काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएको भन्दै पाँच जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । साहित्य सन्ध्याले भर्चुअल माध्यमबाट विशेष गोष्ठीको आयोजना गरी अनिता लामा, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.शेषराज आचार्य, प्रतीक ढकाल र तिलबहादुर कार्कीलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको हो । सन्ध्याको कार्यसमितिले उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी रहेको तीन सदस्यीय ‘स्रष्टा चयन समिति’ बनाएको थियो । सो समितिले गरेको सिफारिसका आधारमा साहित्य सन्ध्याले पाँचजना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष राम विनयले जानकारी दिए । जसमा १५ हजार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्राप्त गर्ने अनिता लामा र पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्राप्त गर्ने डा.राजेन्द्रप्रसाद अधिकारीको व्यक्तित्वका बारेमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले चर्चा गरेका थिए ।
चयन समिति सदस्य विधान आचार्यले दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित डा.शेषराज आचार्य र दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाइँ पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित नियात्राकार प्रतीक ढकालको व्यक्तित्वका बारेमा प्रकाश पारे । सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित तिलबहादुर कार्कीको व्यक्तित्वको चर्चा गरेकी थिइन् ।
परिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमिले सन्ध्याका कार्यक्रममा पारिजातले आफ्ना कविता भन्ने, अरूका सुन्ने र परिमार्जनका लागि प्रोत्साहित गर्ने काम गरेको सम्झिए । उनले पारिजात अलग्गै विचार बोक्ने भए पनि साहित्य सन्ध्यालाई साझा थलो ठान्ने गरेको बताउँदै त्यसैले पारिजात सबै प्रगतिशील स्रष्टाकी साझा व्यक्तित्व बन्न पुगेको धारणा राखे । सायमिले भने, ‘साहित्य सन्ध्याले आफ्नो अभियानलाई यति लामो समयसम्म निरन्तरता दिइरहेको कार्य पनि निकै अनुकरणीय छ ।’ कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आफूहरुले नेपाली भाषा बचाऊ अभियानको रूपमा राजविराजमा २०३३ सालमा साहित्य सन्ध्या स्थापना गरेको सम्झिए । उनले भने, ‘त्यहाँबाट हामी तथा विद्यार्थी काठमाडौं सरेपछि सामाजिक रूपान्तरणको साहित्यिक वैचारिक अभियानका रूपमा उद्देश्यमूलक ढंगले अगाडि बढेको, लेखनको कार्यशालाका रूपमा स्थापित भएको, पुरस्कार दिने संस्थाका रूपमा चिनिएको, प्रकाशन संस्था बनेकोमा मलाई औधि खुसी लागेको छ ।’
सन्ध्याका अध्यक्ष राम विनयले पुरस्कृत व्यक्तित्वका बारेमा चर्चा गर्दै आगामी दिनमा संस्थाले अझै प्रभावकारी र सिर्जनात्मक कार्यक्रम गर्ने बताए । पारिजातको प्रेरणा साहित्य सन्ध्याले आजपर्यन्त ग्रहण गरिरहेको जनाउँदै उनले अग्रज श्यामप्रसाद, जनकप्रसाद हुमागाइँ, केवलपुरे किसान, गोविन्द भट्ट लगायतको यो संस्थामा विशेष योगदान रहेको विचार राखे ।
प्रतिक्रिया