भारततर्फबाट मुख्य सीमानाका खुल्ला, नेपालतर्फबाट भने बन्द कायमै

सर्लाही । विश्वरुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि हालसम्म नेपाल भारत सीमानाका सिल गरिएको छ ।

तर, सर्लाहीमा भने २०७८ भदौ ११ गते शुक्रबारदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मलङ्ग्वा–सोनबरसाको मुख्य सीमानाका हनुमान चौक प्रत्येक दिन १० बजेदेखि २ बजेसम्मको लागि खुल्ला गरिदिएको छ ।

केही दिन देखिको निरन्तर वर्षाका कारण मलङ्ग्वा – सोनबरसाको मुख्य सीमानाका हनुमान चौक बाहेकका गोरेटो बाटोहरु जलमग्न भएको छ ।

बृद्ध–बृद्धा तथा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई भारत आवतजावत गर्नमा धेरैनै कठिनाइ भएकोले आवतजावतमा सहज होस भन्ने उदेश्यले प्रत्येक दिन १० बजेदेखि २ बजेसम्म ४ घन्टाका लागि मुख्य सीमानाका खोलिएको भारतीय सिमा सुरक्षा बल (एसएसबी) प्रहरी स्रोतले जानकारी गराएको छ ।

भारत–नेपाल दुइतर्फी आवागमनमा कोरोना भाइरसको मापदण्डलाई पूर्णरुपले अनिवार्य पालना गर्ने–गराउने गरि पैदल यात्रीको हकमा मात्र आवागमन सूचारु गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरी स्रोतले जनाएको छ ।

तर, नेपालतर्फबाट भने आवागमनमा रोकावट कायमै रहेको छ । मलङ्ग्वा–सोनबरसाको मुख्य सीमानाकामा नेपालतर्फको ढाट खोलिएको छैन । भारत–नेपाल दुइतर्फी आवतजावत गर्ने मानिसहरुलाई सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाले रोकेका छन् ।

यद्यपि नेपालतर्फबाट आवतजावत गर्ने मानिसहरु सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाको छेउछाउको बाटो प्रयोग गर्दै अएका छन् ।

यस विषयमा प्रतिक्रियाका लागि सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने सीमाको हकमा निर्णय गर्ने अधिकारीक निकाय गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय भएकोले यस विषयमा माथिल्लो निकायसँग समन्वय भइरहेको बताए ।

प्रतिक्रिया