विश्वका १४ अग्ला हिमाल : कसले पहिले चढे ?

निनाम कुलुङ ‘मंगले’

सिसापाङमा हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमामा रहेको छ । नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भन्ने भनाइ रहेको छ । साथै यो हिमालको नेपाली (खस÷पर्वते) भाषामा रहेको नाम गोसाइँनाथ हो । तर, चीन सरकारले आफ्नो देशमा विश्वको अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि सिसापाङमा लिने सहमति गरेको हो ।

हाल विश्वमा मान्यता प्राप्त आठ हजार मिटर अग्ला हिमाल १४ वटा छन् । निकट भविष्यमै विश्वको मानचित्रमा आठ हजार मिटरभन्दा माथिका अरू ६ वटा हिमाल थप हुँदैछन् । सौभाग्यवश थपिने ती ६ वटै हिमाल नेपाल सरहदभित्र रहेका छन् । विश्वकै अग्ला (आठ हजारभन्दा माथिका) १४ वटा हिमचुचुराहरू कुन देशमा वा कहाँ छन् ?, ती हिमाल कसले पहिले चढे ? कहिले चढे ? ती हिमाल पहिलोपटक चढ्ने पर्वतारोहीहरू कुन–कुन देशका थिए ? आदिबारे यहाँ छोटोमा चर्चा गरिनेछ ।

विश्वका ती आठ हजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिम चुचुराहरू एसिया महादेशको हिमालय पर्वतमालाको पश्चिम–पूर्व फैलिएका छन् । त्यसमध्ये पनि हिमालयको एकतिहाइ भाग नेपालमा पर्छ, जुन कुरो हामी नेपालीहरूका लाग गर्व गर्न लायक हो । स्मरणीय छ, हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठ हजार मिटरमध्ये कम उचाइको हिमाल सिसापाङमा (उचाई ८,०१३ मिटर ) सम्म रहेका छन् ।

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ सेन्टी मिटर) हो भने, यो हिमालको आरोहण सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारीद्वारा पहिलोपटक भएको थियो । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर हो भने, यो हिमाल पाकिस्तानमा पर्छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर हो । यो हिमाललाई बेलायका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले सन् १९५५ मे २५ का दिन पहिलोपटक चढेका थिए । विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से हो । यसको उचाइ ८ हजार ५ सय १६ मिटर रहेको छ । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौँ अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मिटर रहेको छ भने सन् १९५५ मे १५ मा जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको एक जन्ती टोलीले नै चढेका थिए ।

त्यस्तै विश्वको छैटौँ अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मिटर रहेको छ भने, सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । विश्वको सातौँ अग्लो हिमाल धवलागिरी हिमाल हो । यसको उचाइ ८ हजार १ सय ६७ मिटर रहेको छ भने, सन् १९६० मे १३ का दिन स्विट्जरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौँ अग्लो हिमाल मनास्लु हो । यो हिमालको उचाइ ८ हजार १ सय ६३ मिटर रहेको छ । मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवं रितले विश्वको नवौँ अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाइ ८ हजार १ सय २६ मिटर रहेको छ , यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक सफलतापूर्वक चढेका थिए ।

विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ (प्रथम) हो । साथै पर्वतारोहणको इतिहासमा सफलतापूर्वक पहिलोपटक चुचुरोमा पुग्न सफल भएको हिमाल पनि यही नै हो । विश्वको १०औँ स्थानमा आउने हिमाल भएता पनि यो हिमालको विशेष प्रकारको महत्व रहेको छ । यो हिमाल नेपालको अन्नपूर्ण हिम शृंखलामा रहेको छ भने, यसको उचाइ ८ हजार ९१ मिटर रहेको छ । सर्वप्रथम सफलतापूर्वक आरोहण फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले गरेका हुन् । उनीहरूले सन् १९५० जुन ३ मा पहिलोपटक आरोहण गरेका थिए ।

एवं प्रकारले विश्वको ११औँ अग्लो हिमाल गासेरब्रुम–१ हो । यो हिमाल पनि पाकिस्तानमा रहेको छ । यसको उचाइ ८ हजार ८१ मिटर रहेको छ, यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकी पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ । यसको उचाइ ८ हजार ५१ मिटर हो । यस हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औँ अग्लो हिमालचाहिँ गासेरब्रुम–२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाइ ८ हजार ३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए ।

विश्वको १४औँ र हालसम्मको आठहजार मिटरको अन्तिम अग्लो हिमाल हो, ‘सिसापाङमा ।’ यो हिमालको उचाइ ८ हजार २७ मिटर रहेको छ । सिसापाङमा हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमामा रहेको छ । नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भन्ने भनाइ रहेको छ । साथै यो हिमालको नेपाली (खस÷पर्वते) भाषामा रहेको नाम गोसाइँनाथ हो । तर, चीन सरकारले आफ्नो देशमा विश्वको अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि सिसापाङमा लिने सहमति गरेको हो ।

पानी–ढलोको आधारमा विश्वकै अग्लो हिमाल चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा पर्छ÷परेको हो । भलै सुरुमा दुवै देश (चीन–नेपाल) ले आ–आफ्नो भनी दावी छाडेका थिएनन् । विश्वकै अग्लो हिमाल नेपालमा परेपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रूपमा कुराकानी गरेर सहमति भएको मानिन्छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।

प्रतिक्रिया