एनआरएनए अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाललाई सघाउन करिब रु तीन करोड १६ लाखभन्दा बढीको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ ।

ती सामग्री गत शुक्रबार अमेरिकी सेनाको जहाजमार्फत नेपालका लागि पठाइएको र मङ्गलबार नेपाल आइपुग्ने समय तालिका रहेको गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए ।

ती सामग्रीमा अक्सिजन कन्सन्टे«टर, अक्सिजन पल्स अक्सिमिटर, भोल्ट स्टेप अपडाउन ट्रास्फरमर, एन ९५ मास्क, फेस सिल्ड, विभिन्न आकारका सर्जिकल गाउन सुटलगायत रहेका छन् ।

विपतको समयमा सहयोग स्वरुप नेपाल पठाउने उपकरण र सामग्री निःशुल्क ढुवानी गरिदिन अमेरिकी रक्षा मन्त्रालय मातहतको निकायसँग सहमति भएको सो संघले जनाएको छ ।

यसका लागि अमेरिकास्थित नेपाली दूतावासले पनि सहयोग गरेको थियो । अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च निकै महँगो रहेकाले अमेरिकामा रहेका नेपालीहरुले विसं २०७२ को भूकम्प या गत वर्षदेखि सुरु भएको कोरोना महामारीसम्बन्धी स्वास्थ्य सामग्री नेपाल पठाउन नसकिएको तर यसपटक भने अमेरिकी रक्षा मन्त्रालयसँगको विशेष सहमतिमा अमेरिकी जहाजमार्फत नै सामग्री पठाइएको अध्यक्ष सुवेदीले बताए ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापाले पहिलो लटको यो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेपछि छिट्टै नै दोस्रो लटमा करिब रु १० करोडको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाउने गृहकार्य सुरु गरिसकिएको बताए ।

गैरआवासीय नेपाली संघ अमेरिका र अमेरिकी रक्षा मन्त्रालयबीच नेपालसम्म स्वास्थ्य सामग्री ढुवानी गर्ने सम्बन्धमा भएको यो सहमतिलाई अमेरिकामा रहेका नेपालीले ठूलो उपलब्धि भनेका छन् ।

अमेरिकामा रहेका परमाणु बैज्ञानिक डा. यादव पण्डितले सहयोग सामग्री कति मूल्य बराबरको हो भन्ने भन्दा पनि विपदमा एनआरएनए अमेरिकाले सहयोग स्वरुप पठाउने सामान अमेरिकी सेनाको जहाजले नेपालसम्म निःशुल्क ढुवानी गर्नुलाई एक महत्वपूर्ण उपलब्धि मान्नुपर्ने बताएको एनआरएनए अमेरिकाले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया