कंगना अदालतमा

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट बारम्बार विवाद आइरहन्छिन् । कयौंपटक उनले बोलेका कुराबाट चर्चाको पात्र बन्छिन् । तर, यसपटक उनी आफ्नो पासपोर्टका कारण झमेलामा परेकी हुन् । भारतीय सञ्चारमाध्यम अनुसार पासपोर्ट विभागले उनको पासपोर्ट नवीकरण गर्न नमानेपछि कंगना अदालत जना बाध्य बनेकी हुन् । उनी यही १५ जुनमा आफ्नो नयाँ चलचित्र ‘धाकड’ को छायांकनका लागि हंगेरी जाने तयारीमा थिइन् । उनको पासपोर्टको समय सेप्टेम्बरमा सकिने भएकाले नवीकरण गर्न विभाग पुगेकी थिइन् । कंगनाको नाममा बान्द्रा प्रहरी स्टेसनमा उजुरी दर्ता भएका कारण विभागले पासपोर्ट नवीकरण गर्न नमानेको जनाइएको छ ।

उनीविरुद्ध बलिउडलाई बदनाम गर्ने र धार्मिक समुदायबीच विभाजन, घृणा फैलाउन खोज्ने आरोपमा गत वर्ष प्रहरीमा उजुरी दर्ता गरिएको थियो । अभिनेत्री कंगनाले प्रहरीमा उजुरी दर्ताकै कारण विभागले आफ्नो पासपोर्ट नवीकरण गर्न नमान्नु गलत रहेको जिकिर गर्दै उनी अदालत पुगेकी थिइन् । १५ जुनमा नै उजुरीको सुनुवाइ भएको थियो तर उनले बुझाएको आवेदन स्पष्ट नभएको भन्दै अदालतले म्याद थपेर जुन २५ गते पु¥याएको छ ।

 

पासपोर्ट नवीकरण हुन नसक्दा कंगना चलचित्र छायांकनका लागि बाहिर जान पाएकी छैनन् । अदालतले दिएको नयाँ मितिपछि निर्माण पक्षले चलचित्रको छायांकन एक हप्ता पछाडि सरेको छ । यही आक्रोशमा उनी पुनः सामाजिक सञ्जालमा उत्रिएकी छन् । आफ्नो इन्स्टाग्राममार्फत् उनले सरकारले आफूलाई अप्रत्यक्ष रूपमा उत्पीडन गर्न सुरू गरेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया