एसियन कपका लागि यस्तो छ समिकरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत छैटौं खेलमा बिहीबार चाइनिज ताइपेइलाई पराजित गर्यो । विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने आशा गणितीय समिकरणमा मात्र बाँकी रहेको नेपालको एसियन कपका लागि भने सम्भावना अझै छ । ताइपेइविरुद्ध अवे खेलमा जित हासिल गरेको नेपालले कुवेतमा भएको घरेलु खेलमा पनि जित हासिल गर्यो । इराकविरुद्ध मैत्रीपूर्ण खेलमा गरेको प्रदर्शनका कारण पनि धेरैले जितको अपेक्षा राखेका थिए । नेपालको प्रदर्शन पनि त्यसैअनुसार रहयो । अंक तालिकामा ६ खेलमा ६ अंक जोड्दै नेपाल अब कम्तिमा चौथो स्थान रहने पक्का भएको छ । अंकविहिन ताइपेइ भने पुछारमा रहँदै अब एसियन छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको हकमा भने प्लेअफ नखेली सिधै एसियन छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर छ । तर त्यो त्यति सहज भने छैन । नेपालले अब बाँकी रहेको दुई खेलमध्ये कम्तिमा एक खेल जित्नैपर्ने समिकरण छ । र उक्त खेल जितेपछि अन्य समूहको नतिजाले पनि नेपालको भविष्य निर्धारण गर्छ । छनोटको नियम अनुसार प्रतिस्पर्धामा रहेका आठ समूहका चौथो स्थानमा रहने टोलीबीच शीर्ष ४ ले तेस्रो चरणमा स्थान बनाउनेछन् भने पुछारका चार र पाँचौ स्थान हासिल गर्ने टोलीले प्लेअफ खेल्नुपर्ने छ । तर समूह एचमा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना हुने छैन । यसले नेपाललाई भने घाटा पुगेको छ । हाल चौथो स्थानमा रहने टोलीहरुको तालिकामा नेपाल पुछारमा छ र कम्तिमा जोर्डन र अष्ट्रेलियामध्य एक टोलीविरुद्ध जित हासिल गर्नैपर्ने समीकरण छ ।

अब बाँकी खेलमध्ये नेपालले जित हासिल गर्न नसकेको खण्डमा एसियन कप छनोटको तेस्रो चरण खेल्न प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । प्लेअफ चरणमा छनोटको समूह पाँचौ स्थानमा रहेका टोली र चौथो स्थानमा रहेका पुछारका चार टोलीले खेल्नेछन् । हालसम्म श्रीलंका र इन्डोनेसियाले प्लेअफ खेल्ने पक्का भएको छ । ताइपेइ पनि पुछारमा रहने सम्भावना छ । प्लेअफमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफको पहिलो राउन्डमा १२ टोलीलाई दुई पटमा विभाजन गरिनेछ । पहिलो राउन्डको खेलमा दुई लेगको खेलमा विजयी हुने टोली एसियन कप छनोटको तेस्रो चरणमा पुग्नेछ । त्यस्तै पहिलो राउन्डमा पराजित हुने ६ टोलीले पुनः अर्को अवसर पाउनेछन् । दोस्रो राउन्डका विजयी ३ टोलीले पनि एसियन कप छनोट तेस्रो चरणमा स्थान बनाउनेछन् ।

एसियन कप छनोटको तेस्रो चरणमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ४–४ टोलीको ६ समूह हुनेछ । हरेक समूहको शीर्ष दुई टोलीले एसियन कपमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको आयोजक चीनले यस छनोटमा सहभागी भएर शीर्ष २ स्थान हासिल गर्न नसकेको खण्डमा भने ११ टोली मात्र अघि बढ्नेछन् । चीनले अहिले चलिरहेको विश्वकप तथा एसियन छनोटको दोस्रो चरणबाट नै एसियन कपमा स्थान पक्का गर्ने सम्भावना पनि छ ।

एसियन कपमा छनोट हुने समीकरणका लागि अब नेपालले यथार्थ रुपमा भन्नुपर्दा प्लेअफकै बाटो लिने देखिन्छ । जोर्डन र अष्ट्रेलियाविरुद्ध कठिन खेलमा जित हासिल गर्न नेपाललाई सहज छैन । यस्तो अवस्थामा नेपालले प्लेअफ हुँदै एसियन कपको तेस्रो चरणमा स्थान बनाउने बलियो सम्भावना छ । प्लेअफमा नेपालले अन्य समूहमा चौथो वा पाँचौ रहेको टोलीलाई दुई लेगको खेलमा हराउनुपर्ने छ । यदि प्लेअफको पहिलो राउन्डमा पराजित भएपनि अर्को राउन्डमा पराजित मध्यकै टोलीलाई दुइ लेगको खेलमा हराए पुग्छ । त्यस प्लेअफ जितेर एसियन कप छनोटको तेस्रो चरणमा नेपाल ४ टोली रहेको समूहमा हुनेछ । उक्त समूहको शीर्ष दुई स्थानमा रहे नेपालले इतिहासमा पहिलो पटक एसियन कप खेल्नेछ ।

प्रतिक्रिया