रहेनन् कलाकार उत्तम

काठमाडौं । चित्रले धेरै कुरा भनिरहेझैँ वा बोलिरहेझैँ लाग्ने गरी क्यानभास रङ्ग््याउन सिद्धहस्त नेपाली आधुनिक चित्रकलाका मूर्धन्य व्यक्तिको नाम हो उत्तम नेपाली । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनका बेला प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत भएका नेपाली जीवनको उत्तराद्र्धमा लाग्दा रोगले थलिए । सकुञ्जेल जीवनलाई क्यानभासबाट टाढा जान दिएनन् । क्यानभासलाई त्यही युवा जोशमा रङ्गाउन नसके पनि अन्य कलाकारका लागि प्रेरणाको स्रोत नेपाली रङ्गिएका क्यानभास ललितकला क्षेत्रलाई छाडेर बुधबार सदाका लागि बिदा भएका छन् ।

कला, साहित्य र चलचित्रमा समेत राम्रो दख्खल राख्ने उनको मुख्य पेशा भने आधुनिक चित्रकला नै थियो । सुरुसुरुमा मानिसले बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उनको महत्वपूर्ण योगदान छ । नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पु¥याएका नेपालीको ८४ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान ४ः३० बजे कलाकार नेपालीको निधन भएको परिवारले जनाएको छ । उनलाई तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या थियो ।
श्वासप्रश्वास समस्याका कारण निधन भएको उत्तमका ज्वाइँ सुनिल रञ्जीतले जानकारी दिए । उनमा मुटुलगायत अन्य रोगसमेत थियो । काठमाडौं महानगरपालिका–३ बाँसबारी घर भएका नेपालीका श्रीमती मन्दिरासहित दुई छोरा उद्यमप्रसाद र सुुद्यमप्रसाद तथा दुई छोरी ममता र प्रकृति छन् । अमेरिकामा रहँदा पाँच वर्षअघि उनमा हृदयाघात भएको थियो । अमेरिकामा उत्कृष्ट उपचार सेवा प्राप्त हुँदा बाँच्न सफल भएको सुनिलले सुनाए । त्यसपछि शरीर विस्तारै कमजोर हुँदै गएको थियो ।

बीचमा नेपाल आएर केही समय बसेपछि उनी पुनः अमेरिका फर्किएका थिए । अमेरिकामा रहँदा श्वासप्रश्वासमा समस्या देखिएपछि विना अक्सिजन बस्न नसक्ने भएका थिए । आफ्नै भूमिमा मृत्युवरण गर्ने उनकै इच्छाअनुसार तीन महिनाअघि उपकरणको सहायतामा नेपाल ल्याइएको थियो । गएको २० दिनअघि स्वास्थ्य समस्या थप बढेपछि चिरायु अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले ललितकलाको विकासमा उनले दिएको योगदान महत्वपूर्ण रहेको र उनको निधनले कला क्षेत्रमा ठूलो क्षति पुगेको बताए । कलासँगै, चलचित्र र साहित्यमा समेत उनको योगदान छ । उनले गीत र भजनसमेत लेखेका थिए । साहित्यकार ध्रुवचन्द्र गौतम र शंकर लामिछानेसँग धेरै नजिक भएर काम गरेका नेपालीले नेपालको पहिलो चलचित्र ‘आमा’ र अर्काे चलचित्र ‘हिजो आज भोलि’ मा अभिनय गरेका थिए । हिजो आज भोलिमा प्रमुख खलनायक भएर खेलेको ज्वाइँ सुनिलले सुनाए । उनको मुख्य पेशा भनेको चित्रकला नै हो । मुलुकमा नेपाली आधुनिक कला भित्र्याउनमा उनको ठूलो भूमिका रहेको चित्रकार स्मरण गर्छन् ।

उनको पहिलो चित्रकला प्रदर्शनीको उद्घाटन तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले गरेका थिए । कलाकार तथा कला समीक्षक मुकेश मल्लले उनको कला जीवनीको बारेमा पुस्तक नै लेखेका छन् । उनी जिउँदै हुँदा उक्त पुस्तक विमोचन गर्ने प्रतिष्ठानको योजना अधूरै भए पनि पछि विमोचन गर्ने कुलपति कर्माचार्यले बताए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए । उनी लगायतको कलाकारको समूहले दिग्गज कविका रचनाको आधारमा चित्रकलासमेत रचना गरेका थिए । कलामा कविता उतार्ने छुट्टै पहिचानसमेत उनमा थियो । विसं २०६१ मा ‘उत्तम नेपालीका कविता’ पुस्तकसमेत प्रकाशित छ । कविताको भाव, स्रष्टा, लेखकलाई समेत चित्रमा उतारेर उनले नयाँ नयाँ प्रयोग गरेका थिए । आधुनिक अमूर्त चित्रकलालाई नेपालमा विस्तार गर्नमा उनको योगदान ठूलो छ । बुबा व्यापारको सिलसिलामा भारतको लखनउ बस्ने भएकाले त्यहाँबाट परम्परागत ‘वास पेन्टिङ’ सिकेका थिए । उनले बनाएको शिवको ताण्डव नृत्यको चित्र महत्वपूर्ण मानिन्छ ।

भारतबाट २०१७÷१८ सालतिर नेपाल आएपछि धार्मिक चित्र बनाएका नेपाली त्यसपछि अमूर्तकलामा लागेको कला समीक्षक तथा प्राज्ञ रमेशनाथ खनालले बताए । उनले भने, ‘उहाँले कविता र कलाको जीवन्त प्रयोग गर्नुभएको छ, नेपालको साहित्य र कलासम्बन्धी प्रतिष्ठित व्यक्तिका मुहार चित्र बनाउनुभएको र त्यसमा उहाँको आफ्नै शैली थियो ।’ तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले १४ पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए । कलाकार नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । नेपालीले राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवाश्री तृतीय पदकसमेत प्राप्त गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले नेपाली कला, साहित्य तथा चलचित्र क्षेत्रले मूधन्र्य व्यक्तित्व गुमाएको बताए । संस्मरणात्मक निबन्ध र कविता लेखेका नेपालीले विदेशमा समेत कला प्रदर्शनी गरेका थिए । दरबार तथा संयुक्त राष्ट्र संघलगायत ठाउँमा पनि उनको कला संग्रृहीत छ । उनले टेली डकुमेन्ट्री बनाएर प्रदर्शनसमेत गरेको पाइएको उपाध्यायले बताए । उनको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया