भारततर्फको सीमानाका खुला

सर्लाही । वैश्विक रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ०७६ चैत ११ देखि हालसम्म नेपाल भारत सीमानाका सिल गरिएको छ । तर, सर्लाहीमा भने ०७८ भदौ ११ शुक्रबारदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मलंगवा–सोनबरसाको मुख्य सिमानाका हनुमान चोक प्रत्येक दिन १० बजेदेखि २ बजेसम्मका लागि खुल्ला गरिदिएका छन् । केही दिनदेखिको निरन्तर वर्षाका कारण मलंगवा–सोनबरसाको मुख्य सीमानाका हनुमान चोक बाहेकका गोरेटो बाटोहरू जलमग्न भएको छ । वृद्धवृद्धा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई भारत आवतजावत गर्नमा धेरै नै कठिनाइ भएकोले आवतजावतमा सहज होस् भन्ने उद्देश्यले प्रत्येक दिन १० बजेदेखि २ बजेसम्म चार घन्टाका लागि मुख्य सीमानाका खोलिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरी स्रोतले जानकारी गराएका छन् ।

भारत–नेपाल दुईतर्फी आवागमनमा कोभिड–१९ को मापदण्डलाई पूर्ण रूपले अनिवार्य पालना गर्ने गराउने गरी पैदल यात्रीको हकमा मात्र आवागमन सुचारु गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरी स्रोतले बताए । तर, नेपालतर्फबाट भने आवागमनमा रोकावट कायमै रहेको छ । मलंगवा–सोनबरसाको मुख्य सीमानाकामा नेपालतर्फको ढाट खोलिएको छैन । भारत–नेपाल दुईतर्फी आवतजावत गर्ने मानिसहरूलाई सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलंगवाले रोकेको छ । यद्यपि नेपालतर्फबाट आवतजावत गर्ने मानिसहरू सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलंगवाको छेउछाउको बाटो प्रयोग गर्दै आएका छन् । यस विषयमा प्रतिक्रियाका लागि सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनलेसीमाको हकमा निर्णय गर्ने अधिकारिक निकाय गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय भएकोले यस विषयमा माथिल्लो निकायसँग समन्वय भइरहेको बताए ।

प्रतिक्रिया