पोखरी निर्माणको मापदण्ड जरुरी

धनुषाको लक्ष्मीपुर गाउँ यतिबेला शोकमा डुबेको छ । शुक्रबार बिहान बाख्रा चराउन गएका पाँच जनाको पोखरीमा डुबेर जीवन समाप्त भएपछि सिंगो गाउँ शोकमा डुबेको हो । एउटै गाउँका पाँच जना बालिकाको सँगै मृत्यु हुनु भनेको सामान्य घटना होइन । एक प्रकारको वंश विनास नै हो यो । यो आफैंमा असहनीय घटना हो । प्राकृतिक विपत्तिका कारण यस्तो घटना भएको भए पनि चित्त बुझाउन हुन्थ्यो, तर मानवीय लापरवाहीका कारण अवोध बालिकाको ज्यान गएका कारण सजिलै सहन गर्न सकिने घटना होइन यो । धुनषा पौराणिककालदेखि नै मानव निर्मित पोखरी तथा सागर भएको जिल्ला हो । पुराना पोखरीहरूको संख्या धनुषामा हज्जारौं छ । पुरानो पोखरीमा यो घटना भएको होइन । पुराना पोखरीहरूमा यस्ता घटना खासै भएको देखिन्न ।

जेठको प्रचण्ड गर्मीमा खेतमा पानी देखेपछि १० देखि १३ वर्ष उमेरका यी बालिका पौडी खेल्न जानु स्वभाविकै हो । पानी देखेपछि पौडी खेल्न जानु केटाकेटीहरूको स्वभाव नै हो । तराईका केटाकेटीहरूले यसरी नै पौडी खेल्न सिक्छन् । पुराना पोखरीहरूको गहिराई कहाँनिर कति छ ? भन्ने कुरा उनीहरूले आफ्ना अग्रजबाट थाह पाएका हुन्छन् । त्यही अनुसार सर्तकता अपनाउँछन् । तर, नयाँ पोखरीमा सुरक्षा सतर्कता अपनाउने संभावना रहन्न । शुक्रबारको घटना हेर्ने हो भने पनि दुर्घटनास्थलमा केही दिन अघिसम्म पोखरी थिएन, खेत मात्रै थियो । ती बालिकाहरूले खेतमा पानी जमेको ठानेर एक्कासि फाल हाले, तर त्यो खेतमा जमेको पानी थिएन, माछा पालनका लागि केही दिनअघि निर्माण गरिएको गहिरो पोखरी थियो । यो गहिरो पोखरी हो भन्ने कुरा थाहा नपाउनु अवोध उमेरका बालिकाहरूको कुनै गल्ती होइन ।

यो घटना मानवीय लापरबाही हो । पछिल्ला दिनमा तराई क्षेत्रमा माछापालनका लागि डोजर लगाएर रातारात पोखरी खन्ने अभियान चलेको छ । अघिल्लो दिन केटाकेटीहरू खेल्ने खेत तथा खलिआन भोलिपल्ट गहिरो पोखरीमा परिणत भइसकेको हुन्छ । बयस्क मान्छे त झुक्किने अवस्था हुन्छ भने केटाकेटीहरू नझुक्किने कुरै भएन । विगत केही दशकदेखि तराईका गाउँहरूमा केटाकेटीहरू डुब्ने गरेका घटना हरेक वर्ष घटित भइरहेका छन् । पोखरी निर्माण तथा माछापालन अभियान आफँैमा नराम्रो होइन । आर्थिक रूपमा मात्रै होइन प्राकृतिक रूपमा तथा वातावरण संरक्षणका दृष्टिले पनि पोखरी निर्माण तथा माछापालन व्यवसाय उत्तम हो । माछामा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सरकारले अनुदान नै दिएर तराई क्षेत्रका किसानलाई पोखरी खन्न प्रोत्साहन दिएको छ । माछापालनबाट किसानले राम्रै आम्दानी गरेका छन् ।

माछाको आयात उल्लेख्य घटेको छ । तचर माछापालनका लागि बनाइएका पोखरीहरू बालबालिकाका लागि काल सावित हुँदै गएको यथार्थताप्रति सजग हुनै पर्ने बेला आएको छ । पहिलो कुरा त कस्ता ठाउ“मा पोखरी निर्माण गर्ने ? भन्ने मापदण्ड बनाउनुपर्छ । सडक, केटाकेटी खेल्ने मैदान, स्कुल नजिक सकेसम्म पोखरी निर्माण नगर्ने मापदण्ड बनाउनुपर्छ । पोखरी निर्माण गरेपछि अनिवार्य तारबार लगाउने र तारबार नलगाउँदासम्म अनिवार्य ड्युटी दिनु पर्ने मापदण्ड बनाउनुपर्छ । यसैगरी बाढी र डुबानको समस्या हरेक वर्ष उत्पन्न हुने भएकोले तराई क्षेत्रमा विद्यालय स्तरमै पौडी सम्बन्धी पाठ्क्रमको व्यवस्था गर्नु उपयुक्त हुन्छ । धेरै पोखरीहरू भएकोले विद्यार्थीलाई पौडीसम्बन्धी व्यावहारिक ज्ञान दिन पनि सजिलो छ । दुर्घटनाको न्यूनीकरणका लागि त मापदण्ड बनाउनु अनिवार्य छँदै छ, त्यसमाथि पनि तराईका जनकपुर, सिम्रौनगढ, लुम्बिनी, लगायतका केही क्षेत्रहरू पुरातात्विक महत्वका छन् । ती क्षेत्रका जमिनभित्र पुराना महत्वपूर्ण सभ्यताका अवशेष पुरिएका छन् । जथाभावि पोखरी निर्माण अभियानले ती अवशेषहरू सधैँका लागि मेटिने खतरा उत्पन्न भएको छ । सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया