अर्थतन्त्रमा घरेलु व्यवसायको योगदान उच्च

काठमाडौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारले अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायहरुको योगदान उच्च रहेको बताएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा सोमबार वेबिनार मार्फत आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले संसार भरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले झण्डै ९९ प्रतिशत रहेको भन्दै अर्थतन्त्रमा त्यस्ता उद्योगको योगदान धेरै र अर्थपूर्ण हुने बताएका हुन । कार्यक्रममा गभर्नर अधिकारीले भने,‘ नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ ।’ गत बर्षको मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका भन्दै उनले नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धीमुलुक भएकोमा जोड दिए । त्यसैगरी सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत वा एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्न कर्जामध्ये पनि ७० प्रतिशत पुर्नकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको गभर्नर अधिकारीको भनाई थियो ।

उनले यो भन्दा अगाडि साना उद्योगीले पुनकर्जा लिएको इतिहास नै नभएको भन्दै गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाएको बताए । गभर्नर अधिकारीले भने,‘त्यो महत्वपूर्ण उपलब्धि हो’ । नेपाल राष्ट्र बैंकले सबै फाइनान्सिङ गर्ने नभई कुल लोनको आकार ४१ खर्ब पुगेको र क ख ग वर्गका बैंक तथा वित्तीय संस्था रहेको पनि गभर्नरले बताए । सो अवसरमा महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिएका थिए । साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।

केही बैंकहरुले पुर्नकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उनले भने,‘ कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनकर्जाको लागि जाँदा तपाइहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई सा¥है पीडित बनाएको छ ।’

राष्ट बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागु गर्ने सन्दर्भमा भावनात्मक हुन नसकेकोमा गिरीले जोड दिए । महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले भने,‘अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दागर्दे धेरै बैंकले लागु गर्न सकेनन, यो उनीहरुको बाध्यता भएपनि ती वाध्यताका बीच अर्थतन्त्र उकास्नुपर्ने सन्दर्भमा महिला उद्यमीलाई उपेक्षा गर्न हुदैन ।’

प्रतिक्रिया