प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनु भएको छ । कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया