अमेरिकामाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो  ।नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । आसिफ २३ रनमा आउट भए ।
यस्तै रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे । एकदिवसीय अन्तराष्ट्रियमा लगातार दुई अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बने ।

विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए । अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २÷२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे । संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३÷१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए । अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २÷२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । लिग–२ विश्वकप छनोटको एक रुप हो । लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

नेपालको विश्व वरियतामा सुधार
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई विश्व वरियतामा सुधार गरेको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । नेपालको ८ खेलमा २ सय ८८ प्वाइन्ट र ३६ रेटिङ अंक छ । नेपाल उक्लदा ओमान भने खस्किएको छ । ओमान एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालभन्दा अघि स्कटल्यान्ड १४ औं, जिम्बावे १३ औं, आयरल्यान्ड १२ औं र नेदरल्यान्ड्स ११ औं स्थानमा छ । नेपाल भन्दापछि यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुपा न्युगिनी २० औं स्थानमा छन् । न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।

ओमान भ्रमणमा रहेको नेपालले लगातार तीन खेलमा जित निकालेपछि ओडिआई वरियतामा सुधार गरेको हो । नेपालले पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज २–० ले जितेको थियो । पहिलो खेलमा पपुपा न्युगिनीलाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया