वेस्टइन्डिजले अष्ट्रेलियालाई हरायो

सिड्नी । निकोलस पुरन र जेसन होल्डरले मध्यक्रममा उत्कृष्ट साझेदारी गरेपछि वेस्टइन्डिजले अष्ट्रेलियालाई दोस्रो ओडीआइमा ४ विकेटले हराउँदै सिरिज बराबरी गरेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य वेस्टइन्डिजले ३८ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्यो । वेस्टइन्डिजको जितमा जेसन होल्डर र निकोलस पुरनले छैटौं विकेटका लागि ९३ रनको साझेदारी गरे । होल्डरले ६९ बलमा ५ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए । पुरन ५९ रनमम नटआउट रहे । उनले ७५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

ब्रिजटाउनमा सिरिज बराबर गर्ने लक्ष्यसाथ उत्रिएको वेस्टइन्डिजले कमजोर सुरुवात गरेको थियो । मिचेल स्टार्कले तेस्रो ओभरमा एभिन लेविसलाई १ रनमा एलबीडब्लु आउट गरे । लगत्तै अर्को ओभरमा स्टार्कले नै ड्यारेन ब्राभोलाई बोल्ड गर्दै गोल्डेन डकमा पेभेलियन फर्काए ।
११–२ को स्थितिमा रहेको वेस्टइन्डिज नवौं ओभरमा जेसन महमुद (११) एडम जाम्पाको बलमा बोल्ड हुँदा ४७–३ को स्थितिमा पुगेको थियो । एस्टन टर्नरले शाइ होपलाई ३८ रनमा बोल्ड गरेपछि लगत्तै अर्को ओभरमा काइरन पोलार्ड पनि २ रनमा पेभेलियन फर्किए । जाम्पाले कप्तान पोलार्डलाई बोल्ड गर्दा वेस्टइन्डिज ७२–५ को स्थितिमा थियो । त्यसपछि पुरन र होल्डरले सानदार साझेदारी गर्दै जित पक्का गरे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले खराब सुरुवात गरेपनि तल्लोक्रमका ब्याट्सम्यानले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए । पाहुना टोलीले ४७.१ ओभरमा अलआउट हुनुअघि १ सय ८७ रन जोडेको थियो । शेल्डन कटरेलले गरेको पहिलो ओभरमा नै ओपनर बेन मक्डरमटलाई शून्यमा गुमाएको अष्ट्रेलियाले २३ रनको स्थितिमा अर्का ओपनर जोश फिलिपे (१६) लाई पनि गुमायो । फिलिपे अल्जारी जोसेफको बलमा क्याच आउट भए ।

लगत्तै अर्को ओभरमा मिचेल मार्श ८ रन जोड्दै जेसन होल्डरको शिकार भएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । कप्तान एलेक्स केरी १० रन जोड्दै ११ औं ओभरमा अकिल होसेनबाट बोल्ड भएपछि अष्ट्रेलिया ४१–४ को स्थितिमा पुग्यो । होसेनले नै १३ औं ओभरमा मोसेस हेनरिकेस (४) र एस्टन टर्नर (१) लाई पेभेलियन पठाउँदै अष्ट्रेलियालाई ४५–६ को दयनीय स्थितिमा पुर्याए ।

सातौं विकेटका लागि म्याथ्यु वेड र मिचेल स्टार्कले ५१ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अग्रसर गराएका थिए । स्टार्क १९ रन जोड्दै हेडन वाल्स जुनिअरको एलबीडब्लु धरापमा परे । वेड पनि ३६ रन जोड्दै जोसेफको बलमा क्याच आउट भए ।

नवौं विकेटका लागि वेस एगर र एडम जाम्पाले ५९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए । एगरले ३६ बलमा ३ चौका र २ छक्कासहित ४१ रन जोडे । जाम्पाले ६२ बलमा ४ चौका प्रहार गर्दै ३६ रनको योगदान दिए । वेस्टइन्डिजका जोसेफ र होसेनले ३–३ तथा कटरेलले २ विकेट लिए । वाल्स र होल्डरको नाम १–१ विकेट रहयो ।

यससँगै ३ खेलको ओडीआई सिरिज १–१ को बराबर भएको छ । तेस्रो तथा निर्णायक खेल सोमबार राती हुनेछ । यसअघि कोरोना संक्रमणका कारण दोस्रो खेल २ दिन पछि सरेको हो । यसअघि टि२० सिरिज भने वेस्टइन्डिजले ४–१ ले जितेको थियो ।

प्रतिक्रिया