इलाम कांग्रेस सभापतिमा डम्बर खड्काको उम्मेद्वारी घोषणा

इलाम । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा इलामको सभापति पदमा युवा नेता डम्बर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकट खड्काले जिल्ला सभापतिसहित प्रतिनिधसभा क्षेत्रीय सभापति पदमा समेत टिमको तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् । ‘म जिल्ला सभापति पदमा उम्मेदवारी दिँदै छु, जिल्ला कार्यसमितिका लागि अहिले मेरो मात्रै उम्मेदवारी हुन्छ’ खड्काले भने, ‘अन्य पदमा सहमतिको प्रयास भइरहेको छ । सहमति नभए केही समयपछि अन्य पदाधिकारीमा समेत उम्मेदवारी घोषणा गर्नेछु ।’ खड्काले आफू युवाहरूको प्रतिनिधि भएकाले जित निश्चित रहेको दावीसमेत गरे ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका खड्का १३औँ महाधिवेसनमा समेत समापति पदमा उम्मेदवारी दिएका थिए । तर, उनले तेस्रो स्थानमा मात्र पद पाएका थिए । खड्का १२औँ महाधिवेशनमा जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका थिए । यसैबीच खड्काले क्षेत्रीय र पालिकामा समेत आफ्नो टिमको तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नम्बर १ मा सभापति पदमा भीष्म प्रधान र २ को सभापति पदमा मनबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रमा भने खड्काको टिमबाट उम्मेदवारी घोषणा भएको छैन ।

१० वटा पालिका रहेको जिल्लामा ६ वटा पालिकामा समेत खड्काको टिमबाट उम्मेदवारी घोषणा गरेका छन् । इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान र माङसेबुङमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा सहमतिको प्रयास भइरहेकाले अहिले सभापतिको उम्मेद्वार घोषणा नभएको खड्काले जानकारी दिए । सहमति नभए आफ्नो टिमबाट उम्मेदवारी दिने उनको भनाइ छ ।

इलाममा कांग्रेसको सभापतिका लागि चार जना आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीन जनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् । कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ । पालिकाको अधिवेशन भदौ २७, प्रदेश क्षेत्रीय अधिवेसन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ५ र जिल्ला अधिवेशन असोज १० मा हुँदैछ ।

प्रतिक्रिया