भूराजनीतिमा रुमलिएको समृद्धि

एनपी रिजाल

भीमसेन थापादेखि वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीसम्म आइपुग्दा के देखिन्छ भने प्रधानमन्त्रीले ढुक्कसँग शासन गर्न पाएको अवस्था छैन । राणाशासन पूर्वको अवस्थामा पनि सत्ताका लागि रगतको खोलो बग्थ्यो । अझ राणाशासन कालमा त सत्ताको रोलक्रम राणा परिवारमा मात्र सीमित थियो । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले युरोप भ्रमणपछि केही परिवर्तन ल्याउन खोजेको देखिन्छ ।

कुनै पनि देशले आर्थिक समृद्धि प्राप्त गर्न मात्र होइन त्यसको दीर्घकालीन स्थायित्वका लागि भूगोल र राजनीतिक स्थिरताले महत्वपूर्ण भूमिका खेल्छ । देशको नेतृत्वकर्ताको मानसिकता भूराजनीतिक अवस्थामा निर्भर हुन्छ । देश जतिसुकै लामो इतिहास बोकेको होस् तर भूराजनीतिक अवस्था आर्थिक विकास अनुकूल छैन भने उक्त देशले समृद्धि हासिल गर्न सक्दैन । विकास निर्माणको सुरुआत तुलनात्मक रूपमा छिटो भए पनि त्यसले निरन्तरता नपाउने कारण देश समृद्धिको लक्ष्यमा पुग्न सक्दैन । आधुनिक नेपालको २ सय ५० वर्ष लामो इतिहास छ । राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने ब्रिटिस (इस्ट इन्डिया कम्पनी) र नेपाल सरकारबीच भएको सुगौली सन्धी (सन् १८१६) पछि नेपालीहरू ब्रिटिस सेनामा भर्ती हुन थाले तर उनीहरू सैनिकका रूपमा मात्र सीमित भए । अर्कोतिर नेपालीहरू बसाइँ सरेर भारतका विभिन्न भूभाग, भूटान र बर्मासम्म गए । तर, ती देशमा पनि युरोपमा जस्तो औद्योगिक क्रान्ति थिएन । खेतीपाती र पशुपालन गर्न गएका नेपालीहरूले उक्त देशबाट प्रविधि सिकेर स्वदेश फर्कने अनि देशमा आर्थिक क्रान्ति गर्ने कुरै भएन ।

नेपालमा जलविद्युत् विकासको सुरुआत सन् १९११ मा भएको हो । तर, १ सय १० वर्षपछि १ हजार ३ सय ८६ मेघावाट विद्युत् (आर्थिक सर्वेक्षण ०७७÷७८) मात्र उत्पन्न भएको छ । नेपालमा पहिलो रेल मार्ग सन् १९२८ मा रक्सोल (भारत) देखि अमलेखगञ्जसम्म बनेको हो तर ९३ वर्षको अन्तरालमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गरिँदैछ छ तर कहिले पूरा हुन्छ थाहा छैन भने जनकपुर–जयनगर रेल सेवा प्राविधिक कारणले बन्द छ । अर्कोतिर उद्योग क्षेत्रमा पनि थुप्रै समस्या छन् । नेपालले सन् ८० को दशकमा चलेको आर्थिक उदारीकरणको लहरसँगै प्रत्यक्ष वैदेशिक लगानीको नीति अवलबन गरेको भए पनि कुनै आर्थिक वर्षमा पनि लक्ष्य अनुरूपको वैदेशिक लगानी भित्रन सकेन । दोस्रो विश्वपछि नेपालभन्दा निम्न आर्थिक अवस्था भएका र नेपालकै हाराहारीका दक्षिण कोरिया, मलेसिया अहिले उदीयमान देश भएका छन् । तर, नेपाल आर्थिक समृद्धिको लक्ष्यबाट धेरै टाढा छ । नेपालले दोस्रो विश्वयुद्धपछि विश्व अर्थतन्त्रमा चलेका आर्थिक विकासका लहरलाई पछ्याउन खोजेको देखिन्छ तर समृद्धिको दिशामा अर्थतन्त्र मोडिन सकेको छैन । नेपालको राजनीतिक संरचना र विकासक्रम अनि भौगोलिक अवस्थाले आर्थिक समृद्धिको यात्रामा प्रभाव पारेको छ ।

राजनीतिक प्रभाव
नेपालको राजनीतिक अवस्था अस्थिर छ । भीमसेन थापादेखि वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीसम्म आइपुग्दा के देखिन्छ भने प्रधानमन्त्रीले ढुक्कसँग शासन गर्न पाएको अवस्था छैन । राणाशासन पूर्वको अवस्थामा पनि सत्ताका लागि रगतको खोलो बग्थ्यो । अझ राणा शासनकालमा त सत्ताको रोलक्रम राणा परिवारमा मात्र सीमित थियो । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले युरोप भ्रमणपछि केही परिवर्तन ल्याउन खोजेको देखिन्छ । उनीपछिका प्रधानमन्त्रीहरूले देशमा जलविद्युत्, यातायातदेखि उद्योगधन्दको सुरुआत गरे । तर राणा शासनकाल आर्थिक विकासका लागि मानिसमा हुनुपर्ने जागरुकता थिएन । शिक्षाको राम्रो व्यवस्था थिएन ।

सन् १९५० को दशकमा दक्षिण एसियाली देशहरूले योजनाबद्ध रूपमा आर्थिक विकासका योजना सुरु गरेको थिए । त्यही लहरमा नेपालले पनि पञ्चवर्षीय योजना सुरु ग¥यो तर बीचमा राजनीतिक परिवर्तनको दौरानमा योजनाविहीन वर्ष पनि देखिए तर हालसम्म चित्त बुझाउन सकिने उपलब्धी हासिल गर्न सकिएको छैन ।

राणा शासनको अन्त्यसँगै स्थापित प्रजातन्त्रले स्थायित्व प्राप्त गर्न नसक्नु, ०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लाद्नु, ०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भए पनि अस्तिर सरकार हुन र प्रजातान्त्रिक प्रणालीले पनि स्थायित्व प्राप्त गर्न नसक्नु, ०५२ सालबाट माओवादी जनयुद्ध सुरु हुनु, ०६२/६३ को दोस्रो जनआन्दोलनको प्रमुख उपलब्धीको रूपमा ०६५ सालमा गणतन्त्र स्थापना भए पछिको पछिल्लो अवस्था पनि संक्रमण कालमा नै बितेको छ । पछिल्लो समयमा धेरै राजनीतिक दल, अनि नेताका व्यक्तिगत स्वार्थका कारण आर्थिक समृद्धिको मुद्दा कमजोर बन्न पुगेको छ ।

भौगोलिक प्रभाव
नेपाल विश्वका ठूला उदीयमान अर्थतन्त्र भएका देश चीन र भारतले घेरिएको त छ तर आगामी दिनमा विश्व बजारको ठूलो हिस्सा ओगट्न गइरहेका यी देशको बीचमा आर्थिक लाभ लिन नसक्ने अवस्थामा छ । नेपालको विश्व बजारमा पुग्ने आफ्नै समुद्री मार्ग छैन । भारतसँगको कमजोर राजनीतिक उपस्थितीको कारण अन्तराष्ट्रिय व्यापार विविधीकरण पनि हुन सकिरहेको छैन । भूपरिवेष्ठित देश भए पनि नेपाल समृद्धि हुनसक्ने धेरै आधार छन् । नेपालले जलविद्युत् विकास गरी निर्यात गर्न सक्ने सम्भावना थियो । नेपालले हिमालको कञ्चन पानी विश्व बजारमा बेच्न सक्थ्यो । अर्कोतिर नेपालले पर्यटन क्षेत्रबाट धेरै लाभ आर्जन गर्न सक्छ । जडीबुटी प्रयोग निर्मित औषधि विश्व बजारमा निर्यात गर्न सक्छ ।
नेपालको आन्तरिक भूवनोटले आर्थिक समृद्धिको यात्रामा बाधा सिर्जना गरेको छ । हिमाली र पहाडी क्षेत्रमा ठूला विकासका आयोजना सञ्चालन गर्न सकिँदैन । पहाडी भूवनोटमा विकास निर्माणका कार्य गर्दा वातावरणमा ठूलो प्रभाव कम गर्ने किसिमको प्रविधि छैन ।

भूराजनीतिले निर्धारित मानसिकता
आर्थिक विकास र समृद्धिका लागि पहाडी भौगोलिक विकटता मात्र कमजोर पाटो होइन । नेपालमा जुन किसिमको राजनीतिक अस्थिरता छ । अर्कोतिर भारतसँग सत्तादेखि राजनीतिक प्रणाली परिवर्तनसम्म निर्भरताको कारण नेतृत्वकर्ताको मानसिक्ता उद्यमशील हुन सकेको छैन । सत्ता प्राप्त गर्न र जोगाउन भारतको निर्भर हुने, देशभित्र उद्योगधन्दा स्थापना गर्न नसक्ने, भएको उद्योगहरूको संरक्षण गर्न नसक्नु, देशमा भएका सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हुनु माटो र स्थानीय हावापानी अनुसारको योजना ल्याउनुभन्दा दाताको मानसिकता अनुसारको योजनामा जोड दिने परम्पराको विकास हुनु भूराजनीतिले निर्धारण गरेको मानसिकता हो । कुनै पनि कुरामा आत्मनिर्भर बन्न खोज्नुभन्दा अरूको आशमा बस्नु सबैभन्दा ठूलो कमजोरी हो ।

विगतमा भएको अस्थिर राजनीतिक संस्कारले विश्वका ठूला देश चीन र भारतबीचमा रहेको भूपरिवेष्टित देश त हो नेपाल भन्ने मानसिकतामा परिवर्तन हुनुपर्छ । उपलब्ध स्रोत साधनको वातावरणमा असर नपर्ने गरी दोहन गर्नुपर्छ । आर्थिक समृद्धि अरूले ल्याइदिने कुरा होइन । हाम्रो मानसिकतामा समृद्धि प्राप्तिको लक्ष्य अचुक हुनुपर्छ । [email protected]

प्रतिक्रिया