काठमाडौं । आफ्ना व्यवसायमा सरकारले ध्यान नदिएको भन्दै व्यवसाय सञ्चालनको माग गर्दै दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काली प्रसाद पराजुलीलाई साँचो बुझाएका छन् ।
आइतबार (आज) रात्रिकालिन व्यवसायी व्यवस्थापनका संयोजक विनोद श्रेष्ठको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी पराजुलीलाई भेटेर आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएको सञ्चारकर्मी राजकुमार रायमाझीले जानकारी दिए ।
व्यवसायीहरुले बुझाएको पत्रमा भनिएको छ, ‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन्, तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौँ ।’
कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले गत चैतमा सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाएको थियो ।
तर, संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र खुले पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय भने हालसम्म बन्द छ। व्यवसायीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋणलगायतको आफूहरुको दायित्वको जिम्मा लिन पनि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पराजुलीले सकेसम्म छिट्टै व्यवसायीहरुको मागलाई सम्बोधन गरेर मापदण्द अनुसार व्यवसाय सञ्चालनमा अनुमती दिने प्रतिक्रिया दिएको सञ्चारकर्मी रायमाझीले बताए ।
प्रतिक्रिया