काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आइतबार बिहान माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुंगा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका २८ वर्षीय सरोजकुमार साह रहेका छन् ।
मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलका पछाडि सवार रहेका धनुषाको रामानन्दचोक घर भएका ३० वर्षीय सतिसकुमार साह भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ ।
पहिरोको कारण अबरुद्ध सडक विपद् व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली, स्थानीय र सरोकारवाला निकायहरूको पहलमा हटाई सवारी सुचारु गरिएको छ । त्यसैगरी अरनिको राजमार्ग धुलिखेल नगरपालिकास्थित तिरतिरे धारा, पाँचखाल नगरपालिकास्थित खाँवा केराघारी, हनुमानगढीस्थित सडकखण्ड आसपासका रुखहरू ढल्दा र पहिरो आउँदा अवरुद्ध भएको सडक प्रहरी कार्यलयबाट खटिएको विपद् व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली, स्थानीय र सरोकारवाला निकायहरूको पहलमा हटाइए पश्चात दुवैतर्फ सवारी सुचारु गरिएको हो ।
प्रतिक्रिया