अदुवा खेतीबाट आम्दानी बढ्दै, किसान उत्साहित

धनगढी । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवा खेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनले भने, ‘आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ ।’

कतारमा ३ वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आफ्नै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरू गरेका छन् । ‘आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु,’ उनले भने, ‘खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु ।’ उनले ३ वर्ष मलेसियामा समेत काम गरेका थिए ।

सो क्षेत्रको जग्गा अदुवा खेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउँछन् । गाउँपालिका कार्यालयले अदुवा खेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ । ‘छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौं,’ वडाध्यक्ष शाहले भने, ‘अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ ।’

अदुवाको सुठो (चना) बनाएर बिक्री गर्दा समेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ । कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन् । सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ । काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ । – रासस

प्रतिक्रिया