अफगानिस्तानको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तानमा भएको पछिल्लो राजनीतिक घटनाप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष दाहालले तालीवानी लडाकु समूहले २० वर्षे विद्रोहपछि अफगानिस्तानमा कब्जा जमाएका छन् । सोही विषयमा केन्द्रीत रहेर त्यहाँ रहेका नेपालीको उद्धार गर्न सरकारले प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

तालिवान विद्रोहीले कब्जा जमाएपछि प्रचण्डले त्यहाँ रहेको नेपालीहरुको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।

उनले आज फेसबुकमा लेखेका छन्, ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’

साथै, अध्यक्ष दाहालले अफगानिस्तानमा रहेको नेपाली फिर्ता ल्याउने विषयमा आफू र पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि उल्लेख गरेका छन् । अमेरिकी सेनाले अफगानीस्तान छाडेपछि तालीवान समूह कब्जा जमाउन सफल भएको छ ।

उक्त देशका सम्पूर्ण शहरहरुमा कब्जा जमाउँदै आएको लडाकु समूहले आइतबार मात्रै राजधानी काबुलमा समेत प्रवेश गरेर राष्ट्रपति कार्यालय घेरिसकेको छ । आइतबार नै अफगानी राष्ट्रपति अशरफ घानीले देश छाडेर भागीसकेका छन् ।

प्रतिक्रिया