जनवादी शिक्षा किन र केका लागि ?

लोकनारायण सुबेदी

शिक्षा विकासको पूर्वाधार मात्रै होइन, यो विकासलाई व्यापक मद्दत पु¥याउन सक्ने विस्तृत सरोकार राख्ने र रहेको महत्वपूर्ण क्षेत्र हो । किनभने मानिस बहुआयामिक प्राणी भएकोले त्यसलाई प्रस्फुटन गराउने, जगाउने, उठाउने र अघि बढाउने शिक्षा नीति हुनु स्वभाविक र आवश्यक हुन्छ, हुनु पर्दछ । तर यो कुरामा कुनै गम्भीर ध्यान दिएको पाइँदैन ।

हाम्रो शिक्षा क्षेत्र पनि अरू क्षेत्रहरूजस्तै अराजक, अवाञ्छित र अस्वस्थकर राजनीतिको नराम्ररी सिकार भएको र हुँदै आएको छ । यसमा राजनीतिक भागबन्डाको प्रभाव यति प्रवल छ कि शिक्षा क्षेत्र अस्तव्यस्त भइसक्दा पनि सबै रमितेजस्तो भएर बसेका छन् । भत्के बिग्रेको कुरामा कसैको कुनै चासो, चिन्ता र चर्चासम्म पनि छैन । यदाकदा कतै अन्धकारमा जुनकिरी चम्किएजस्तै चिकित्सा शिक्षा क्षेत्रमा डा. गोविन्द केसीजस्ता एक÷दुई जनाले दुर्लभ र बिरलै कुरा उठाउँदछन्, संघर्ष गर्दछन् । राज्यले सम्झौता गर्छ र प्रतिबद्धता जाहेर गर्दछ । तर, पूरा गर्दैन र ती चिकित्सकलाई पटकपटक संघर्षमा होम्न बरु बतावरण बनाउँदछ र लाज पचाउँदछ । यस्तो अवस्थामा हाम्रो शिक्षा नीति के कस्तो हुने भन्ने विषयमा विचार विमर्श गर्नु जरुरी छ ।

वास्तवमा शिक्षा बिकासको पूर्वाधार मात्रै होइन, यो विकासलाई व्यापक मद्दत पु¥याउन सक्ने बिस्तृत सरोकार राख्ने र रहेको महत्वपूर्ण क्षेत्र हो । किनभने मानिस बहु आयामिक प्राणी भएकोले त्यसलाई प्रस्फुटन गराउने, जगाउने, उठाउने र अघि बढाउने शिक्षा नीति हुनु स्वभाविक र आवश्यक हुन्छ, हुनु पर्दछ । तर, यो कुरामा कुनै गम्भीर ध्यान दिएको पाइँदैन । अनेक प्रायोजित प्रयोग नै हाम्रो शिक्षा क्षेत्रको नियति हुँदै आएकोले ब्यापक सम्भावना भएर पनि यो क्षेत्रले राष्ट्रिय विकासलाई अपेक्षित सहयोग पु¥याउन सकिरहेको छैन । नेपाल पछाडि पर्नुको एउटा सबैभन्दा मूल कारण यही नै हो ।

अवाञ्छित राजनीतिक हस्तक्षेपको कुरालाई अलग्गै राखेर हेर्ने हो भने पनि हाम्रो शिक्षाले अधिकांशतः बौद्धिक क्रियाकलापमा जोडदिन खोजेको पाइन्छ र यो समाजबाट कटिएर एकांकी बनिरहेको देखिन्छ । मानिस केबल बुद्धिजीवी मात्र नभएर यस्तो सामाजिक प्राणी हो जसमा बुद्धिसँगसँगै भावनाहरू पनि हुन्छन् । यसकासाथै मानिस एउटा भौतिक–शारीरिक रचना पनि भएकोले उसका आफ्ना आवश्यकता र कार्यहरू पनि हुन्छन् नै । शिक्षालाई सार्थक दिशा दिने हो भने यी तीनै क्षेत्रलाई सम्बोधन गरिनै पर्दछ । हुन पनि ज्ञान, भाव र कर्म यी तीनवटै कुरा मिलेर नै मानिसको व्यावहारिक संसारको रचना बन्दछ । कुनै व्यक्तिको सुन्दर जीवनको कल्पना यी तीन कुराको सन्तुलनबाट मात्र साकार हुन सक्तछ । मानिसको मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य र शारीरिक स्वास्थ्य तीनै कुरा जतिबेला सन्तोषप्रद हुन्छन् त्यतिबेला मात्र उसको ठीक किसिमले विकास हुन सक्तछ । तर, हाम्रो आजको शिक्षा ज्ञान विज्ञानको परिवर्तित सन्दर्भबाट पनि काटिएको र समाजसँग पनि नजोडिएको बौद्धिक बिलासको टापुजस्तो छ । त्यसमाथि छाडा राजनीतिक हस्तक्षेपले यसलाई अझ विकृत र हास्यास्पद बनाएको छ । बौद्धिक भाटहरूको रजाइ चलाउने जस्तो स्थिति निर्माण भएको छ । त्यसैले हाम्रो शिक्षा रटन्ताम, घोकन्ताममा चलेको छ । पास हुने र पलायन हुने नै यसको सीमा बनेको छ । पाठ्यक्रम, अध्यापन र परीक्षा समानान्तर सबै यसै कसरतमा अभ्यस्त छन् र त्यसैलाई शैक्षिक पराक्रम ठान्दछन् । त्यसैले हाम्रो शिक्षा पद्धतिमा अपवादलाई छाडेर सिर्जनात्मकताको कुनै गुञ्जायश रहेको पाइँदैन । फलतः देशमा शैक्षिक बेरोजगारी बढ्दो संख्यामा पाइन्छ र विदेश पलायन शैक्षिक बेरोजगारहरूको नियति बनेको छ ।

त्यसले गर्दा आजको खाली समय विभिन्न उपलब्ध उपकरणका कारण अवसरको समय बन्दै गएको छ । यसको सोझो असर व्यक्तिको उपलब्ध समयको मात्रा र त्यसको वितरणमा परिरहेको छ । आज खाली समयमा मानिसहरू भिडियो गेम, आइप्याड, इन्टरनेट च्याटिङ तथा यस्तै अन्य काममा लगाइरहेको पाइन्छ । यसो गरिरहँदा हामीले एउटा प्रति यथार्थ (काउन्टर रियालिटी) खडा गरिरहेका हुन्छौँ जसको कुनै आदि अन्त्य हुँदैन । आज त सबैजसो कार्यहरू ई–आधारमा ‘अनलाइन’ हुन थालेका छन् । वास्तवमा एउटा कृत्रिमजस्तो संसारको रचना हुँदै गएको छ । यसरी विज्ञान र प्रविधिको विकासको कारणले एउटा नयाँ विश्व विकसित हँुदै गएको छ, तीव्र वेगले सञ्चालित प्रचुर मात्रामा सूचनाहरूको प्रवाहमा यो नयाँ विश्व निर्भर छ । के स्मरणीय छ भने विभिन्न सहरहरूमा डिजिटल संसारसँग अब बाल बच्चाको सम्बन्ध शीघ्र स्थापित हुन थालेको छ । विद्यालय जानुभन्दा पहिला लेख्न नजाने पनि बालबच्चाले धेरै ज्ञान आर्जित गरिसकेको हुन्छ । अनुभव तथा शब्द ज्ञानको दृष्टि बालबच्चाहरू अब बढी परिपक्क हुन थालेका छन् । उनीहरूको तयारी र अपेक्षाहरू पनि पहिलाका तुलनामा भिन्न छन् । सिक्नेशैली पनि बदलिँदै गएको छ । यो एउटा ठूलो परिवर्तन हो तर यसका लागि हाम्रो अधिंकाश शिक्षा क्षेत्र न्यूनतम रूपमा पनि तयार देखिँदैन ।

यसैसँग जोडिएको प्रश्न छ शिक्षाको भार तर यसप्रति कसैको चासो प्रष्टरूपमा देखिएको पनि छैन र कुनै कदम उठाउने संकेत पनि पाइँदैन । शिक्षालाई वुद्धि, भावना र कर्म यी तीन मुख्य तत्वको सन्तुलित विकासको रूपमा लिइने स्थिति बन्दैन र केबल समाजका अन्य क्रियाकलापसँग काटिएको बुद्धि तत्वमा मात्र जोड दिने र त्यसैलाई सर्वश्व मानिने स्थिति रहिरहने हो भने त्यो देश र जनताका लागि बोझ र नोक्सानकारी ठहरिन्छ । आज हामीलाई शिक्षा प्राप्तिको क्रममा यस्ता नागरिकहरूको निर्माण गर्नु परेको छ जो समाज निकट हुन् र त्यसका लागि केही योगदान गर्न उद्यत रहुन् । के पनि सोच्न अत्यावश्यक छ भने मानिसको आन्तरिक क्षमतामा ठूलो बैबिध्यता रहेको हुन्छ । त्यसले गर्दा नै मानिसले एक वा अर्को क्षेत्रमा सफलता हासिल गर्ने सम्भावना नित्य निरन्तर रहिरहेको हुन्छ । आज शिक्षा नीतिलाई सही दिशा दिने हो भने यो मान्यतालाई आधार मानेर मानिसको योग्यता सामाथ्र्य र आजको यो यथार्थलाई बुझेर र स्वीकार गरेर नीति बनाइनु पर्दछ । अब कुनै एउटा बुद्धिको कुरा मात्र होइन बहु बुद्धिको कुरा गरिनु पर्दछ । यस व्यापक विविधतलाई दृष्टिगत गरेर कृषि, उद्योग, बन्द–व्यापारजस्ता आधारभूत क्षेत्रलाई वैज्ञानिक आधार प्रदान गर्ने र विकसित तुल्याउने जलस्रोतलगायत ऊर्जाका स्रोत साधन, सीपको राष्ट्रिय हितमा सदुपयोगको ज्ञान, बिज्ञानमा केन्द्रित हुनु नितान्त जरुरी छ ।

यसरी समाजका असमानता, विभेद र असहजताको अन्त्य गर्ने र समानता, सहजता र सरलताका साथ आमजनताको जीवनयापन गर्नसक्ने वातावरण बनाउन हाम्रा शिक्षा जनकेन्द्रित र विकास आधारित हुनु पर्दछ । यही नै जनवादी शिक्षाको सार तत्व पनि हो । त्यसैले आजका विद्यार्थीहरूले ‘वैज्ञानिक शिक्षाको निम्ति लडाइँ र सामाजिक परिवर्तनका निम्ति पढाइ’ को संघर्षलाई आत्मसात गरेर यसलाई अघि बढाउन उद्यत हुनुपर्दछ । यस धरातलबाट काटिएको वा अलग्गिएको शिक्षाले हाम्रो समाज र राष्ट्रलाई सही दिशा र गतिमा आजको राष्ट्रिय आवश्यकताअनुसार अघि बढाउन सक्तैन । आजसम्मको अनुभवले पनि यो कुरा प्रष्ट पारिसकेको छ । शिक्षामा माफियाकरण, व्यापारीकरण लगायतका ब्याप्त विसंगतिहरूको अन्त्य हुनुपर्दछ भन्ने माग उठ्नुको कारण पनि वास्तवमा यही नै हो । यस्ता विसंगतिहरूको अन्त्य नगरिएसम्म देशको स्वाधीनता, आत्मनिर्भरता, राष्ट्रिय विकास र समुन्नत नेपालको आधारहीन गुड्डी हाँक्ने कुरामै देश पिछडिएको अधोगामी अवस्थामा रहिरहने कुरा निश्चित छ ।

प्रतिक्रिया