मत-विमत

चुनौति कोरोनाको : घेराबन्दी चीनको

लोकनारायण सुवेदी २०७८ जेठ २४ गते ६:४४ मा प्रकाशित

लोकनारायण सुबेदी

ब्रिटेनले आफ्ना मित्र देशहरूलाई चीनबाट खतरा हुन नदिने भन्दै आफ्नो नौसेनाको सबैभन्दा शक्तिशाली जहाजी बेडा हिन्द–प्रशान्त क्षेत्रका लागि रवाना नै गरिसकेको छ । त्यस बेडामा ३२ वटा एयर त्र्mयाफ्टका साथ ३ हजार ७ सय नौ–सैनिक सवार रहेको बताइएको छ । यसले आउँदा सात महिनासम्म भू–मध्यसागर र हिन्दमहासागर क्षेत्रमा २ हजार ६ सय माइल सामुन्द्रिक यात्रा पार गर्नेछ ।

विश्वमा आज करिब १७ करोड मानिसहरू माथि महामारी कोरोनाको संक्रमण फैलिएको र तीमध्ये ३५ लाखभन्दा बढी मानिसहरूको इहलीला समाप्त पारिएको सम्बन्धमा फैलिएको प्रचारको कुहिरीमण्डल केही महिनापछि हटेर जाने स्थिति बन्ने देखिँदै छ । यस सम्बन्धमा के चर्चा चलिरहेको छ भने विश्वको अगुवा बनेको अमेरिका चीनको बढ्दो विश्वप्रभावसँग टकराउँदै आएको छ । यो भाइरसको निहुँमा चीनलाई फसाउन सकिने कुराहरूको खोजी गर्दै त्यसको निर्णायक स्थितिमा अमेरिका पुग्न थालेको पनि अहिले चर्चा भइरहेको छ ।

यस अभिष्ठका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर एजेन्सीहरूलाई ९० दिनको समय दिएको कुरा पनि प्रकाशित छ । बितेको वर्षदेखि नै यो एउटा ठूलो बहसको केन्द्रीय विषय बन्दै आएको थियो । कतिपय पश्चिमेली र भारतीय विशेषज्ञहरूले पनि यो भाइरस चीनको बुहान ल्याबमा तयार भएको भन्ने सन्देश प्रवाहित गरिरहेका हुन् । पछिल्लो अमेरिकी कदमले यो विषयलाई अझ बढी चर्चामा ल्याइदिएको छ । चीनले पनि यो अमेरिकी सन्देहप्रति तीव्र प्रतिक्रियाका साथ खण्डन गरेको छ । अमेरिकाले चीनविरूद्ध षड्यन्त्र रचिरहेको भनेर चीनले खण्डन गरेको मात्र छैन, अमेरिकाका सबै त्यस्ता ल्याबहरूको पनि जाँचबुझ गर्न खोलिनुपर्ने माग पनि चीनले गरेको छ । तर, चीन विरोधी भारतीय एकथरी विश्लेषकहरू भने यसपटकको चीनको प्रतिक्रियामा तीखोपनको साटो हडबडी बढी छ भनेर चीनका विरूद्ध मनोवैज्ञनिक दबाब दिइरहेका छन् ।

एउटा कारण के पनि हुन सक्छ भने गएको बर्षसम्म यस विषयमा चीनको साथमा खडा हुँदै आएको विश्व स्वास्थ्य संगठनले पनि यो वर्ष यु–टर्न लिन थालेको देखिँदै छ । त्यस संठनका महानिर्देशकले यो भाइरसको उत्पत्तिका बारेमा अझ थप अध्ययन अगाडि बढाइनुपर्ने पश्चिमा देशहरूको मागमा सहमति जनाएर एककिसिमले चीनको ‘खुट्टामुनिको जमिन धसाइदिने’ काम गरेको देखिँदै छ ।

चीनले गएको वर्ष मार्चमा नै विश्व स्वास्थ्य संगठन र आफ्ना देशका वैज्ञानिकहरूका तर्फबाट संयुक्त रूपमा ‘क्लिन चिट’ पाइसकेको हो । त्यस संयुक्त प्रतिवेदनमा भाइरस कुनै ल्याबमा बन्ने संभावना एकदमै कम रहेको बताएर कुन मान्यतालाई बल प्रदान गरेको थियो भने चमेरोजस्तो कुनै संक्रमित पशुपन्छीको संपर्कमा आउनाले यो भाइरस मानिसमा फैलिएको हुन सक्छ । तर अब विश्व स्वास्थ्य संगठनको बदलिएको मनोदशाले चीनको पल्ला अलिकम भएको जस्तो देखिन्छ । अब बिश्व स्वास्थ्य संगठनको परिवर्तित मनस्थितिले गर्दा सम्भव छ कि त्यस संगठनले चीनको बुहान ल्याबोरेटरीको छानबिनका लागि नयाँ किसिमले दबाब सिर्जना गरोस् र सबै डाटाहरू छानबिनमा आए भने चीनमाथि लगाइएको फत्तुर सही पनि ठहरिन सक्छ भन्ने एकथरीको अनुमान छ । तर आफ्नो फत्तुर प्रमाणित नहुने भए पछि चीनले सबै प्रमाणहरू मेट्ने षडयन्त्र गरिसक्यो होला भन्ने कपोलकल्पित प्रचार पनि उनीहरूले गर्दै रहेका छन् र यस्तो स्थितमा कुनै थप प्रमाण यो छानबिनबाट आउन सक्ने सम्भावना एकदमै कम छ भनिरहेका छन् ।

तर, यी सबै कुरा भइरहँदा पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका बिरूद्ध ‘नहलमा दहल जोड्ने सही समय छानेका छन्’ भनेर उनीहरू दंग पनि छन् । हुन त बाइडेनका पूर्वबर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै पहिलादेखि नै यो भाइरस चीनको ल्याबमा तयार गरेर संसारभरी फैलाएको भनेर हल्ला मच्चाइरहेका थिए । त्यतिबेला भने डेमोक्रेटिक खेमाले ट्रम्पको त्यो चीन बिरोधी कुरा गैरजिम्मेवार वक्तब्यबाजी भनेर विरोध जनाउने गरेको थियो । झूटो बयान र गलत जानकारी फैलाएका कारण ट्रम्पको छवि पहिला नै एक विवादास्पद नेताको जस्तो बनेको थियो । त्यसैले राष्ट्रपति चुनावमा धाँधलीको आरोपहरू जस्तै चीनलाई कठघरामा उभ्याउने कुरामा पनि उनले कुनै सबुत प्रमाण पेस गर्न सकेका थिएनन् । अहिले डेमोक्रेटिक पार्टीलगायत सबैले उनकै कुरा दोहो¥याइरहेका छन् । त्यसैले ट्रम्पले अरू सबैले उही आफँैले पैरबी गर्ने गरेको कुरा गरेर उनकै कुरामा सही छाप ठोकिरहेका छन् भन्ने मौका पाएका छन् । कुनै बेला उनको कुरा सिधै खारेज गरिदिने ह्वाइट हाउसका प्रमुख वैज्ञानिक सल्लाहकार एन्थोनीफाउचीको राय पनि बदलिएको छ । अब उनले पनि के भन्न थालेका छन् भने कोरोना भाइरसलाई प्राकृतिक मान्ने उनको विचार शतप्रतिशत सही नहुन पनि सक्छ ।

त्यसकारण छानबिनको एउटा छेउ त्यस प्रश्नसँग पनि जोडिएको छ कि जो बाइडेनको फैसला अमेरिकासमेत दुनियाँको बढ्दो दबाबको परिणाम हो या उनको हातमा कुनै बलियो सबुत प्रमाण फेला परेको छ र उनी एकाएक यो मुद्दा उठाउन अग्रसर भएका छन् ? एकथरी विश्लेषकहरू त चीनमाथि तेस्रो विश्वयुद्ध छेड्ने गोप्य दस्ताबेजसँग यस कोरोना भाइरसको सम्बन्ध त छैन भन्ने प्रश्न पनि यतिबेला उठाइरहेका छन् र चीन तेस्रो विश्वयुद्ध गर्ने तयारीमा लागिरहेको जस्तो भान पार्न खोजिरहेका छन् । तिनीहरू के भन्दैछन् भने चीनको कथित बिस्तारवादी महत्वाकांक्षाको प्रभाव अमेरिकामा मात्र होइन त्यो भन्दा बाहिर अस्ट्रेलिया, क्यानडा, इजरायल, डेनमार्क, नर्बे, जापान र कोरिया जस्ता १३ प्रमुख देशहरूले पनि नयाँ ढंगले कोरोना भाइरसको छानबिन हुनुपर्छ भन्दै अमेरिकाको पक्षमा खडा भएको कुराले पनि प्रष्ट पार्दछ पनि भनिरहेका छन् । उल्लेखनीय छ कि भारतले पनि कोरोना भाइरसको उद्गमको पुनः छानबिन गर्नु पर्दछ भन्ने कुरा उठाइरहेको छ ।

पछिल्लो समय बृटेनले यो चीनको घेराबन्दी गर्ने कुरामा विशेष सक्रियता देखाइरहेको देखिन्छ । उसले नाटोदेखि लिएर बृटेनले आफ्ना मित्र देशहरूलाई चीनबाट खतरा हुन नदिने भन्दै आफ्नो नौसेनाको सबैभन्दा शक्तिशाली जहाजी बेडा हिन्द–प्रशान्त क्षेत्रका लागि रवाना नै गरिसकेको छ । त्यस बेडामा ३२ वटा एयर त्र्mयाफ्टका साथ ३ हजार ७ सय नौ–सैनिक सवार रहेको बताइएको छ । यसले आउँदा सात महिनासम्म भू–मध्यसागर र हिन्दमहासागर क्षेत्रमा २ हजार ६ सय माइल सामुन्द्रिक यात्रा पार गर्नेछ । यो क्षेत्र कब्जा गर्न चीनले आक्रामक शैली अपनाउँदै आएको भन्ने उनीहरूको आरोप छ । भनिन्छ कि अब त्यहाँ बृटेनले भारतसमेत अरू कैयौँ देशहरूको साथमा ७० भन्दा बढी युद्ध अभ्यासहरू गरेर चीनका बिरूद्ध बिश्वका देशहरू लामबद्ध भएको सन्देश दिन खोजिरहेको प्रतीत हुन्छ ।

अनि यसो हुनुलाई भारतले निकै राम्रो ठानिरहेको छ । उसले चीन यसरी घेराबन्दीमा पर्नुलाई ठूलो राहत मानिरहेको जस्तो छ । भारत वरिपरिका प्रायः सबै छिमेकीहरू कि कोरा महत्वाकांक्षाले कि चीनका सामु नतमस्तक हुन विवस भएका कारणले (?) भारतको बिरूद्ध खडा भएको ठान्दछ । कोरोनाको बिपत्तिमा अवसरको खोजी गर्ने षड्यन्त्रमा चीन लागिरहेको फत्तुर पनि भारतले चीनलाई लगाइरहेको छ । कोरोनाको पहिलो लहरका बेला चीनले उत्तरतिरबाट टेढा आँखाले हेर्दै थियो अब दोस्रो लहरका बेला दक्षिण सीमातिरबाट नजर लगाएको कोरा आक्षेप पनि भारतले लगाएको छ । यस सम्बन्धमा उसले श्रीलंकाको हम्बनटाटा बन्दरगाह लिजमा लिएपछि चीनले कोलोम्बो नजिकै एउटा पोर्ट सिटी बनाउन लागिरहेको उदाहरण दिने गरेको छ । यस्तो स्थितिमा बृटेनको ठूलो जहाजी बेडा त्यस क्षेत्रमा तैनाथ गर्दा तनाब र संघर्षको अवस्था खडा होला तैपनि त्यसले चीनमाथि पेच कस्ने काम पनि गर्दछ भनेर भारत खुसी छ ।

यतिबेला कोरोना भाइरस उद्गमको यो बल भने विश्व स्वास्थ्य संगठनको हातमा छ भन्ने भारतको विश्लेषण छ । अमेरिकाले त उसको तर्फबाट भाइरस छानबिनको बिगुल चीनका बिरूद्ध बजाइनै सकेको छ । सम्भव छ, ९० दिनभित्र उसका गुप्तचर एजेन्सीहरूले कोरोनाको उद्भवसँग जोडिएका महत्वपूर्ण जानकारीहरू प्रकाशमा ल्याउँछन् पनि होला । तर चीनले त्यसलाई सकार्छ भन्ने कुरामा उनीहरूको विश्वास छैन । चीनले त्यसको प्रामाणिकता माग्छ र प्रश्न उठाइरहन्छ भन्ने कुरा पनि उनीहरू पहिलेदेखि नै भनिरहेका छन् । कोरोनाको सत्यता प्रकाशमा आउनका लागि विश्व स्वास्थ्य संगठनले छाप लगाएमा चीनलाई बढ्दो उसको विश्व प्रभावबाट अलग्याउन सकिन्थ्यो भन्ने उनीहरूको योजना रहेको देखिन्छ । कोरोना भाइरसको बहानामा चीनको घेराबन्दी गर्ने चक्रब्यूह यसरी बनेको देखिँदैछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय