कोलम्वियाले इक्वेडरलाई हरायो

ब्राजिल । कोलम्वियाले कोपा अमेरिका कपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इक्वेडरलाई १–० ले पराजित गर्दै कोलम्वियाले विजयी सुरुवात गरेको हो । एरिना पान्टानल कुइएवा, माटो ग्रासो ब्राजिलमा भएको खेलमा कोलम्वियाको जितमा इडविन कार्डाेनाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । बल पोसेसनमा इक्वेडरले प्रभाव जमाएपनि कोलम्वियाको रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

चौथो मिनेटमा मिचेल इस्ट्राडाको प्रहार बाहिरिदा इक्वेडर अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा यारी मिनाले सुवर्ण अवसर खेर फाल्दा कोलम्वियाले अग्रता लिन सकेन । ४१औं मिनेटमा इडविन कार्डाेनाले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए । फ्रिकिकमा मिगुइल बोर्जाले मिलाइदिएको पासमा कार्डाेनाले गोल गर्दा रेफ्रीले भिएआरको सहायता लिदै गोललाई मान्यता दिएका थिए ।

५४औं मिनेटमा मिगुइल बोर्जाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता दोब्बर पार्नबाट चुक्यो । ७१औं मिनेटमा पेर्भिस इस्टुपिनानको प्रहारलाई कोलम्वियाका गोलरक्षक तथा कप्तान डेभिड ओस्पिनाले बचाउँदा इक्वेडर बराबरीबाट चुक्यो । ७५औं मिनेटमा इक्वेडरका एन्जेलो परकाइडोले अवसर गुमायो । ७५औं मिनेटमा इनर भ्यालेन्सियाको प्रहारले पोस्टको गति लिन सकेन । दोस्रो हाफमा इक्वेडरले दवाव बढाउँदा गोलरक्षक ओस्पिना निकै व्यस्त बनेका थिए ।

यो जितसँगै समूह ‘बी’ मा कोलम्वियाले ३ अंक जोडेको छ । ब्राजिलको पनि ३ अंक रहँदा बढी गोलको आधारमा शीर्षस्थानमा रहेको छ । पराजित इक्वेडर चौथो तथा भेनेजुएला पुछारमा छ । साविक विजेता ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया