनको नीति विपरीत बूढापाकाहरूले किन भटभट्याइरहेका होलान् भन्ने पनि लाग्थ्यो । वास्तवमा ‘सन्तानले डाँडाकाँडा ढाकून् !’ भन्ने उखान वर्तमान समयमा पूर्ण रूपले सार्थक भएको छ । विश्वव्यापीकरणको अत्याधुनिक युगमा नेपाल आमाका सन्तानहरू डाडाकाँडामा मात्रै होइन, संसारका प्रायः सबै मुलुकमा ढाकिएका छन् । बूढापाकाले आत्मादेखि नै दिएको आशीर्वाद लाग्दोरहेछ भन्नेमा म पूर्णतः विश्वस्त भएकी छु ।

नयाँ पुस्ताका लागि ‘जहाँ पुगे पनि सम्पन्नशाली भएर मातृभूमिमै फर्किनू ।’ भन्ने आशीर्वादको अपेक्षा गर्दागर्दै नेपाल–जननीप्रति नतमस्तक भएछु । भावुकताले कलमको डेग चल्न दिएन । सौर्य दैनिक अनलाइन पत्रिका–परिवार एवं सम्पूर्ण पाठकजनप्रति विजयादशमी, २०७८ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बिदा भएँ ।
(सम्प्रति : अस्ट्रेलिया, सिड्नी)

प्रतिक्रिया