दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग

तनहुँ । तनहुँ समाज हङकङले दुबै मिर्गौला खराब भएका दुई युवकलाई रु चार लाख ५६ हजार सहयोग गरेको छ । समाजले ऋषिङ गाउँपालिका–८ पल्ट्याङका ३६ वर्षीय खिमबहादुर नेपाली र सोही ठाउँका ४१ वर्षीय लुमबहादुर रिलामीलाई आर्थिक सहयोग गरेको हो ।

समाजले नेपालीलाई रु दुई लाख ७४ हजार र रिलामीलाई रु एक लाख ८२ हजार हस्तान्तरण गरेको छ । नेपाली दश महिनादेखि तथा रिलामी पाँच वर्षदेखि मिर्गौलाबाट पीडित छन् ।

नेपालीको पोखरा र रिलामीको दमौली अस्पतालमा उपचार भइरहेको तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङले जानकारी दिए । दुवै पीडितलाई भेटेर उक्त रकम हस्तान्तरण गरिएको हो ।

यस्तै नेपालीलाई साउदी अरबमा कार्यरत नेपालीले रु एक लाख संकलन गरी हस्तान्तरण गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा रु १५ लाख खर्च हुने नेपालीकी श्रीमती चन्द्रा नेपालीले जानकारी दिइन् ।

प्रतिक्रिया