खोजखबर

विद्यालय उमेरमै विवाह !

दुर्गा देवकोटा, २०७८ साउन ६ गते ८:१० मा प्रकाशित

कैलालीकी १४ वर्षीया सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि उनी पढने विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्ष उमेर नपुगेका उनका श्रीमान धन कमाउन भारततिर लागे । किशोर उमेर नै रहेका उनलाई आपूmसँगै अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने जिम्मेवारी थपियो । उमेर नपुग्दै विवाह गर्दा उनीहरूको पढाइ छुट्यो । कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, बच्चाको स्याहार, आर्थिक भार थपियो । भारतमा गएर सुगन्धाका श्रीमान कुबेरले होटलमा भाँडा माझ्ने काम गरेर घरमा सामान्य खर्च पठाउन थाले । कलिलै उमेरमा आमा बनेकी सुगन्धाले बच्चाको राम्ररी स्याहार गर्न नसक्दा बच्चा कुपोषित बन्यो । हाल बच्चा अस्वस्थ छ । ‘बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ । ‘सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ,’ सुगन्धाले भनिन्, ‘अहिले आएर हामीलाई विवाह पछुतो भएको छ । भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन् । घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो ।’ कलीलै उमेरमा गरेको आफ्नो निर्णयले पछुताएको बताइन् ।

विगतमा उमेर नपुग्दै अभिभावकले गरिदिने मागी विवाह अहिले भागी (प्रेम) विवाहका नाममा बढ्दै गएको छ । विगतमा अभिभावकको मञ्जुरीमा उमेर नपुग्दै गरिने विवाह हाल माया प्रेमका नाममा बालबालिकाले आफैँ गर्न थाल्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । यसरी परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ । कानुनी रूपमा यसलाई दण्डित गरिएको भए पनि अभिभावकको हेलचेत्र्mयाइँ र कतिपय ठाउँमा परिवारकै सहयोगमा यस्ता कार्य जारी छन् ।

कैलालीका हरेक विद्यालयमा उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरी भेटिन्छन् । अझ पढ्दापढ्दै कक्षा ९÷१० मा पढ्ने बालबालिका विवाहको बन्धनमा बाँधिएका देख्दा शिक्षकको मन दुख्छ तर मन दुखेर के गर्नु ? शिक्षकले सम्झाउने हो तर रोक्न सकेको अवस्था छैन । मोति मावि मोतिनगरका प्रधानाध्यापक दीपककुमार दास आफू विद्यालयमा सरुवा भएर आएको छ महिना पुगेको बताउँछन् । ‘कक्षा १० मा ७ जना किशोरी विवाहित छन्, कक्षा १० पढ्नेको उमेर १६÷१७ भन्दा बढी त हुन्न,’ प्रधानाध्यापक दासले भने, ‘विवाहित किशोरीलाई पढ्ने वातावरण हुँदैन । घरको काम गर्नुपर्दा उनीहरू पढाइमा पछाडि पर्छन् ।’ उनले बालविवाहका कारण देखिएको समस्या सुनाए ।

प्रअ दास समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन् । ‘यसरी किशोरी विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नुहँदा बीचैमा छोड्छन्, विवाहबाटै उनीहरूको जीवन बर्बाद हुन्छ,’ उनले भने, ‘एकजना शिक्षिकालाई बालविवाहविरुद्ध जनचेतना जगाउन सम्पर्क व्यक्तिका रूपमा तोकेका छौँ । नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन ।’

बालविवाह कानुनीरूपमा अपराध हो । विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन । शिक्षकहरूले चेतना जगाउने काम गर्छन् तर त्यसको परिणाम भने सकारात्मक देखिएको छैन । भृकुटी मावि सुवर्णपुरका प्रधानाध्यापक नृपराज भण्डारीका अनुसार हरेक वर्ष पाँच जनासम्म बालबालिका विवाहको बन्धनमा बाँधिन्छन् । ‘यतिखेर हाम्रो विद्यालयमा भर्ना अभियान चलिरहेको छ । चार जनाजति किशोरी भर्ना हुन आएनन्, किन नआएको भनी बुझ्दा विवाह भइसकेको जानकारी पायौँ,’ प्रधानाध्याक भण्डारीले भने, ‘लकडाउनमा अझ विवाह बढेको छ । पढाइ छैन भन्दै केही किशोरी विवाह गरेर गएका छन् ।’

