मिथिलामा गोदनाको विस्तृत रूप

एस.सी. सुमन

धार्मिक रूपमा चित्रको प्रयोग गरिने हुँदा यसलाई तयार गर्नुअघि केही नियमकोे पालना गर्नुपर्ने हुन्छ । मैथिली समुदायको लोककलामा महिलाका भोगाइ लगायतका कुराहरू पनि समेटिँदै गएको पाइन्छ । धर्मलाई प्रतिबिम्वित गरेर बनाइने चित्रकलाले मिथिलाको अस्तित्व बचाइराखेको छ ।

मिथिलाञ्चलको लोक जनजीवन पद्धति, विविध कला परम्परा र शैलीको निरन्तरताले विश्व मानचित्रमा छुट्टै विशिष्टता पाएको छ । नवपुस्ताले यहाँको जीवन्त लोकचित्र परम्परालाई निरन्तरता दिँदै आएका छन् । मैथिली समुदायमा मिथिला चित्रकला पवित्र मानिन्छ । जहाँ कलाविना कुनै पनि कुरा पूर्ण मानिँदैन ।

भूमिचित्र, अरिपन, भित्तेचित्र लगायतका चित्र धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिन्छ । मैथिली समुदायमा घरका कोठा अनुसारका छुट्टाछुट्टै चित्र बनाइने गरिन्छ । धार्मिक रूपमा चित्रको प्रयोग गरिने हुँदा यसलाई तयार गर्नुअघि केही नियमकोे पालना गर्नुपर्ने हुन्छ । मैथिली समुदायको लोककलामा महिलाका भोगाइ लगायतका कुराहरू पनि समेटिँदै गएको पाइन्छ । धर्मलाई प्रतिबिम्वित गरेर बनाइने चित्रकलाले मिथिलाको अस्तित्व बचाइराखेको छ । सुरुका दिनमा कलाकारका कचनी र भरनी शैलीमा बनेका कलाकृति, परम्परागत ‘लिखिया’ मिथिला चित्रकलाको चुलिँदै गरेको लोकप्रियता र अन्तर्राष्ट्रिय जगतमा बढ्दो मागले स्थानीय लोक कलाकारमा चुनौती थपिँदै गयो ।

यहाँ बसोबास गर्ने सबै जातजातिसँग एउटा विशिष्ट शिल्प हुन्छ, जसलाई मैथिलीमा ‘घरैया लूरि’ भनिन्छ । यिनै लूरिलाई सम्मान गर्दै वा यसकै आधारमा आपसी सौहाद्रताको एउटा विधि–विधान समेत निश्चित गर्दै मिथिलामा जातीय वर्गीकरण भएको देखिन्छ । यस्ता कुनै जाति छैनन् जसको आफ्नो कुनै न कुनै कला विशिष्टता नहोस । परापूर्वकालदेखि नै मानव समुदाय यिनै कलात्मक ‘लूरि’ को आधारमा निज–कर्म निर्धारण हुँदै आएको छ । सँगै सामाजिक योगदानमा पनि यसको वास्तविक कला जीवितताको महत्व रहेको पाइन्छ ।

सन् १९७० दशक मिथिला लोककलाप्रतिको लोकप्रियता र आकर्षणले विश्वको ध्यान आफूतिर तान्यो । तसर्थ कलाप्रेमी, संग्रहकर्ता मात्र होइन अनुसन्धानकर्ताको पनि मिथिला आगमन प्राथमिकतामा प¥यो । यसै क्रममा एक जना जर्मन एन्थ्रोपोलोजिस्ट एरिका मोजरको दुसाध नारीलाई तिनका जीउमा खोपिने गरेको कलात्मक चित्र गोदना (ट्याटु) आकर्षक मिथिला चित्र हुनसक्ने सम्भावनातिर औंल्याए । लोककलाकारले आफ्नो जातिगत संस्कार र परिवेशको विविधतालाई आकार दिँदा, कला समीक्षकमा थिमको यो प्रस्फूटनलाई नयाँ–नयाँ नाम दिने प्रतिस्पर्धा नै चल्यो । कसैले यसलाई मिथिला चित्रकलाको ‘हरिजन शैली’ भने त कसैले यसलाई ‘गोबर–गेरु पेटिङ’ भन्न रुचाए । विद्वानले मिथिलामा बसोबास गर्ने ब्राह्मण र कायस्थ परिवारमा प्रचलित कचनी, भरनी र तान्त्रिक शैली सँगसँगै मुसहर, दुसाधका चित्रलाई दुसाध शैली भनी परिभाषित गरे ।

लोकगाथा अध्येता एरिकासँग भेट्नुभन्दा पहिले लोकचित्रकार चानो देवी, जो दुसाध जातिका थिए, उनी र उनका समुदायका अन्य कलाकार राम–सीता, राधे–कृष्णा, दुर्गा, काली आदि देवी–देवताको चित्र बनाउने गर्थे । एरिका मोजरले उनीहरूलाई सम्झाए, उनीहरूको समाजको देवी–देवता र रीतिथितिको चित्र बनाउनुपर्छ भनेर बुझाए । एरिकाले कलाकार चानो देवीको जिउमा खोपिएको गोदनालाई कागजमा बनाउन लगाए ।

कलामा परिवर्तन आउनका लागि मानिसको चेतनामा परिवर्तन आउनुपर्दछ र मानिसको चेतनाको निर्माण उसको सेरोफेरोमा हुने सामाजिक तत्वबाट हुन्छ । भौतिक वस्तुहरूबाट परिवर्तन भएपछि त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव समाजका अन्य भागजस्तै कला, साहित्य आदिमा देखापर्छ ।

परम्परागत भित्तामा रहेका चित्र कागजमा उतार्दा रेखाको लयबद्ध भाव र प्रभावको निरन्तरता कायम राख्नु चित्रकारको चुनौती थियो । त्यसरी नै अंगचित्रलाई (गोदना) कागजमा लेख्नु कम चुनौतीपूर्ण थिएन । गोदना प्राचीन तथा मनमोहक कला हो । सवर्ण परिवारका कलाकारको अभ्यास कागज, कलम र पिहुआसँग कुनै न कुनै रूपमा भएकोले आफ्नो कलाकर्मको अभ्यास कागजमा गर्दा सहज हुँदै गयो । त्यतिखेर मैथिल जनसमुदायमा शिक्षाको अभाव थियो । त्यसमा पनि महिला साक्षरता न्युन नै भन्नुपर्छ । तथापि यहाँका लोककलाकारको कलम र कागजको प्रयोग कठिन कार्य थियो । लोकचित्रकारले प्रविधिको प्रयोगमा रूपान्तरण गरे । गोदना खोप्दा एकभन्दा धेरै सियोको समूहको प्रयोगको ठाउँमा कलम र शरीरको ठाउँमा कागजको प्रयोग गर्न थाले ।

सबै जाति समुदायमा ‘बुंदकिया’ गोदना अत्यधिक लोकप्रिय छ, जसमा विन्दुको समूहले चित्राकृतिको निर्माण हुन्छ । शरीरको प्रत्येक अंगमा लगाइने आभूषण बाहुलामा पहुँची, बाजुबन्द, घाँटीमा हँसुली, हैकल तथा गृमहार, हातमा हतशंकर जस्ता गरगहना लगायत ज्यामितीय आकारका तिकोणमा, चौकोण वृत्ताकार चित्राकृति कागजमा कोरिन थाल्यो । मिथिला चित्रका प्रतीकात्मक चित्रहरू जस्तै सूर्य, चन्द्रमा, सर्प, बिच्छी, मयूर, हात्ती, घोडा, माछा, कछुवा जस्ता आकृति परम्परागत गोदनामा पनि खोपिने चित्राकृति हुन् । मिथिला लोकचित्रकलामा यस्ता प्रचलित प्रतीकात्मक चिन्ह बनाउने प्रचलन रहेको छ । लहरै विन्दुको समुहबाट सरलरेखा जसलाई ‘सोझ डोरी’ भनिन्छ, यसै गरी वक्ररेखा बनाइन्छ, जसलाई ‘लहरिया’ डिजाइन जस्ता हस्तनिर्मित कागजमा लेखिन थाल्यो । फल, फूलपात, रुख, लहरा, पशुपंक्षी, जंगललाई प्रतीकात्मक रूपमा कागजमा कोरिन थाल्यो । कागजमा मात्र कालो रङको प्रयोग गरी लेखिएको दुई सोझ डोरी यानी दुई सरल रेखाबिच स–साना जीव–जन्तु फूलपात, बोटविरुवाको चित्रांकनले नुतन कथा भन्न थाल्यो । प्रायः गोदना पेन्टिङमा कालो रङको प्रयोग हुने गर्दछ । कहिलेकाहीं सेतो कागजको ठाउँमा पारिजातको फूल वा बेसारबाट तयार पारिएको पहेंलो रङ प्रयोग गरी पहेंलो पृष्ठभूमि, गाईको गोबर वा विभिन्न रङको माटोबाट तयार पारिएको मटमैला पृष्ठभूमिमा सलाइको काँटी तथा पिहुआको प्रयोगले ठोप, बुट्टी, ठेकुआ जस्ता परम्परागत अंग लेखनमा प्रयोग हुने चित्राकृतिको प्रयोगले लोककलाकारको कलाकृति आ–आफ्नो विशिष्टता लिएर देखाप¥यो । कलाकारको परिश्रमले अंग चित्र गोदना, गोदना पेन्टिङको रूपमा कलाप्रेमीमाझ देखाप¥यो, जसले विश्वको ध्यान आफूतिर आकृष्ट ग¥यो ।

अभाव, आवश्यकता र अनुकूलताको योगले कला समृद्ध भयो । गोदना पेन्टिङको लोकप्रियताले बजार सिर्जना ग¥यो । मिथिला कला कागजमा लेखिने समयमा लोककलाकार समाजले धार्मिक परम्परा तथा धार्मिक ग्रन्थभन्दा पृथक लोकगाथा राजा सलहेसको कथाले गोदना चित्रकलाको केन्द्रीय विषयको रूपमा प्रवेश ग¥यो । राजा सलहेस दुसाध र दनुवार जातिका इष्टदेवता हुन् । मिथिलाको प्रत्येक गाउँमा सहलेसको गहवर (मन्दिर) रहेका छन् । जसलाई ग्रामदेवताको रूपमा पुजा–आजा गर्ने चलन रहेको छ । सिरहाको लहानमा सलहेस फुलबारीको रूपमा प्रसिद्ध रहेको छ ।

गोदना चित्रमा लोकनायक राजा सलहेस र उनीसँग जोडिएको कथानक चित्रांकित गर्दा, गोदना कलाको स्वाभाविक चरित्र सरल र सहज स्वरूपमा आदिम कालको रेखाचित्रको पुनरावृत्ति, आकृति, रैखिक र वृत्ताकारको संयोजन प्रयोग गर्दा लोककलाकार सजगताका साथ अगाडि बढे । मिथिला लोककलामा निरन्तर प्रयोग हुँदै आएको छ, जसको पछाडि लोककलाकारको दृढइच्छा कल्पनाशक्ति र सिर्जनशीलताले नित्य नया सफलताको क्रम बढ्दो छ ।

यसै क्रममा गोदनाको सौन्दर्यको आकर्षणले चित्रकारले गोदनाका चित्राकृति कचनी, भरनी शैलीसँग प्रयोग गर्न थाले । परिणाम सुखद भयो । यसरी विषयवस्तु विस्तारित हुँदै, लोकगाथा सँगसँगै रामकथा जयमाल (सीता स्वयम्वर), राम विवाह, कृष्णलीला, रास जस्ता मिथिला लोककलाका आकर्षक र लोकप्रिय विषयवस्तुको प्रवेशले चित्रमा विषयको विविधता तथा प्रविधिको नवीन प्रयोगको जीजिविषाले कला समृद्ध हुँदै गयो । यतिमा मात्र सीमित नभइ हस्तकलाका उत्पादनमा गोदना चित्राकृतको व्यापक प्रयोग हुने गरेको छ । टेक्सटायलदेखि सेरामिकसम्म र दैनिक प्रयोगका घरायसी सामग्री समेतमा गोदनाको आकृति भेटिन्छ ।

मैथिलमा जातीय र धार्मिक समन्वयात्मक र सद्भावपूर्ण हुने गर्छ । अब मिथिला चित्रकला जातीय बन्धनबाट लगभग पूरै मुक्त भएको छ । लिखियाको ‘गोदना’ पेन्टिङ भने मिथिला पेन्टिङको बजारले सिर्जना गरेको सहउत्पादन हो । गोदना पेन्टिङ अब मिथिलाकलाको खास पहिचानमध्ये एक भएर स्थापित भएको छ ।

कालान्तरमा गोदनासँग जोडिएको अनेक मिथक, आफनो प्रिय व्यक्तिको स्मृतिका लागि नाम खोपिने परम्परा हुन् कि गोदना आदिमकालीन मिथिला जस्तो निर्धन क्षेत्रमा नारीको लागि सस्तो र सर्वसुलभ शृंगारको साधन वा महिलाप्रति हिंसा बढ्दै गएपछि मध्यकालमा त्यसबाट सौन्दर्य बढाउने खालका नभई कुरूप बनाउने शृंगारका रूपमा प्रचलित गोदना कलाले पहिचान, रोजगार, स्वावलम्बन सँगसँगै सौन्दर्यवृद्धि र ऐश्वर्यवृद्धि पक्कै गरेको छ ।

हुन त आधुनिकताको चपेटामा लोकजीवन परे पनि गोदना शृंगारका रूपमा, अहिले विश्वव्यापी ट्याटुका रूपमा सौन्दर्यको प्रतीक बन्न पुगेको देखिन्छ । मिथिला चित्रले प्राचीन कला रूपको असाधारण जीवन शक्तिको झलक प्रदान गर्छ । आफ्नो विशिष्ट सौन्दर्यशास्त्र कायम राख्दै र द्रुतगतिमा वैश्विक कलाको संसारको दबावलाई बुझदै, लोकचित्रकार पारम्परिक र समकालीन विषयमा समानान्तर रूपले उत्कृष्ट काम गर्दै छन् ।

यस प्रक्रियाबाट उनीहरूले ग्रामीण नेपालमा महिला सशक्तिकरण र सामाजिक परिवर्तनका लागि पनि योगदान गर्दैछन् । आज गोदना खोप्ने प्रचलन मैथिल समाजबाट प्रायः हराइसकेको छ । गोदनाका क्रममा अधिक कष्ट भए पनि यसको आकर्षणबाट टाढा नहुने चाहनामा कमी आएको छैन । गोदना खोप्दा गाइने सुमधुर लोकगीतहरू गोदना चित्र बनाउँदा प्रत्येक कलाकार गुनगुनाउने गर्छन् ।
उतरहि राज सं अयले एक नटिनीयां रे जान
रे जान , बसि गेलै चानन बिरिछिया रे जान
घर सं बहार भेली सुनरी पुतौह रे जान
रे जान, हमहँु सांवर गोदना गोदायब रे जान…

प्रतिक्रिया