सरकारको पहिलो प्राथमिकता खोप : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिँदै सरकारको प्राथमिकता खोप भएको बताए । अहिले कोरोनाविरूद्धको खोप ल्याउनु सरकारको मुख्य चुनौती रहेको बताउँदै प्रधानमन्त्री देउवाले ऋण वा सापटी लिएर जहाँ–जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउने धारणा राखे । उनले भने, ‘हामी ऋण लिएर भए पनि, जति महँगो भए पनि किनेर जनतालाई खोप पु¥याउने प्रतिबद्धता पूरा गर्छौं ।’ सरकारमा धेरै अनुभवी राजनीतिज्ञ रहेको बताउँदै देउवाले भने, ‘संयुक्त सरकार छ, अनुभवी नेता हुनुहुन्छ, पुष्पकमल दाहालजी, उपेन्द्र यादवजीहरू हुनुहुन्छ । धेरै सांसदको समर्थन प्राप्त भएको छ, सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची थियो । खासगरी यस्ता बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासहित सबै राजनीतिक दलका नेता उपस्थित हुने प्रचलन रहिआएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको उपस्थित थिएन । प्रमुख प्रतिपक्षी दलको तर्फबाट एमाले संसदीय दलका उपनेता नेम्वाङले देउवालाई बधाई तथा शुभकामना दिए । बैठकमा नेम्वाङले राजनीतिक दलहरूले नयाँ संस्कृति निर्माण गर्नुपर्ने धारणा राखेका थिए । तर, उनी भने प्रधानमन्त्रीमाथि आफूले उठाएका प्रश्नको जवाफ नसुनी बैठक छोडेर बाहिरिएका थिए । जवाफ दिनेक्रममा देउवाले भने, ‘यहाँ विपक्षी दलका नेता हुनुहुन्न । उपनेता, पूर्वसभामुख पनि आफूले बोलेर संस्कृतिका कुरा गरेर जवाफ नसुनीकन हिँड्नुभयो ।’

प्रधानमन्त्री देउवाले नेम्वाङले सरकारलाई दिएको सुझाव भने मननयोग्य भएको बताए । आफ्नो कार्यकाल एक वर्ष पाँच÷सात महिना मात्र रहने जनाउँदै उनले यो अवधिमा देखिने गरी काम गर्ने जिकिर गरे । यसैबीच प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी दल नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले कानुनी तथा सैंवधानिक प्रश्न उठाएका थिए । उनले करिब ५० मिनेट लामो भाषणमा आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । संविधानसभाका अध्यक्षसमेत रहेका एमाले उपनेता नेम्वाङलाई देउवाले जवाफ दिनेक्रममा ‘संविधानको धारा ७६(५) किन लेख्नुभयो ?’ भनेर प्रश्न उठाए ।

जवाफ दिनेक्रममा देउवाले संविधानको धारा ७६ (५) किन राखेको भनेर संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई सोध्न खोजेको तर उनी जवाफ नै नसुनी प्रतिनिधिसभा बैठकबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । नेम्वाङ स्वयंले संविधान निर्माण भएपछि सार्वजनिक रूपमा संसद भंग हुने छैन भनेको प्रसंंग कोट्याउँदै प्रधानमन्त्री देउवाले भने, ‘उहाँले अब कहिले पनि यो संविधान भत्किने छैन, संसद् विघटन हुने छैन भनेको झल्झली सम्झन्छु ।’

उनले नयाँ सरकार गठनका क्रममा जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि संसद् सदस्यले बहुमत पु¥याउन सक्छ भने दाबी गर्न आह्वान गरेको र सोहीअनुसार आफूहरू बहुमत सांसदको हस्ताक्षर लिएर गएको बताए । तर, राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेर संसद्मा विश्वासको मत लिन पठाउनुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सांसदहरूको सनाखत गर्न सक्नेमा पनि त्यो पनि नगरिएको बताए ।

प्रधानमन्त्री देउवाले नेम्वाङले आफ्नो दलका सांसदलाई फ्लोरक्रस गराउने तर कांग्रेस र माओवादीले ह्विप जारी गरेको प्रश्नको समेत खण्डन गरे । उनले संविधान बनाउने क्रममा धारा ७६(५) किन लेखियो भनेर प्रष्ट पार्नुपर्ने पूर्वसभामुख नेम्वाङले ह्विप लगायो भनेर आरोपित गरेको जिकिर गरे । उनले भने, ‘पार्टी सांसदलाई काठमाडौं आइदिनुस् भन्नु ह्विप लगाएको होइन नि ।’

प्रतिक्रिया