कतारमा अलपत्र श्रमिकको उद्धार

काठमाडौं । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौंकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।

सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ बजे काठमाडौँ आइपुगेका हुन् । लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए । ‘कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, सङ्घले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो’, प्रवक्ता क्षेत्रीले भने ।

छ महिनाअघि कतार गएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताए । ‘सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ’, उनले भने, ‘कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ ।’ सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ । काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए ।

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ। नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताए । महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ । सङ्घको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ । ‘समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ’, प्रवक्ता क्षेत्रीले भने, ‘जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।’ रासस

प्रतिक्रिया