नेपालको चिया र कफी अब इजरायली बजारमा

दोहा । इजरायलले नेपालबाट चिया, कफी, चामललगायतका खाद्यवस्तु लैजाने भएको छ । इजरायलले निर्यातयोग्य नेपाली वस्तु तथा उत्पादन आयात गर्न चाहने इजरायलीहरु खोजी गर्ने क्रममा केही आयातकर्ताहरुको पहिचान गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुले हालै मात्र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग दूतावासमा भेटेर नेपालबाट चिया र कफीका साथै चामल, दलहन (मास, मुसुरो, चना, राज्मा, बकुल्ला, बोडीलगायतका गेडागुडी) आयात गर्ने बताएका छन् ।

यसैगरी उनीहरुले मसलाजन्य उत्पादनहरु (सुकमेल, अलैँची, दालचीनी, मरिच, टिमुर, अदुवा, आदि) आयात गर्ने ईच्छा देखाएको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरुको माग सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघलाई जानकारी गराइएको छ । नेपाली वस्तु तथा उत्पादन इजरायलमा निर्यात गर्नु परे दूतावासमा सम्पर्क गर्न राजदूत शाक्यले आग्रह गरेकी छन् ।

प्रतिक्रिया