विद्यालयको पाठ्यक्रममा पनि बालविवाह गर्नु हुँदैन भन्ने उल्लेख छ । गत वर्ष जानकी गाउँपालिकाको बालज्योति माध्यमिक विद्यालयमा अध्यनरत एक बालिकाको विवाहको निम्तो विद्यालयलाई आयो तर विद्यालयले त्यो विवाह बहिष्कार ग¥यो । विद्यालयले बालविवाहविरुद्ध जनचेतना जगाउने काम गरे पनि रोक्न सकेको छैन । प्रधानाध्यापक भोजराज चौधरीले विद्यालयमै विवाहको निम्तो आएको तर आफूहरू भोज खान नगएको बताए । उनीहरूले त्यस्ता बालबिवाह बहिष्कार गरे पनि रोकिएको भने छैन । ‘हामीले कम उमेरमा हुने विवाहलाई बहिष्कार गर्ने हो । बहिष्कार ग¥यौँ,’ प्रधानाध्यापक चौधरीले भने, ‘हामीले ज्ञान दिएर मात्र हुन्न, समाज, अभिभावक सबैले विवाह नै रोक्ने, कानुनी सजाय दिने काम नगरेसम्म रोक्न सकिँदैन ।’

बालविवाह न्यूनीकरणका लागि स्थानीयस्तरमा विभिन्न संघसंस्था र स्थानीय तहले पनि अभियान चलाइरहेका छन् । स्थानीय सरकारले कानुनी व्यवस्था बुझाउने, कम उमेरमा विवाह गर्दा अधिकार पाउन गाह्रो हुने कुरा जानकारी दिने गरेको छ । यसका साथै विद्यालयस्तरीय, अभिभावक र किशोरीलाई सचेतना फैलाउने कार्य गरिरहेको जानकी गाउँपालिकाका महिला बालबालिका शाखाका प्रमुख यमुना विष्टले बताए । ‘बालविवाह समस्याका रूपमा बढ्दै गएको छ । हामीले बालविवाह न्यूनीकरणका लागि समुदायस्तरमा, विद्यालयमा कार्यक्रम निरन्तर गरिरहेका छौँ,’ विष्टले भने, ‘चालु आर्थिक वर्षमा पनि अभिभावक र किशोरकिशोरीसँगै राखेर गर्ने खालका विभिन्न कार्यक्रम ल्याएका छौँ ।’

कानून व्यवसायी बालाराम भट्टराई बालविवाह गरेका बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने भएकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताए । कानून व्यवसायी भट्टराईले सुदूरपश्चिममा ४८ प्रतिशत बालबालिका बालविवाहको जोखिममा रहेका जानकारी दिए । ‘सुदूरपश्चिम देशैभरि कर्णालीपछि दोस्रो बालविवाह हुने प्रदेशमा पर्छ, उमेर नपुग्दै हुने विवाह समाज र राष्ट्रकै लागि समस्या हो,’ भट्टराईले भने, ‘गरिबीले पनि विवाह बढेको छ । सुदूरमा २० दशमलव ९ प्रतिशत बालबालिका श्रमिकका रूपमा कार्यरत छन् ।’ उनले दिएको जानकारी अनुसार यहाँ बालबालिकाको अवस्था निकै डरलाग्दो छ । त्यसको प्रमुख कारण हो बालविवाह । यसलाई रोक्न कानुनले मात्रै नपुग्ने हुँदा अभिभावक आफै सचेत भएर लाग्नु पर्ने देखिन्छ ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बालविवाह न्यूनीकरणका लागि चेतनास्तर बढाउन आवश्यक रहेको बताए । ‘कानूनले बालविवाहलाई मान्यता दिँदैन, बालविवाहका असर धेरै छन्, कानूनी अधिकार नपाए जीवन असुरक्षित हुन्छ,’ अध्यक्ष चौधरीले भने, ‘बालविवाह गर्नु अपराध हो भन्ने थाहा भएर पनि समाजले स्वीकारिरहनुले न्यूनीकरणमा चुनौती थपिएको छ ।’ उनले पनि समाजले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय