मत-विमत

देउवाको खराब संकेत

सौर्य अनलाइन २०७८ भदौ २५ गते ७:०८ मा प्रकाशित

अनुषा थापा

शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बने । क्षमता जिरो देखियो । जो मान्छेसँग देश चलाउने क्षमता छैन त्यस्तोलाई सत्तामा चढाउनु भनेको जनताले तिरेको कर सत्यानाश गर्नु र मुलुकलाई बर्बादी बनाउनु मात्रै हो । यसअघि चारचोटि सत्तामा बसेर केही गर्न नसकेको तीन करोड जनताको माननीय प्रधानमन्त्री देउवाले अहिले पनि खराब संकेत देखाइसकेका छन् ।

जनताले हरेक सामान खरिद गरेबापत राज्यलाई राजस्व तिर्छन् । फरक यत्ति हो कि उद्योगपतिहरूले अलि धेरै राजस्व तिर्छन्, भने हामी सर्वसाधारणचाहिँ अलि कम राजस्व तिर्छौं । तर सरकारले तोकेअनुसार राजस्वचाहिँ तिर्छौं नै । हरेक वर्षको जेठ १५ गते सरकारले बजेट भाषण ल्याउँछ । सरकारले बजेट भाषण गर्दा सबैभन्दा बढी खुसी को हुन्छ ? निर्माण व्यवसायी र सरकारी कर्मचारी । बजेट भाषणपछि सरकारी कर्मचारीको तलब भत्ता बढ्छ । यता ठेकेदारवालाहरूले पनि नयाँ नयाँ काम पाउँछन् । प्रत्येक वर्ष बजेट भाषण गर्ने बेलामा ठेकेदारहरूले सामान सिद्धियो भनेर हाहाकार देखाउने गर्छन् । हरेक बजेट भाषणमा ब्यापारीहरूले सामान लुकाउने र सामानको हाहाकार देखाएर सरकारलाई सामानको मूल्य बढाउन लाउने गर्छन् । सरकारले प्रत्येक वर्ष हरेक ठाउँको गल्लीगल्लीलाई पुग्ने गरी जुन बजेट छुट्याउँछ त्यो जनताले तिरेको कर हो । तर जुन पार्टीको सरकार सत्तामा छ, जुन क्षेत्रको सांसद सत्तामा बसेको छ । त्यहीँ सबैभन्दा बढी बजेट विनियोजन हुन्छ । जुन क्षेत्रको सांसद मन्त्री, प्रधानमन्त्री बनेको छ त्यस क्षेत्रको मात्र विकास हुन्छ ।

अझै पनि कतिपय जिल्ला सदरमुकामसम्म सडक संजाल पुगेको छैन भन्ने यथार्थता राजनीतिक दलहरूलाई बढी थाहा होला । सडक नपुगेको जिल्लामा डाक्टर त परै जाओस् कर्मचारी पनि बस्दैनन् । न त्यहाँ बत्तीको सुविधा छ, न त खानेपानीको । शिक्षा र स्वास्थ्यको त कुरै छोडौँ । कतिपय जिल्लामा त फोन गर्नका लागि पनि दुई दिनको बाटो हिँड्नुपर्छ । जुन जिल्लामा विकास भएको छैन त्यही जिल्लामा आवश्यक बजेट छुट्याइदिने हो भने त्यस क्षेत्रको मान्छेले पनि देशमा लोकतन्त्र भएको अनुभूति गर्न पाउँथे कि ? यसमा राजनीतिक दल र सरकारको ध्यान कहिले जाने ? हाम्रो देशमा एउटै मान्छे पटकपटक सत्तामा गएका छन् । मैले बुझेअनुसार एउटै नेता १६ पटकसम्म मन्त्री बनेका छन् रे ! एकचोटी मन्त्री भइसकेपछि त्यो व्यक्तिलाई सत्तामा चढ्न दिनु हँदैन । यसो गर्दा दुर्गम र अविकसित जिल्लाका सांसदहरू पनि मन्त्री बन्न पाउँथे कि ? जोे पार्टीको अध्यक्षको नजिक बस्छ, जसले सभापतिको सपोर्टमा बोल्यो, जो सभापतिको दायाँबायाँको झोले बन्यो उसले मात्र पटकपटक मन्त्रीको पद पायो । अरू दुर्गम क्षेत्रबाट आएका सांसदहरूले मन्त्री बन्ने अवसर पाएनन् । मन्त्री बनेसकेपछि त सबैको हाउभाउ नै फेरियो ।

