सहिदको सम्मानमा मूर्ति निर्माण

तनहुँ । नेपालको राजनीतिक परिवर्तनमा ज्यान गुमाएका सहिदको सम्मानमा मूर्ति निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित हलेदीमा जनयुद्धका सहिदको सम्मानमा प्रतीकात्मक मूर्ति निर्माण गरिएको हो । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भमाथि बन्दुक बोकेका महिला र पुरुषको प्रतीकात्मक मूर्ति निर्माण गरिएको मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार महिलाको साढे पाँच फिट र पुरुषको छ फिटको अग्लो मूर्ति राखिएको छ ।

सहिद स्मृति पार्क संरक्षण समितिका सचिव सोमलाल रिमालले सहिदको बलिदानलाई सम्मान गर्दै र इतिहासलाई जीवन्त राख्न मूर्ति निर्माण गरिएको बताए । उनले करिब ४३ रोपनी सार्वजनिक जग्गामा सहिद पार्क निर्माण गरिएको जनाए । उक्त पार्कभित्र विभिन्न जातका फूल तथा बिरुवा रोप्ने कार्यसमेत सम्पन्न भइसकेको छ । स्तम्भ र मूर्तिमा रङरोगन लगायतका काम सम्पन्नपश्चात् अनावरण गर्ने कार्यक्रम रहेको सो समितिले जनाएको छ । यहाँ घर भई विभिन्न स्थानमा गएर सहादत प्राप्त गरेका ६३ सहिद भएका र राज्यबाट १६ व्यक्ति बेपत्ता बनाइएको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पाँच लाख गरी कूल ३० लाखको लागतमा प्रवेशद्वार, बाटो, स्तम्भ तथा मूर्ति निर्माण लगायतका कार्य गरिएको सहिद स्मृति पार्क संरक्षण समितिका अध्यक्ष दिनेश गौतमले जानकारी दिए । सहिदको सम्झनामा पार्क निर्माण गरिएकाले आगामी दिनमा यसको विकासका लागि प्रदेश र संघीय सरकारसँग हातेमालो गर्दै अघि बढ्ने योजना रहेको उनले बताए ।

महिला र पुरुष गरी दुई व्यक्तिको मूर्ति निर्माण गर्दा चार महिना समय लागेको मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले जानकारी दिए । उनले करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेपछि उक्त प्रतिकात्मक मूर्ति राख्ने कार्य सम्पन्न भएको बताए । ढलौटबाट निर्माण गरिएका दुई मूर्ति करिब ३५० किलोग्राम रहेका छन् । मूर्तिकार श्रेष्ठले भने, ‘उक्त मूर्ति तयार गर्दासम्म करिब २१ लाख खर्च भएको छ ।’ मूर्तिकार श्रेष्ठले यसअघि प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही देवीको मूर्ति निर्माण गरिसकेका छन् । उनले साना ठूला गरी हालसम्म करिब सयभन्दा बढी मूर्ति निर्माण गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया