बद्रीले ल्याए ठ्यौको

बाँके । बद्री ढकाल ‘हिरामणि’ को हाइकु संग्रह ‘ठ्यौको’ बजारमा आएको छ । समसामयिक परिवेशका हाइकु रहेको यस संग्रहलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । साहित्यकार महानन्द ढकालले ‘हिरामणि’ हाइकु लेख्ने एक अब्बल सर्जक भएको बताए । उनका अनुसार हिरामणि एक अनुसन्धानकर्ता पनि हुन् । उनको निकै लामो समयको लगन, मिहिनेतले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानबाट प्रकाशित भएको प्रतिनिधि हाइकु संग्रह (२०७७) प्रकाशित भएको छ । साहित्यकार महानन्दले भने, ‘हिरामणिको हाइकुप्रतिको लगावले बाँकेमा एक किसिमको उभार नै आएको छ । लेखन सक्रियताले पश्चिमक्षेत्रमा हाइकु लेखनको प्रभाव विस्तार व्यापक रुपमा फैलिँदै गएको छ ।’

साहित्यकार महानन्द ढकालले लघुकविता हाइकु साहित्यको सटिक विधा भएको बताए । उनका अनुसार हिरामणि बाँके जिल्लाको साहित्यमा परिचित नाम हो । ठ्यौको अर्थात् सुकेको रुखको टुक्रासँग हिरामणिले नेपाली साहित्यलाई तुलना गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष प्रकाश माइला पौडेलले बताए । उनले हिरामणिको हाइकु संग्रहले त्यही ठ्यौको बालेको याद दिलाएको भूमिकामा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो शब्दचयन मलाई असाध्यै मन प¥यो । यस अर्थमा ठ्यौको हाइकु संग्रह आफैंमा प्राकृतिक किगोलाई समात्न सफल भएको छ ।’

माइलाले जाडोमा ठ्यौको बालेर छिमेकीसँग राजनीतिका गफ चुट्ने नेपाली संस्कार बनिसकेको जनाउँदै वि.सं. २०४६ सालको परिवर्तन पछिको खुल्ला वातावरणमा यसको भरपुर प्रयोग भएको उल्लेख गरेका छन् । उनले त्यसअघि पनि यस्ता ठ्यौका ताप्दै गाउँघरतिर धेरै गीत गाइएको र दोहोरी पनि खेलिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विशेषतः जाडोमा रातभर नाच्न गाउँन पनि यस्ता ठ्यौकोको तातोले काम गरेको छ ।’ साहित्यकार हिरामणि हाइकुमा अघि बढ्दै गरेका कवि भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले बताए । उनले हिरामणिको ठ्यौको द्धिभाषी हाइकु संग्रह पठनीय रहेको विचार व्यक्त गरे । हाइकुकार हिरामणिले आफू समसामयिक विषयमा केन्द्रित रहेर हाइकु लेखेको सुनाए ।

कोहलपुर ३ का ‘हिरामणि’ जनता माविका प्रधानाध्यापक समेत हुन् । यसअघि उनको पहिलो हाइकु कृति ‘दाम पूजा’ (२०७०) मा प्रकाशित भएको थियो । यस्तै, उनको प्रतिनिधि हाइकुहरू २०७७ (संयुक्त) कृति प्रकाशित छ । उनी प्रतिनिधि हाइकुका सम्पादकसमेत हुन् ।
उनी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्धारा प्रकाशित ‘पूर्णिमा हाइकु विशेषांक २०७६’ का संकलन संयोजकसमेत रहेका छन् । नेपाल हाइकु केन्द्र बाँकेका संस्थापक अध्यक्षसमेत रहेका उनी सहिद स्मृति केन्द्र नेपाल, भेरी साहित्य समाज र मधुरिमा नेपाल कला केन्द्र बाँकेमा समेत आबद्ध रहेर निरन्तर सिर्जना यात्रामा क्रियाशील छन् । एमएससी, एमए, बिएडसम्म अध्ययन पूरा गरेका छन् । उनको ‘ठेयौको’ संग्रहको नेपाली र अंग्रेजी भाषामा प्रकाशित कृतिको अंग्रेजी अनुवाद बि.एल. भारती र विजय न्यौपानेले गरेका छन् । भाषा शुद्धि महानन्द ढकालको रहेको छ ।

प्रतिक्रिया