‘कन्था’ बजारमा

काठमाडौं । साहित्यकार भाइदाजुद्वारा लिखित कथा संग्रह ‘कन्था’ बजारमा आएको छ । लामो समयबाट शिक्षण पेसामा आबद्ध रहेका भाइदाजुको यसअघि ‘उज्यालो खोज्दा’ कथा संग्रह प्रकाशित भइसकेको छ । उनको कथामा समाजको चित्रण पाइन्छ । नेपाली समाज र भूगोलका विषयलाई कलात्मक ढंगले कथामा उधिनेको पाइन्छ । सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उनका कथाको भूगोलले पनि बताउँछन् ।

उनका कथामा भेटिएका पात्रहरू हाम्रो आँखा वरपर हिँड्नेहरू छन् । उनले ग्रामीण भेगमा देखेको र भोगेको मनोवृत्ति र घटनाक्रमका विषयलाई नै कथामा उतारेका छन् । उनका कथाको प्राण भनेकै ग्रामीण परिवेश त्यहाँको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक विषय हुन् । कथामा नेपाली समाजको यथार्थ परिवेश रहेको प्रकाशक पुष्पराज पौडेलले बताए । उनले ग्रामीण सौन्दर्य नै भाइदाजुको कथाको श्वास रहेको जिकिर गरे । शिखा बुक्सले प्रकाशित गरेको यस संग्रहको मूल्य २५० रहेको छ ।

प्रतिक्रिया