नेपालको हरेक जिल्लामा बस्ने सर्वसाधारण नेपाली हुन् । तर हरेक पार्टीमा निश्चित नेताहरू मात्र सधँै मन्त्री बन्ने र अरूलाई चाहि ओझेल पारिदिने । सांसद नै ओझेलमा परिसकेपछि त्यो जिल्लाको विकासका लागि को बोल्ने ? केही वर्ष अगाडि एक जना जुम्लाको सांसदले भनेका थिए, ‘प्रधानमन्त्री केपी ओलीले आफ्नो मित्र महेश बस्नेतको वडालाई पुरै जुम्ला जिल्लाभरिलाई पुग्ने जत्ति बजेट खन्याए । ‘यो त एउटा उदाहरण मात्र हो । यस्तै सरकारमा बस्ने हरेक जिल्लाका नेताहरूले आफ्नो क्षेत्रमा मात्र बजेट ओइ¥याएका छन् । शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बने । क्षमता जिरो देखियो । जो मान्छेसँग देश चलाउने क्षमता छैन् त्यस्तोलाई सत्तामा चढाउनु भनेको जनताले तिरेको कर सत्यानाश गर्नु र मुलुकलाई बर्बादी बनाउनु मात्रै हो । प्रधानमन्त्री आफ्नो गृह जिल्लाको लागि मात्रै हुनुहुँदैन, सबै जिल्लाका लागि समान हुनुपर्छ । यसअघि चारचोटि सत्तामा बसेर केही गर्न नसकेको तीन करोड जनताको माननीय प्रधानमन्त्री देउवाले अहिले पनि खराब संकेत देखाइसकेका छन् ।

पार्टीमा बोल्न नसक्नेले दुर्गम ठाउँको सांसदलाई चाहिँ मन्त्री बन्न नदिने । हिजो देशको राजनीति परिवर्तन गर्नका लागि ७७ वटै जिल्लाको हजारौँ मानिस सहिद भए । सहिद भएका व्यक्तिका परिवारले दुईछाक खान पाएका छैनन् । के जनताहरू भ्रष्ट्राचारीहरू सत्तामा चढुन् भनेर सहिद भएका थिए ? राजनीतिको नाममा यस्तो फोहोरी खेल खेल्न यिनीहरूलाई लाज लाग्दैन ? देश विकास गर्छु भनेर त सत्तामा बस्छन् तर सत्तामा पुगेपछि हाम्रो देशका नेताहरूको रूपरंग नै बदलिन्छ । मन्त्रीलाई मन्त्रालयमा आफ्नो फोटो टाँस्दै ठिक्क, यता प्रधानमन्त्रीको पनि त्यही हाल । राजनीतिमा भएको यस्तो बेतिथि जनताले कतिदिन सहने ? शासन व्यवस्था फेरियो, सरकार फेरियो तर सरकार चलाउने पात्र फेरिएन । सरकारको पात्रसँग सरकारको काममा पनि परिवर्तन् आएन् । यस्ता नेताप्रति नेपाली जनतालाई घृणा नै लागेर आइसक्यो ।

वडाध्यक्ष, मेयरहरूले अहिले पनि कानुन मिचेर मिटिङ भत्ता, तलबभत्ता पनि खाइरहेका छन् । अझै सरकारी गाडी पनि चढेका छन् । कामचाहिँ केही नगर्ने अनि सम्पूर्ण सेवासुविधाको भागिदारचाहिँ बन्नुपर्ने ? जनताको काम गर्नका लागि सत्तामा बसेको कि पैसा कमाउन ? पदमा पुग्न पाएका हुँदैनन् आफ्नै लागि सेवासुविधा खोज्नेले पनि देश विकास गर्छन् ? के देश विकास गर्नलाई गाडी र महँगो गलैँचा चाहिन्छ ? खोइ अन्य देशमा मन्त्रीहरू साइकलमा चढेर देशविकास गरेका छन् भने यिनीहरू चाहि पैँदल हिँडेर देशविकास गर्न नहुने । काम पद र कुर्सीले गर्ने होइन् नेता ज्यू । दिमाग र आत्मबल हुनेलाई पदको आवश्यकता नै पर्दैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय