एमालेका केन्द्रिय कमिटीको बैठक सकियो, के भयाे निर्णय ?

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई कारबाहीबारे मंगलबार निर्णय गर्न सकेन । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकले २२ सांसदमाथिको कारबाहीबारे कुनै निर्णय नगरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सोमबार त्यहीं बसेको बैठकले नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको २४ घण्टा पूरा नभएको कारण कारबाहीबारे कुनै निर्णय नभएको ज्ञवालीले बताए । उनका अनुसार स्पष्टीकरण पत्र तयार रहेको र पत्र बुझेको २४ घण्टापछि मात्रै त्यसबारे निर्णय हुनेछ ।

प्रवक्ता ज्ञवालीका अनुसार बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षहरुले रिपोर्ट प्रस्तुत गरेका थिए । ‘विभिन्न प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशमा संगठनात्मक अवस्था, राजनीतिक शक्तिसन्तुलनको अवस्था, भोलि पार्टीबाट केही मान्छे बाहिरिँदा एमालेको अवस्था कस्तो हुनसक्छ भन्नेबारे सुझावसहितको रिपोर्ट प्रस्तुत गर्नुभयो,’ ज्ञवालीले भने ।

बैठकमा केपी ओली नेतृत्वको सरकारका बेला भूमिसँग सम्बन्धित समस्या समाधान गर्न गठन भएको आयोगका तर्फबाट अध्यक्ष देवी ज्ञवालीले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका थिए । साथै पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन भएको कार्यदलको तर्फबाट सुवास नेम्वाङले १० बुँदे सहमतिबारे बैठकलाई ब्रिफिङ पनि गरेका थिए । बैठक बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया